आज कुशे औंशी, बुबाको मुख हेर्ने दिन !

शुक्रबार, भदौ १३, २०७६



काठमाडौं । आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात । भाद्रकृष्ण औंशी(आज)का दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंशी भन्ने गरिएको हो ।

के हो कुश ?

वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहज रुपमा पाइने वनस्पती कुशको जराबाट विभिन्न प्रकारका औषधीहरु बनाइन्छ ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक महत्वको पवित्र वनस्पती हो । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्ववेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । जसको वैज्ञानीक महत्व समेत प्रमाणीत भइसकेको छ ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई विकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारीक जीवनशैली प्रस्तुत गरेको छ ।

कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।

बुबाको मुख हेर्ने दिन पनि आजै

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन ।

कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

आजकै दिन छोराछोरीहरू आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र ‘पितृ दिवस’ समेत भनिन्छ ।

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजका दिन दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः काठमाडौँको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

हरेक धर्ममा आ-आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरु केही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।

सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata