बालक हत्याका अभियुक्तलाई ३१ वर्ष कैद सजाय

मङ्लबार, बैशाख ४, २०७५



गौशाला । बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ ।

जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका– १ बस्ने पप्पु यादव र वडा नं ६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो । साथै दुवै जनालाई जनही करीब रु १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए ।

सोही मुद्दामा जलेश्वर –२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करीब रु १६ लाख जरिवाना ठहर गरेको छ । अभियुक्तहरुले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बस बिसौनीबाट अपहरण गरी लगेर उनका बुबा नवीनसँग रु ३० लाख भारतीय फिरौती मागेका थिए । बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाकमुख थिची हत्या गरेका थिए ।

96 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank