विश्वकप क्रिकटः श्रीलंकाको पहिलो जित

बुधबार, जेष्ठ २२, २०७६



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित हात पारेको छ ।

गएराति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गरेको हो । कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा अलआउट भयो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ४३ रन बनाए भने हजरतउल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रन जोडे ।

अफगानिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका नुवान प्रदीपले ४ र लासिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १ सय ७८ रनको नयाँ लक्ष्य दिइएको थियो ।

श्रीलंकाका लागि कुशल परेराले ७८ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान दिमुथ करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रन जोडे ।

अफगानिस्तानका मोहमद नाबीले ४, डलट जद्रान र राशिद खानले २–२ विकेट लिए ।

जारी विश्वकपका श्रीलंकाको यो पहिलो जित हो । पहिलो खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो र
अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो । अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले हारेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank