जेठ महिनामा अधिकमासःविशेष कामनाका कर्म नगरौँ

मङ्लबार, जेष्ठ १, २०७५



काठमाडौँ । जेठ महिनामा अधिकमास परेको छ । जेठ १ गते साँझ ५ बजेर ५३ मिनेटपछि अधिकमास शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अधिकमास भन्नाले सामान्यभन्दा बढी भएको महीना बुझिन्छ ।

मंगलबार साँझ ५ बजेर ५३ मिनेटसम्म औँसी रहेको छ । जेठ १ गते शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु हुने र औँसीको अन्त्यसम्म अर्थात् जेठ ३० गते राति २ बजेसम्म रहने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

‘ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ, यो महीनामा नित्य र नैमित्तिक कर्म गर्नुहुन्छ र कुनै कामना राखेर गर्ने कर्म गर्नुहुँदैन’ उनले भने ।

ज्येष्ठ कृष्ण औँसीमा गरिने वट सावित्री व्रत भने गर्न हुने समितिले जनाएको छ । गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम यस महीनामा गर्न शास्त्रीय रुपमा निषेध गरिएको छ । एक वर्षभित्र विवाह भएका पतिपत्नीले समागम गर्नुहुँदैन । एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने भनिए पनि शास्त्रीय आधारमा समागम गर्न निषेध गरिएको अध्यक्ष गौतमले बताए ।

‘एक वर्षभित्र विवाह भएका पतिपत्नीबीच समागम भए पतिको आयु क्षीण हुन्छ, यसबीचमा गर्भ रहे स्वस्थ सन्तान जन्मदैन, आयु पनि थोरै हुन्छ भन्ने धर्मग्रन्थमा उल्लेख गरिएको छ’ उनले भने ।

अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महीनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्न पनि शास्त्रीय रुपमा बन्देज छ । यस महीनामा मन्दिर निर्माण र कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि मनाही गरिएको छ ।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ । तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन् । कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुन पुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुई पटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ । त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई बताउछन् ।

‘सूर्यसङ्क्रान्तिदेखि गतेका आधारमा मानिने, हामी सबैले बुझेको र व्यवहार गरिरहेको मास नै सौरमास हो, सूर्य र चन्द्रमाको अन्तर नै तिथि हो, यी दुईको अन्तर १२ अंश हुँदा एक तिथि हुन्छ, १५ तिथिको एक पक्ष हुन्छ, शुक्ल पक्ष (शुक्लप्रतिपदाबाट पूर्णिमासम्मको पक्ष) र कृष्णपक्ष (कृष्णप्रतिपदाबाट औँसीसम्मको पक्ष) गरी दुई पक्ष वा तीस तिथिको मास नै चान्द्रमास हो’ उनले भने ।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ । दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्छ ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन । एउटा पनि सूर्यसङ्क्रान्ति नभएको चान्द्रमास नै अधिकमास हो । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ ।

त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुई सूर्यसङ्क्रान्ति पनि पर्छ । त्यस्तो दुई सूर्यसङ्क्रान्ति परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुई अधिकमास पर्छन् । दुई वर्ष, आठ महिना, सोह्र दिन र चार घडी पुगेपछि अधिकमास पर्ने सम्भावना बढी हुन्छ भन्ने शास्त्रमा व्याख्या गरिएको छ ।

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः । ।

सूर्य र चन्द्रमाको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । अधिकमासमा स्नान, सन्ध्योपासन, जप, तर्पणजस्ता शरीर एवं चित्तशुद्धिका लागि सधैँ गरिने कर्म गर्नुपर्छ । यसैगरी न्वारान, पास्नी, क्रियाकर्मजस्ता निमित्तले गरिने कर्म र रक्षाका लागि गरिने आतुरकालीन शान्ति कर्म अधिकमासमा पनि गर्नुहुन्छ ।

विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नुहँुदैन । पुराणवर्णित पुरुषोत्तम भगवान्को पूजाराधना, व्रतोपवास र अपुङ्गो दान आदि कर्म भने अधिकमासमा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

अधिकमास भनेको एक प्रकारको विकार भएकाले मलमास भनिएको हो । ज्योतिषका फलित विशेष गरी ‘संहिताग्रन्थ’मा अधिकमासको प्रायः अशुभ फल नै बताइएको उपप्राध्यापक भट्टराईको भनाइ छ ।

अधिकमासको शुभाशुभ फल महिनाका आधारमा निर्धारित हुन्छ । यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट भय, चोरीडकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुको मूल्यवृद्धिजस्ता फल प्राप्त हुने ज्योतिषका संहिताग्रन्थमा उल्लेख गरिएको छ ।

जेठ महिनाको अधिकमासले शासक र शासित वर्गबीच वैमनश्यता बढाउँछ । शासक वर्गबाट जनता त्रसित हुने उपप्राध्यापक भट्टराई बताउछन् । करीब एक हजार ५०० वर्षअघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ ।

139 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank