आँखाको मूल्य

सोमवार, भदौ २३, २०७६



आँखाको मूल्य
——————

म घर छोडेको अन्तिम दिन,
बाको एउटा आँखाबाट तप्प खस्यो,
एक थोपा भोको निराशा !
र अर्को आँखाको परेलीमा झुन्डिइरह्यो भोलिको भातको भरोसा!

म घर छोडेको अन्तिम दिन!
आमाको एउटा आँखाबाट
खस्यो एक थोपा प्रेम !
अक्षता मुछिरहेको थालीमा !
र अर्को आँखा तेर्सियो म आएको बाटोमा ! चामल बोकेर फर्किने आशाले!

म घर छोडेको अन्तिम दिन !
दैलोमा भाउजूले
दाइ नफर्केको कुरा सम्झेर
एक थोपा दाइ खसालिन् एउटा आँखाबाट!
र अर्को आँखाको डिलमा
टिलपिल टिलपिर बनाएर अड्याइन्
मेरी श्रीमतीको सिउँदो!

म घर छोडेको अन्तिम दिन!
सानी बहिनीले खसालिन् एउटा आँखाबाट फाटेको जामा!
र अर्को आँखामा फुलाइन् तिहारका मखमली फुल!

म घर छोडेको अन्तिम दिन!
हजुरबाले एउटा आँखाबाट खसाले आफ्नो प्यारालाइसिस रोग!
र अर्को आँखामा टल्काइरहेथे ,
बज्यैको अर्बुदलाई धपाउने आशाको दीप!

म घर छोडेको अन्तिम दिन !
बज्यैको एउटा आँखामा टल्किरहेथ्यो बिदाइको बेला काँपिरहेका हातका आकृति,
र अर्को आँखाको आँसुमा देखिएथ्यो,
मैले चयनको निद्रा बोकेर ल्याउने समयमा
सधैँ सधैँका लागि आफू निदाउने त्रास !

म परिवारको त्यस्तो आँखा हुँ
जसले हेर्ने प्रतीक्षा गरिरहेछ एउटा खुसी !
यस कारण डाक्टर साब!
मेरा आँखाहरू बेचिदिनुहोस्!
जसले बचाउन सकोस् मेरो परिवारको दृष्टि !

– प्रज्वल दीप

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata