सागले जोगाएको ‘सरकारको नाक’ !

नेपालपाटी टिप्पणी

शुक्रबार, मंसिर २७, २०७६

- राजेन्द्र भट्ट



मलाई प्रतिष्पर्धाको क्रममा नयाँ साइकल आउने बताइयो । तर प्रतियोगिताको दिनसम्म आएन ! राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरू मेरो प्रतिस्पर्धी थिए । साइकल त् आएन आएन, मैले प्रतियोगिताको लागि ड्रेससम्म पाइन् । साथीको ड्रेस मागे । र, प्रतिस्पर्धामा होमिए ।उही ५/६ वर्ष पुरानो एल्मुनियमको साइकल लिएर म नयाँ र बलिया पाटपुर्जा भएका कार्बनयुक्त साइकल हुनेहरूसँग भिड्न निस्किए । मसँग जित्नको लागि आत्मबल शिवाय अरु केहि थिएन । अन्तत: मैले नेपाललाई पहिलोपटक डुआथोलन विधातर्फ स्वर्ण दिलाएँ ।

– हिमाल टमाटा, ट्रायथोलन

११ औं संस्करणको क्रममा लगाइएको जुत्ता भेटियो । निकै पुरानो थियो । तिनपटक त् त्यहि जुत्ता सिलाए । ग्लु लगाए कति चिप्काए, चिप्काए । मैले मसँग जुत्ता छैन, दिलाईदिनु पनि भने । उहाँहरूले हुन्छ भन्ने आश्वासन पनि दिनुभयो । ३८ नम्बरको जुत्ता लगाउने मैले बल्लतल्ल पाए- ४५ नम्बरको जुत्ता । आएको जुत्ता पनि मिलेन । मसंग अर्को विकल्प थिएन- सोल उप्किन लागिसकेको त्यही जुत्ता लगाएर प्रतिस्पर्धा गरें । तयारी र आत्मबल हुँदाहुँदै पनि काश्यमा चित्त बुझाए । यदि मेरो साइजकै जुत्ता लगाएर प्रतिष्पर्धा गर्थे त् स्वर्ण जितेरै छोड्थे ।

ट्राकसुट पनि मिलेन । घुंडाघुंडा आउने थियो । आयोजकको उर्दी थियो – अन्तिम दिन सबै साग खेलाडी पोशाकमा आउनू । तर कुन पोशाक लगाएर निसक्नु ? जुत्ता जस्तै मेरो पोशाकको पनि साइज मिलेको थिएन । मेरो लागि ठूलो मात्रै होइन, धेरै नै ठुलो पोशाक आयो । अन्तत: मेडल लिन एकजना बहिनीको ड्रेस मागेर गए । निकै टाइट थियो । मलाई धेरै आपत पर्यो ।

– भारोत्तोलन, तारादेवी पुन

सरकारले ५ अर्ब बजेट छुट्टायो- १३ औं सागको लागि । खेलाडीको पोशाकका लागि छुट्याईको बजेटबाट मन्त्रीहरुले दौरा, सुरुवाल र कोट भिरिरहेको चर्चा समेत चुलिएको छ । तर राष्ट्रका लागि निस्वार्थ भावनाले खेलेका खेलाडीहरुले भने न्यूनतम भौतिक सुविधासम्म नपाउँदा देशका लागि पदक ल्याउने सम्भावना भएकी एउटी खेलाडी गरीबीको मार धान्न नसकेर कतार पलायन भईन् ।

उसैगरि दशौँ वर्ष पुरानो साईकल चलाएर स्वर्ण पदक जित्नु पर्ने अवस्था पनि नआउनुपर्थ्यो । सोनी गुरुङले ट्रायथोलनमा थोत्रो साईकल चलाएर स्वर्ण पदक हात पारिन् । उनलाई स्वर्ण पदक जितेको खुसीको सीमा रहेन तर राष्ट्रले खेलाडीहरुका लागि गरेको व्यवस्थापकीय पाटोले भने खुसी हुन दिएन । एकातर्फ थोत्रो साईकल चलाउँदाको पीडा र अर्कोतर्फ पदक जित्नै पर्ने दबाब थियो उनलाई । अन्तत नेपाली उखान ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झै स्वर्ण पदक जितेर राष्ट्रको शीर उचो पारिन् । उनी भन्छिन्, ‘ट्रायथोलनमा दौड, पौडी र साइकलिङमध्ये सबैभन्दा बढी इफोर्ट साइकलमै लगाउनुपर्छ । ‘साइकल पुरानो भएकै कारण अरु विधामा ८० प्रतिशत इफोर्ट लगाएँ भने साइकलमा १२० प्रतिशत ।

माथिको घटनाहरू कुनै मनगढन्ते कहानी होइन । यो नेपालको खेल क्षेत्रको वास्तविक तितो यथार्थ हो । अनेकौं कठिनाइको बाबजुद खेलमार्फत मुलुकको मान, सम्मानको निम्ति अहोरात्र खट्ने खेलाडीहरूको अथक मेहनतले मुलुकको प्रतिष्ठा ह्वात्तै बढाएको छ- १३ औं साग मार्फत । नेपालमा खेललाई त्यति धेरै महत्व दिएको पाइदैन । यो रोग आम जनतामा मात्र होइन सरकारमा पनि समानरुपमा पाइन्छ । सरकारले खेलाडीको जीवनयापनमा र खेलकै निम्ति पनि उचित ध्यान दिन नसकेको वर्तमान अवस्थामा आफ्नै बलबुतामा देशको लागि खेल्ने खेलाडीहरूको सम्मान जति गरेपनि अपुरो नै हुने सरकारले समेत महसुस गरेको देखिएको छ ।

साग खेलपूर्व सरकारले खेलाडीहरूको निम्ति गर्नुपर्ने काम के-कति गर्यो ? भन्ने कुरा माथिका उल्लेखित घटना र सन्दर्भले बताईसकेको छ । साग सम्पन्न भएसँगै मुलुकको प्रतिष्ठा राख्न सफल खेलाडीहरूलाई प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर घोषणा गरेको उत्कृष्ट प्याकेज स्वागतयोग्य मानिन्छ । सरकारले साग सम्पन्न गर्ने नाममा गरेका तमाम कमीकमजोरीलाई पखाल्दै खेल भावना भविष्यमा पनि जोगियोस् भन्ने हेतुले गरेको पछिल्लो कदमलाई खेलाडीहरूले मन्त्रमुग्धले स्वागत गरेका छन् । आम जनताको आवश्यकता, चाहना र भावनाअनुसार चल्न नसकेको सरकारले १३औं साग सम्पन्न गरेर सरकारप्रतिको धारणामा थोरै भनेपनि विजय हासिल गरेको छ । अझ खेलाडीहरूले दिलाएको मेडलले मुलुकको प्रतिष्ठा र सरकारको नाक जोगाएको ठोकुवा गर्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments