कविता – आज जेष्ठ तीन

शनिबार, जेष्ठ ३, २०७७

- सीता ओझा



आज जेष्ठ तीन

नेपालीले देशको स्वाभिमान
देशभक्तिप्रति बफादार योद्धालाई गुमाएको
विचार ,सिद्धान्त र निष्ठावान् नेता
सन्ध्या हुन नपाउँदै एक्कासि हराएको
दास दुङ्गा र अमर लामा अपराधले
दुर्गन्धित भएर विश्वभर गनाएको
लाखौँलाख जनता स्तब्ध भएको
राजनीतिबाट इमान सुस्ताएको दिन
———————–

आज जेष्ठ तीन
निर्दलीयता,निरङ्कुशता बिचको
अन्तर छुट्ट्याएर
राजनीति सङ्ल्याउन
नीति र सिद्धान्तलाई
समयसापेक्ष परिभाषित गर्ने
राजनेता हामीबाट गुम भएको दिन
—————————

आज जेष्ठ तीन
टनकपुर,सुस्ता,कालापानी
खोज्दै टुँडिखेलमा धावा बोल्ने
विस्तारवाद र साम्राज्यवाद
लक्षित विचारकोहरू
धराशायी गराउँदै
मधेस ,पहाड हुँदै मेची महाकाली
समेट्न सक्ने नेता गुमेको दिन
—————————-

आज जेष्ठ तीन
दल र दलीय राजनीतिको
निष्ठा गुमेको दिन
बहुदलयता भित्र
अराजकता र अपराधले
टाउको उठाउने चेष्टा गर्दै
स्वाभिमानी कार्यकर्ताले हारेको
दलाल नोकर शाहीले टाउको उठाएको
स्वाभिमानी नेता गुमाएको दिन
—————————-

आज जेष्ठ तीन
आकाश र धर्ती रोएको
नेपाल आमाको छाती चर्किएको
युवाहरूको आँत मरेको
बुढाहरूको मन रोएको
महिलाहरू भाव मुर्छिएको
बालबालिकाहरूले अभिभावक गुमाएको
सहकर्मी र सहयात्रीहरूले मन गुडाएको
दुनियाँ भाव विह्वल भएको दिन
—————————-

आज जेष्ठ तीन
गणेशमानको साथ हराएको
कृष्णप्रसादको आँत डराएको
राजा वीरेन्द्र स्तब्ध भएको
नेपाली काल मार्क्सलाई हराएको
नेपाल र नेपालीको
आत्मसम्मानमा बज्रपात भएको
सहस्र आशुका धारा बगाउँदै
आशुले नै विश्व इतिहासमा
वि स २०५० को जेष्ठ ३
राष्ट्रवादी,स्पष्ट वक्ता नेता
मदन र आश्रित गुमाएको
शोकाकुल जनले स्तब्धताभित्रै
शोकलाई शक्तिमा बदल्ने
प्रण गरेको दिन हो ।
दुवै नेताहरू प्रति श्रद्धाका
शब्दहरूबाटै शब्द श्रद्धाञ्जली
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments