कोरोनाको संक्रमण (कथा)

आइतवार, चैत्र २३, २०७६

- सीता ओझा



सरला वैदेशिक रोजगारीमा कुवेत गएको पाँच वर्ष बितिसकेको थियो ।
निदाहिद्दिनको त्यो कम्पनीले प्रत्येक श्रमिकहरूलाई वर्षमा पन्ध्र दिन घर बिदा दिने गर्थ्यो ।
बिदा लिए भने श्रमिकको घर जाँदाको लाग्ने खर्च सुविधामा दिने नगए र बिदाको समयमा काम गरे अतिरिक्त सुविधा थपिदिने कारण कामदारहरू प्राय पाँच वर्षमा घर फर्कँदा एकमुष्ट नगद लिएर घर परिवारलाई खुसी बनाउने किनमेलतिर लाग्ने गर्थे ।
माघको घमाइलो तातो घाममा सबै रमाइ रहेका थिए । सरला पनि नेपाल आउने रहरले प्रायःजसो दिनकै घरतिर फोन गरी रहन्थिन्।
सरलासगँको मोबाइलका एकतर्फी संवादमा कसैले मोबाइल ल्याइ दे भन्थे त कसैले घडी !
श्रीमानको चाहिँ भान्सामा प्रयोग गर्ने आधुनिक चुलो र लुगाधुने मेसिन भित्र्याउने चाहाना थियो ।

त्यै बिचमा कान्छी छोरी सविनाले भनी, ” ममी मलाई त त्यहाँबाट किनेर नल्याउनु है ! ”
” म त तपाईँ आएपछि नेपाल मै किन्ने ”
“वहाँबाट भए नभएको पैसा खर्च गरेर ल्यायो, अथवा कुनै सामान फेर्नु पर्‍यो भने नेपालमा पाइँदै पाइँदैन । ”
” त्यस्तो बेला वाक्क लाग्ने ,सबै राम्रै पर्छन् भन्ने पनि त छैन नि ! ”
” पोहोर तल्ला घरका साइँला काकाले छत्तिस इन्चको एल,सी डी ल्याएका ,एक महिना पनि चलेन । ”
” के काम त्यस्तो भयो भने ! ”
” त्यै भएर उताबाट सामान नल्याउनु भनेको यिनीहरू कोही मान्दैनन् !”
” बाबा त झनै नटेर्ने , उतैका सामान घरमा भरेर यो र त्यो,यस्तो भनेर दुनियाँलाई सुनाउने र देखाउने रन्को लाग्नु भा छ, के भन्नू र , हाम्रो बाबाले मात्रै हैन, अहिले त विदेशको कुराको धाक नलाउने मान्छे छैन जस्तो लाग्छ ।”
” आफ्नू ल्यागत न हेर्ने अरूले कोमा घर बसेर यो र त्यो गरेको त मलाई पटक्कै मन पर्दैन !”
” मलाई मन नपरेर के भयो र दुनियाँ यस्तै नौटङ्गीले चलेको छ ! ”
” यस्तो समाजमा मेरो विचारको के महत्त्व र !”
भन्दै दिक्क मान्दै भित्र छिरि ।
सरलाको श्रीमान् रमेशले कान्छी छोरीको कुरालाई वास्तै नगरी एक पटक जोड्ने सामान राम्रै जोड्नु पर्छ भनेर श्रीमतीलाई सम्झाए ।
सरलाले भन्सारको प्रक्रिया बुझेर मात्रै किनमेल गर्ने कुरा गर्दै थिइन् ।

सरलाले हतारिँदै ,
” ल ल अहिले फोन राख्छु है ! अफिसको फोन आयो ”
भन्दै फोन काटिन् ।
निद्दाहिदिनको सहायकले कल गरेको रहेछ ।
सरलको घर फर्कने टिकेट पक्का नभएको कारण एक महिना काममा थप बस्नु पर्ने प्रस्ताव आयो ।
उनले पनि सहजै हुन्छ भनिन् ।
फेरि घरतिर कल गरिन् र आफ्नू टिकट एक महिनापछि मात्रै कन्फम हुने भयो,भन्ने कुराको जानकारी गराइन र कामको मेसोतपर लागिन्।
फागुन महिना सिद्धिनै लागेको थियो, मार्चको तेह्र तारिकमा निद्दाहिदिनको सहायकले सरलालाई एक्कासि अफिसमा बोलायो ।
सरलालाई यसरी बोलाउनु पर्ने त्यस्तो गल्ती गरेको जस्तो त लागेको थिएन् । अहिलेसम्म सबै काम कुरा फोन र कार्यलयिय तरिकाले नै भएका थिए ।

सरला झसङ्ग हुँदै उनी सहायकको कार्यकक्षतिर गइन्
सहायकलाई कार्यकक्षमा नदेखेपछि सरलाले कल गरिन् ।
सहायकले निद्दहिनको कोठामा आउन भनेपछि सरला झन् डराइन् ।
मनमा अनेकौँ तानाबाना र अपराधले ठाउँ पायो ।
तर पनि उनी मन दरो पारेर कोठा भित्र छिरिन् ।
कोठाभित्र छिर्ने बित्तिकै सहायकले बस्न भन्यो ।
उनी सोफामा बसिन् ।
बसेपछि चिया कफी के खाने भनेर सहायकले सोध्यो ।
यसरी कहिल्यै श्रमिकसँग चिया कफीको कुरा गरेको थाहा नपाएकी सरलाले भैगो भनिन् ।
तर सहायकले मानेन्
नेपालीहरूलाई दूध कफी मन पर्छ भनेर होला दूध कफी र केही अन्य कुरा पनि मगायो ।
सबैलाई कफी सहित अन्य खानेकुरा पनि आयो ।
सहायकले कफी पिउन भन्यो ।
डराउँदै कफीको कपसँगै टोष्ट समातिन ।
तीनै जनाले कफी र टोष्ट खाए ।
कफी सकिने,सकिने बेलातिर सहायक बोल्न थाल्यो ।
सहायक बोल्न थाल्दा थाल्दै सरला थरै कापिन् तर देखाइनन् ।
सहायकले भन्यो,
” तपाईँले हाम्रो सङ्कटको बेलामा साथ दिनु भयो ।
एकै बचनमा हस् भन्नू भयो त्यसैले यो एक महिनाको तलबसँगै अर्को एक महिनाको बोनसको रूपमा थपिदिनु भएको छ । यस्तो सुविधा अरू कसैलाई दिने गरेको थिएन। अहिलेसम्म सबै कामदार भन्दा तपाईँले विश्वासका साथ काम पूरा गर्नु भयो,त्यही सहयोगको खुसीमा यो रकम थप दिएको हो । ”
” तपाईँको टिकट बीस मार्चको छ । ल लिनुस् ! ”
” तपाईँको यात्रा सुरक्षित र शुभ रहोस् ! ”
” काम गर्ने चाहाना भयो घरपरिवारसँगको भेटघाट सकिएपछि यो नम्बरमा कल गर्नु होला !”
” त्यसपछिको प्रक्रिया हामीले चलाउला ।”
भन्दै टिकट र पैसा बैङ्कमा राखिदिएको रिसिभ हातमा दियो ।
सरला छक्क परिन् ।
एकाएक आँखाबाट आँसु टप्के, आँखा गन्हाउने निहुँले आँसु पुछिन ।
जाने अनुमति मागिन् र बाहिरिन । बिरानो ठाउँमा,कामसँग जोडिएको सम्बन्ध भएकाले पनि यस्तो राम्रो व्यवहार गर्दा रहेछन् भनेर सरला छक्क परिन् ।
डेरामा पुगेर घरतिर सम्पर्क गरेर गरिन् र आफू कतार एयरबाट बिस मार्चमा फर्कने सूचना दिइन ।
उन्नाइस मार्चको साँझ सबै साथीहरूसँग बिदाबारी भएर उडानसँग सम्बन्धित सबै समान सुटकेसतिर राखेर बेलुकाको खाना चाडै खाइन ।
बिहान दुई तीसतिरको मिलाइन र सुतिन् ।

बिहान हतारिँदै उठेर नित्य कर्म सक्ने बित्तिकै एयरपोर्टतिर बाटो लागिन् ।
चेक जाँच सकेर बोइङपास लिएर भित्र छिर्दै गर्दा अर्को नेपाली केटी भेटिन्।
दुवैले सुखदुःख सँगै विमानको पर्खाई बिताए ।
यात्रा निकै सुखद रह्यो ।
काठमाडौँ एयरपोर्टको इमिग्रेसनको चेक जाँच पछि कोरोना परीक्षणतिरको स्वास्थ्य डेस्कतिर गएकी सरलाको अघिल्तिर उभिएकी किशोरीले ब्याग समाइ दिनु न आन्टी भनिन् ।
उनलाई ज्वरो देखियो ।
हेल्प डेस्कका स्वास्थ्यकर्मिले टेकुको क्वारेन्टाइनमा बस्नु पर्ने निर्देशन दिए ।
ती किशोरी अन्कनाउदै अटेरी गर्दै थिइन् ।
सरला अघि बढिन् ।
सरलामा ज्वरो लगायत केही देखिएन
घर गएर एकान्त बाँस बस्न भने पछि हस् भन्दै सरला हिँडिन् ।
पर्खाइमा बसेका श्रीमान्,छोराछोरीलाई टाढा बन्नु भन्दा भन्दै लामो समयपछिको ऐसेटले होला, सबैले अङ्कमाल गर्न आए ।
श्रीमानले घरतिरबाट लिएर गएको ट्याक्सी कुराइरहेको कुरा भनेपछि सबै ट्याक्सीतिर लागे ।
घरमा पुगेपछि छरछिमेकका सबै सरलालाई भेट्न आए ।
सरला पनि खुसी हुँदै चकलेट र उपहारहरू बाँड्दै गइन ।
आएको एकसाता पछि पारिवारिक भेटघाट र खानपानको चाँजोपाँजो मिलाएर सबैलाई सूचना गरिन्।त्यही बिचमा संसारभर कोरोनाको सङ्क्रमण बढेर सयौँ देशहरू एक्कासि लकडाउनको अवस्थातिर जान थाले ।
नेपाल पनि लकडाउन भयो ।
सरलाले भेटघाट रोक्नुपर्छ कि भन्न नपाउँदै बल्लतल्ल रमाइलो गर्न लागेको भन्दै सबै मिलेर गाली गरे ।
सरला पनि आफूलाई केही नभएकोले चुपचाप बसिन् ।
भेटघाटको दिन एक्कासि सरलालाई ज्वरो आयो ।
सिटामोल खादै पकाउनतिर लागिन् ।
भरदिन रमाइलो भयो ।
साँझतिर सबै पाहुना बिदा गरे ।
थाकेर लोथ भएकी सरला ओछ्यानतिर लम्किन र सुत्न खोजिन् ।
श्रीमानले ल यति तातोपानी खाएर सुत भन्दै पानी ल्याएर दिए ।
पानी खादा खादै सरलाले बान्ता गरिन्।
झनझन भएकोले श्रीमानले एम्बुलेन्स बोलाएर वीर अस्पताल पुर्‍याए ।
अस्पतालको आकस्मिक कक्षमा राखिएकी सरलालाई एक्कासि टेकु पुर्‍याइयो ।
दिनभर एकान्तमा राखिएकी सरलाको कोरोना सङ्क्रमण सकारात्मक देखियो ।
घरमा रुवाबासी मच्चियो ।
सारा सम्पर्कका मानिसहरूमा चेकजाँचको कुरा चल्यो ।
कोरोनाको सङ्क्रमण जाँचको कुराले कतिपय भागे ।
त्यो थाहा पाएर स्थानीय सरकारले गाउँ नै लकडाउन गर्‍यो ।
तर सरलाको स्वास्थ्य दिनप्रतिदिन गम्भीर बन्दै थियो ।
गाउँलेहरूले सरलाको परिवारमा एक्कासि गाली गर्दै गाउँबाट लखेट्ने कुरा गर्न थाले ।
स्थिति गम्भीर देखेर सरलाको घर स्थानीय प्रशासनले विशेष निगरानीमा राख्ने भयो ।

सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments