अनुहार हेरेर अनुसन्धान गर्ने होइन- प्रधानमन्त्री ओली

शुक्रबार, अशोज २४, २०७६



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि शक्तिको दबाब र प्रभावमा नपरी प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्। ६४औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि घटनामा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए।

प्रधानमन्त्रीले अनुहार हेरेर अनुसन्धान गर वा नगर भनेर दबाब दिइनु गलत हुने तर्क गरे। हालै सभामुख कृष्णबहादुर महरा पक्राउको घटनातर्फ लक्षित गर्दै ओलीले भने ‘कुन पार्टी सरकारमा छ, कसले अपराध गर्‍यो वा कुन ओहोदामा छ त्यसलाई हेरेर अनुसन्धान गर्ने हैन। निष्पक्ष अनुसन्धान गर्नुपर्छ।’

अपराधका घटनामा पनि राजनीतिकरण भइरहेकोमा समेत प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेका छन् । साथै राजनीतिकै आडमा अपराध गर्न/नगराउन उनले अनुरोध समेत गरेका छन् ।

यस्तै, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अनपाइ त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

‘आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु ।’, गृहमन्त्री थापाले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।’

आफ्नो कुशल कार्यसम्पादनमार्फत प्रहरी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै मन्त्री थापाले जनताको सेवामा खरो उत्र्न प्रहरीलाई आग्रह गरे । प्रहरी संगठनको आलोचनाभित्र लुकेको आवश्यकतालाई मनन गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्नुपर्ने मन्त्री थापाको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments