भारत-पाकिस्तान भिडन्त: स्टेडियममा पाइला राख्ने ठाउँ छैन, करिब ५ लाखले टिकट नै पाएनन्

आइतवार, असार १, २०७६



एजेन्सी ।  रंगले पोतिएको अनुहार । आ-आफ्नो देशको  झण्डाले लतपत अनुहार । आ-आफ्नो देशको झण्डा  फर्फराई रहेका दर्शक र  दर्शकले खचाखच भरिएको मैदान  । क्रिकेट स्टेडियममा मात्र होइन । गाउँ, टोल, शहर , गल्ली जता पनि चर्चा ।  सबै घर–घरका टीभी च्यानलदेखि लिएर क्याफे होटलहरुमा पनि मान्छेहरुको  बाक्लो उपस्थिति ।

भारत र पाकिस्तानमा खानादेखि खाजा पहिलेदेखि तयार छन् । जसको घरमा वाईड स्क्रिन टिभी छ, उसको घरमा पाइला राख्ने ठाउँ छैन । यो सब हुन्छ, जब भारत र पाकिस्तानबीचको खेल हुन्छ । स-साना लिग मा त यस्तो देख्न सकिन्छ । झन यो त  विश्वकप । विश्वकपको रौनकतामा पारस्परिक दुश्मन मानिएका दुई देश भारत र पाकिस्तान यतिखेर झुमिरहेका छन् ।

खबरका अनुसार भारत र पाकिस्तानबीचको खेलका लागि ५ लाख जनाले लिन चाहेको टिकट मात्र २५ हजारलाई उपलब्ध भएको छ । यसैले बताउँछ भारतीय र पाकिस्तानीहरुको खेलप्रतिको लगाव र साथै बेचैनी पनि ।

दुवै टोली खेलका लागि तयार छन् । दबाब बिना नै खेल होला भनेर आशा गरिएता पनि भारत – पाकिस्तानबीचको खेलमा दबाब नहुने असम्भव जस्तै नै छ । विभिन्न द्वन्द्वका कारण सधैँ चर्चामा देखिने दुवै देश विश्वकप क्रिकेटको समयमा पनि उस्तै देखिन्छन् ।

पाकिस्तान र इङ्ल्यान्डबीचको खेलमा जित निकालेपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले भारतविरुद्ध आफ्नो टोलीले यही लयलाई कायम राख्ने बताएका थिए ।

“यदि हाम्रो टोलीले नराम्रो खेलमा सबैकुरा सहनुपर्नेछ, हाम्रो टोलीले भारतविरुद्ध जित निकालेमा यसको खुसी बेग्लै हुनेछ”, उनले भने, “पाकिस्तानले भारतसँगको खेल अन्य देशसँग जस्तै खेल्दैन यो बेग्लै हुन्छ, हाम्रो टोलीमा केही नयाँ खेलाडी छन् उनीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्नेछन् । पाकिस्तानी टोली पहिले को जस्तो छैन,” सर्फराजले भने ।

यता भारतका कप्तान विराट कोहलीले तयारी र खेलाडीको मिहिनेतले आफ्नो टोलीले जित निकाल्ने बताए । “तयारीको हिसाबले भन्ने हो भने हामीले आफ्नो क्षमतामा विश्वाश गरेका छौँ, राम्रो खेल पस्कन सकेमा जित निश्चित छ । अर्काे टोलीको कमजोरी र क्षमतालाई बुझेर पनि खराव खेलमा जित्न मुस्किल हुनेछ,” कोहलीले भने ।

विश्वकपकै ठुलो खेलको रुपमा रहेको भारत र पाकिस्तानबीचको खेल ओल्डट्राफोर्डमा मैदानमा हुनेछ । उपाधि दाबेदारका रुपमा रहेका दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुई ठूला प्रतिद्वन्द्वी जितसहित मैदान उत्रने छन् ।

यस अघिको तीन खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ । भारत तुलनात्मक रुपमा पाकिस्तान भन्दा बलियो टोली हो । यता, ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानले ३ अंक जोडेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata