“आमा म मूर्ख नै हुँ”

बिहिबार, बैशाख ११, २०७७



म त्यही जिउँदो भगवानकाे साक्षी हुँ,
जाे सँग म रमाउन सकिरहेछु,
दिल खोलेर हाँस्न सक्छु,
डाँको छोडेर रुन सक्छु,
र पनि आनन्दको सीमा नै रहन्न ।

तर म मूर्ख हुँ,
मैले दूध चुस्दा चुस्दै
लत्रिएका छाती,
उध्रिएका चोलीबाट,
मेरो खुसिकाे लागी
मेरो भविष्य खोज्दाखोज्दै,
चरचर फाटेका खुट्टाका पैतालाले
मेरो संसार बसाउन
धुजा धुजा परेको
बुबाको टोपीले
मेरो सामिप्यता खोज्दा,
म अनायासै बतासिन्छु,
भाग्न खोज्छु,
डाँडा पारी पारी ।

जीवनकाे डुङ्गा
खियाउँदा खियाउँदै,
सन्तानलाई तार्दा तार्दै,
दु:खकाे सागरमै,
पुरानो डुङ्गामै आदिम
जिन्दगी
बाँचिरहेकी मेरी आमा
भित्र ,
मेरा संवेदना पाउँछु,
मेरा भावना भेट्टाउँछु,
मेरो जीवनको फूलकाे सुवास मगमगाउँछु,
ममताको धारामा आहाल खेलेको छु,
प्यारकाे सागरमा पाैडन पाएको छु,
त्यसैले त,
पृथ्वी र जगत निरीह छ,
आमाको मायाको अगाडि ।

मेरो आमाको छातीको क्षेत्रफललाई ,
केही थान शब्द भित्र,
घेरा बन्दिमा पार्न खोज्ने
हो,
म त्यही मूर्ख हुँ,
जाे बा आमा भन्दा पर बसेर,
त्यही जीवनको पर्याय खोजिरहन्छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments