अफगानिस्तानमा युद्धबिराम हुने संकेत, २९ फेब्रुअरीमा शान्ति सम्झौताको तयारी

शनिबार, फाल्गुन १०, २०७६



एजेन्सी । अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य हुने संकेत देखिएको छ । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्  ।

त्यसअघि शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरिसकेका छन् । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।

अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि लामो समयदेखि अमेरिकाले पहल गर्दै आएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि शुक्रबार भनेका छन्, ‘अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ ।’

पोम्पेओले भने, ‘चुनौती अझै बाँकी छ, तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ । अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments