गणतन्त्र आएपछि !

शुक्रबार, जेष्ठ १७, २०७६



गणतन्त्र आएपछि…..

धेरै परिवर्तन भएको छ
गणतन्त्र आएपछि – देशमा

जातको नाममा
कोहि कसैले पिटाई खानु परेको छैन

सार्कीले सजिलै बाहुनको घरमा गएर
बाहुनी बज्यैले मोथ्दै गरेको
ठेकीको मोहि सारेर खान सकेका छन्

बाहुनको भरिएको गाग्री धाराबाट हटाएर
कुनै दमिनीले आफ्नो गाग्री भर्न डराउनु परेको छैन
कामीको घरमा गएर पण्डितले रुद्री लगाएका छन्
बाहुनको भतेर गुरुङले पकाएका छन्

छाउपडीमा कुनै अबलाले मर्नु परेको छैन
बादी समुदायले आफ्नो पेशा रोजेर गर्न पाएका छन्
दाईजोको नाममा कोहि जल्नु परेको छैन

किन केही भएको छैन गणतन्त्र आएपछि ?

बलात्कार भएर मरेकाहरूले
मनग्य पैसा पाएका छन
जो मरुन, जसरी सुकै मरुन
सहिद हुने सौभाग्य पाएका छन
विदेशमा ज्यान गुमाएकाहरू
नि:शुल्क देश फर्किन पाएका छन

पानीजहाजको सपना देख्न थालेका छन- जनताहरू
रेलको गफ हुन थालेको चिया पसलहरूमा
पाइपमा ग्यास कहिले आउँछ उत्सुकता बढेको छ

किन केही भएको छैन गणतन्त्र आएपछी ?

धेरै खल्ती भएको लुगा सिलाउनुहोस
सरकारले बेरोजगारी भत्ता दिन्छु भनेको छ
अल्छी लागे सुतिदिनुहोस
सरकारले उठाएर खुवाउछु भनेको छ

अन्धो, बहिरो, लँगडो, लाटो
केही भन्न नपाइने कानुन बनेको छ
अब कोहि यस्ताले दु:ख पाउनु पर्दैन
गाडीमा एक सिट आरक्षणको नियम बनेको छ

महिला र पुरुष समान कानुनमै लेखिएको छ
ल हेर्नुस न
बिहेमा दुलहा एक र
दुलही पनि एक नै हुन थालेका छन

एमाले, माओवादी मिलिसके
अरु पार्टी पनि एकापसमा मिल्ने क्रम जारी छ

सबै धर्मले नेपालमा प्रवेश पाएका छन
देश बनाइदिन चाइनिजहरू आएका छन
विदेश बनाउन नेपाली गएका छन

बागमती कन्चन बग्न थालेको छ
चिसोले कठ्याङ्ग्रीयो कि भनेर रानीपोखरी सुकाइदियौँ
खुल्लामन्च एक्लियो भनेर बस्ती बसालिदियौँ

देशले अग्रगामी छलाङ मारिसक्यो
किन केही भएको छैन गणतन्त्र आएपछि ?

एउटा सत्य
म प्रम हुन पाएको छु !
र तपाईंहरूलाई भरपुर मनोरञ्जन दिन पाएको छु

यो थियो,
गणतन्त्र दिवसको अवसरमा
प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्बोधन !
– Prajwal Adhikari

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata