किसान आलु खेतीतर्फ आकर्षित

सोमवार, जेष्ठ २८, २०७५



डडेल्धुरा ।
विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् ।

परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका साथै न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका छन् ।

जिल्लाका कृषकका लागि आलु मुख्य आयस्रोतका रुपमा रहेको छ । आलु नगदे तरकारी बाली हो । आलु बिक्री गरी कृषकले वार्षिक रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

सिँचाइको सुविधा नहुँदा बाँझो रहने खेत अहिले आलु खेतीले हरियाली भएका छन् । अशिग्राम गाउँमा मात्रै कृषकले आलु बिक्रीबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गदैआएका वडाध्यक्ष चेतराज भट्टले बताए । जिल्लाका उच्च पहाडी भेगका बासिन्दाले अर्गानिक आलु उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

वन जगंलमा पाइने स्याउला सोत्तरको रुपमा प्रयोग गरी गाईगोरुको मलमूत्रबाट तयार गरिएको मल मात्रै खेतबारीमा हाल्ने गरेको भट्टले बताए ।

मलमूत्रबाट नै तयार पारिएको विषादी प्रयोग गर्ने गरेको अजयमेरु–१ की कलावती भण्डारीले बताईन । गन्यापधुराको भात्काँडा, साहुखर्क, जर्मना, लेक तथा अमरगढी नगरपालिका–१ तडिवाटा, मालम, मडुवा, मौरडा, वडा नं २ भेल, मतरगाउँ, कारिगाउँ–३ घटाल, साउनगाउँ, चमसाल, चिरकिट्ट–७ सल्लागाउँ, अनानरखोली, भालुमारे–८ टाटार र आलिताल गाउँपालिकाको गंखेत, हगुलटे, गैरा लगायत ठाउँमा कृषकले सयौँ रोपनीमा आलु खेती गरी पर्याप्त आम्दानी गर्दैआएका छन् ।

अजयमेरु गाउँपालिको समैजी, अजयमैरु, भद्रपुर लगायतका क्षेत्रका कृषकले पनि आलु खेतीबाट वार्षिक मनग्य आम्दानी गरिरहेका शिखरसमैजी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

आलु खेतीका लागि थोरैै सिँचाइका साथै जंगली जनावरले पनि कम क्षति पु¥याउने भएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । आलु खेती गर्न थालेका कृषकले एउटा याममा रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । बाह्र वर्ष अघि जर्माना लेकमा आलु खेती गर्दै आएका पदमबहादुर बोहराले शुरुवातमा दुई क्विन्टल आलुको बीउ रोप्नु भएको थियो । हाल उहाँले करीब १५ क्विन्टल आलुको बीउ लगाएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले अनुदानमा बीउ दिन थालेपछि १५ क्विन्टल बीउ लगाएको उनको भनाइ छ । “पहिले पाँच÷सात क्विन्टल लगाउँदा वार्षिक रूपमा खर्च कटाएर रु एक लाखसम्म फाइदा हुन्थ्यो,” उनले भने, “यस वर्ष रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने विश्वास छ ।” उनले मकै लगाउने खेतबारीमा विगत वर्षदेखि आलु खेती गर्दै आएका छन ।

पहिला मकै रोपेर पाँच÷छ क्विन्टल फले पनि भालु, बँदेललगायत जनावरले खान थालेपछि आलु खेती गर्न थालेको भोजराज महता बताउछन । उनले आलुखेती गर्न थालेको चार वर्ष भयो । महताले यस वर्ष २० क्विन्टल आलुको बीउ रोपेका छन । उत्पादित आलु प्रतिक्विन्टल रु तीन हजारमा बिक्री हुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त क्षेत्रलाई आलु उत्पादनका लागि सुपर जोन क्षेत्र घोषणा गरेपछि कृषक आलु खेतीतर्फ आकर्षित भएका गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए । सुपर जोन कार्यक्रमअन्तर्गत आलु उत्पादनका लागि कृषकले आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेका छन् । अहिले अमरगढी, आलिताल र गन्यापधुराका कृषकले आलुलाई आफ्नो मुख्य बालीका रूपमा अगाडि बढाएका छन् ।

जिल्लाका अन्य क्षेत्रका कृषकले पनि आलुलाई मुख्य पेशाका रुपमा लिन थालेका छन् । आलु जिल्लामा तीन पटकसम्म फल्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिबहादुर विष्टले बताए । “तीन–तीन महिनाको फरकमा आलु उत्पादन गर्न सकिन्छ,” उनले भने ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank