अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाइएकामा गुनासो

बिहिबार, बैशाख २८, २०७४



काठमाडौँ । दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ ।

नेपालमै बढी अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको आज आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

नगरपालिकाको जोरपाटीमा नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पताल, अपाङ्गता भएका बालबालिकाका लागि विशेष माध्यमिक विद्यालय रहेका छन् ।

“स्थानीय तहको निर्वाचन समावेशी हुनुपर्छ भनिए पनि समाजको महत्वपूर्ण अङ्ग अपाङ्गता भएका व्यक्तिलाई अपमान गरिएको छ, जोसुकै व्यक्ति अपाङ्ग हुनसक्छ, यसतर्फ सबै दलको ध्यान जानु जरुरी छ”– उनले भने ।

सो अवसरमा मोबाइल बनाउने प्राविधिक सीप सिकेका पाँच जना अपाङ्गलाई मोबाइल मर्मत वर्कसप खोल्न आवश्यक सामग्री प्रदान गरियो । राजु धिताल, नरबहादुर मगर, हेमबहादुर भुजेल, निर्मला गौतम र योङ्जेन घ्लानलाई रु दुई लाख बराबरको मोबाइल सफ्टवेयर, मोबाइल टुल्स एन्ड पार्टस्लगायत सामग्री वितरण गरिएको थियो ।

सामग्री वितरण गर्न गोकर्णेश्वर नगरपालिका, गैरआवासीय नेपाली धर्मराज गिरी र चलचित्र निर्देशक अक्कलसिंहले आर्थिक सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइयो ।

यसैगरी दुवै गोडा नचली हिँडडुल गर्न नसक्ने फणीन्द्रबहादुर मगरलाई ह्विलचियर प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, दाताहरु गिरी र सिंहले अपाङ्गता भएका व्यक्तिलाई पनि नीतिनिर्माण तहमा पद आरक्षण गरिनुपर्नेमा जोड दिए ।

1085 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank