आकाश !

शनिबार, जेष्ठ २५, २०७६



मेघराज शर्मा नेपाल नेपाली साहित्य तथा संगीतको क्षेत्रका अग्रज श्रष्टा हुन् । उनलाई कवी ‘मन्जुल’ अर्थात ‘मन्जुल राल्फा’ का उपनामले चिनिन्छ ।  नेपाली भाषा, साहित्य र संगीतको क्षेत्रका विशिष्ट प्रतिभा  ‘मन्जुल’ को एक कविता ‘आकाश’ यहाँ प्रस्तुत: गर्दछौं ।

आकाश- ‘मन्जुल’

एक दिन

आकाश मेरो चियाको कपमा लुक्न आयो

मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ

र  छिटोछिटो चिया पिएँ

तर कप रित्तो भयो र आकाश फेरी उडेर माथि गयो ।

फेरि मैले कपमा चिया भरें

आकाश फेरी कपमा झर्यो

कसैले भन्यो, ‘ ए गोजीमा हाल,

लुकाऊ न लूकाउ !’

तर म तेजिलो घामले आफूलाई डढाउन चाहन्नथें

सघन वर्षातले आफूलाई रुझाउन चाहन्नथें

त्यतिका विघ्न ताराहरु पनि मेरा लागि आफ्नै हुन्थे

म ती जम्मैलाई सोहोरेर झोलामा बोक्न सक्दिनथें ।

कसैले भन्यो

‘ए ! आँट गर

आकाशसँग बाँच्नु भनेको ठुलो कुरा हो । ‘

तर मैले आकाशमा बिजुली चम्केको सम्झेँ

वज्र परेको सम्झेँ

एकबारको यो जुनीमा

मलाई यी अनावश्यक खतराहरु मोल्न मन लागेन

एक बट्टा सिग्रेट बोक्न नचाहने मैले

अलिकति ल्वाङ सुकुमेल बोक्न नचाहने मैले

आकाश बोक्ने किन चाह गर्नु ?

मैले भनें, ‘धर्तीलाई घाम र जून चाहिन्छ ।’

त्यसैले

मैले आकाशलाई फेरी माथि फ्याँकिदिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank