आज ‘मदन–आश्रित स्मृति दिवस’, नेकपा विविध कार्यक्रम गरी स्मरण गर्दै

शुक्रबार, जेष्ठ ३, २०७६



काठमाडौं । आज जेठ ३ । जननेता मदन भण्डारी र जीवराज आश्रितको २६ औैं स्मृति दिवस । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा  जिप दुर्घटना परी निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाले ‘मदन–आश्रित स्मृति दिवस’ मनाउन लागेको हो ।

दिवसका अवसरमा तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुनेछन् ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।

जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना रहस्यकै गर्भमा रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank