जसले नानी प्रत्यारोपण गरेर ज्योति पाए

आइतवार, पुस २०, २०७६



सिन्धुपाल्चोक हेलम्बुकी कुमारी लामा सात वर्षको हुँदा बायाँ आँखामा आनो आयो । उनका बुबाले आनो निचोरेर मल्हम लगाइदिए । दायाँ आँखामा पनि आनो सर्ने डरले मल्हम लगाइदिए । तर, त्यही मल्हम कुमारीका लागि अभिशाप बन्यो । दुवै आँखाको ज्योति गुम्यो ।

अभिभावकले कुमारीलाई अस्पताल लगेनन्, अन्धविश्वासका कारण केही समय धामी, झाँक्री र मन्दिर चहार्दै हिँडे । पछि तिलगंगा आँखा अस्पतालले उनको देब्रे आँखाको नानी प्रत्यारोपण गरेर ज्योति फर्काइदियो ।

२२ वर्षअघि कुमारीको देब्रे आँखामा ज्योति दिएको तिलगंगाले २ पुसमा दाहिने आँखामा पनि ज्योति फर्काइदिएको छ । ‘विगत सम्झिँदा पश्चाताप हुन्छ ।

कुन मल्हमले ज्योति गुम्यो सम्झना छैन,’ २८ वर्षीया कुमारीले भनिन्, ‘छिमेकीले आँखा ठीक पार्न धामीकहाँ जान सल्लाह दिए, फेरि छिमेकीले नै अस्पताल जाने सल्लाह पनि दिए । तिलगंगा आँखा अस्पतालले आँखाको ज्योति फर्काइदियो ।’

देब्रे आँखाको शल्यक्रिया गरेपछि सामान्य देख्न थालेकी उनले अध्ययनलाई निरन्तरता दिएकी थिइन् । समाजशास्त्रमा स्नात्तकोत्तर गरेकी उनी चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकडेमीमा अंग्रेजी विषय पढाउँछिन् ।

अहिले दुवै आँखामा ज्योति फर्किएपछि उनी खुसी छिन् । ‘गुमेको ज्योति केही भए पनि फर्किएको छ, दाहिने आँखा पनि राम्रो हुने आशा छ,’ उनी भन्छिन् ।

स्याङ्जाका सविन बोगटी जन्मजात दृष्टिविहीन थिए । उनको समस्या परिवारले तीन वर्षपछि मात्रै थाहा पायो । उपचारका लागि पोखरा लग्यो । उपचार सम्भव नभएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज ल्यायो ।

तर, शिक्षण अस्पतालमा पनि उपचार सम्भव नभएपछि तिलगंगा आँखा अस्पतालमा उपचार भयो । डा। लिना बज्राचार्य र डा। रिता गुरुङले चार वर्षको फलोअपपछि शल्यक्रिया गर्न सुझाब दिए । तर, आँखा देख्ने–नदेख्ने सम्भावना बराबर हुने चिकित्सकले बताएका थिए । जन्मजात दृष्टिविहीन सबिनको उपचारमा जोखिम मोल्न परिवार राजी भयो ।

०६३ मा उनको दायाँ आँखाको शल्यक्रिया भयो । त्यसवेला सबिन ११ वर्षका थिए । ‘आँखाको नानी दानको विकास नेपालमा नहुँदो हो त म जीवनभर दृष्टिविहीन हुने थिएँ,’ उनी भन्छन्, ‘अहिले म राम्रोसँग सवारी साधन चलाउन सक्छु । दायाँ आँखा देख्न सक्ने भएपछि बायाँ आँखाको पनि शल्यक्रिया भयो, जतिवेला म १५ वर्षको थिएँ । अहिले दुवै आँखा राम्ररी देख्न सक्छु ।’ आँखाको शल्यक्रियापछि ११ वर्षको उमेरमा विद्यालय भर्ना भएका उनी हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् ।

स्याङ्जाका विदुर लामिछाने काठमाडौंको धापासीमा बस्छन् । एसएलसी दिएपछि उनको आँखाको दृष्टि कमजोर हुन थाल्यो । आँखाको नानी चुचो हुँदै जाने समस्या देखिएपछि उनले नियमित ५ वर्ष चस्मा लगाए ।

चिकित्सकले आँखाको नानी फेर्नुपर्ने सल्लाह दिए । तिलगंगा अस्पतालमा विदुरको दुवै आँखाको नानी प्रत्यारोपण भयो । उनी भन्छन्, ‘अहिले राम्रो भएको छ, कुनै समस्या छैन ।’ विदुरले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन सकाएका छन् ।

यी प्रतिनिधिमूलक पात्र मात्रै हुन् । दृष्टिविहीन भएर आँखाको नानी प्रत्यारोपण गरी संसार देख्नेहरूको संख्या १५ हजार नाघिसकेको छ । नयाँ पत्रिका दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments