हवाई आक्रमणमा १६ लडाकु मारिए

सोमवार, माघ १३, २०७६



एजेन्सी । अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी कम्तीमा १६ लडाकु मारिएका छन् । तालिवान लडाकुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन्।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको थियो । घटनाका बारेमा तालिवान लडाकुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यस्तै, उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। ‘मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ,’ मालीको सैनिक स्रोतले भन्यो।

आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर पनि दुई जनाको मृत शरीर देखेको एक स्थानीय सांसदले बताए। ‘आक्रमणकारी जिहादी लडाकुहरू मोटरसाइकलमा आएर आक्रमण गरेका थिए,’ सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले भने।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments