एसियाली खेलकुदको कुम्भ मेला १३ औं साग भव्य रुपमा उद्घाटन

आइतवार, मंसिर १५, २०७६



काठमाडौं ।  बहुप्रतिक्षित एसियाली खेलकुदको कुम्भ मेला १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज साँझ अत्यन्तै भव्य तथा आकर्षक समारोहबीच उद्घाटन गरेकी छन् ।

सार्कका सातै राष्ट्रका खेलाडीले मार्च पास गर्दै शुरु भएको उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले भव्य रुपमा सिँगारिएको दशरथ रंगशालाबाट साँझ ४ बजे प्रतियोगिताको औपचारिक शुरुआत भएको घोषणा गरेसँगै नेपालले तेस्रो पटक आयोजना गरिएको साग उद्घाटन भव्यरुपमा शुरू भएको हो ।

राष्ट्रपतिले उद्घाटन गर्नुपूर्व दक्षिण एसियाली ओलम्पिक काउन्सीलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पीक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विशेष सम्बोधन गर्दै एसियाली स्तरको मिनी ओलम्पिक रहेकाले सहभागि देशले सहयोग गर्नुपर्ने बताए । उनले यस सागबाट अवसर सिर्जना गर्न र आफनो देशको प्रतिष्ठा जोगाउन खेलाडीलाई शुभकामना दिए ।

१३ औं साग खेलकुद आयोजना मुल आयोजक समितीका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले सबै देशको सहभागिताका लागि आभार व्यक्त गरे । उनले साग आयोजना गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिए ।

राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले एकताका लागि खेल अपरिहार्य रहेको अबस्थामा १३ औं सागले मित्रतासँगै सद्भाब बढाउन सहयोग गर्ने उल्लेख गरे । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए । उनले भने, “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको  एकता र मित्रता पनि हो ।”

उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल,माधव कुमार नेपाल, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा लगायत  विभिन्न राजनीतिक दलका सासंद तथा नेता सहभागी थिए ।

भव्य रुपमा गरीएको उद्घाटन समारोहमा नेपालको संस्कृति झल्कीने झाकीसँगै देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन, झण्डोत्तोलन, सपथ ग्रहण, मार्च पास लगायतका कार्यक्रम भए ।

पहिलो ओलम्पियन जित बहादुर केसीले ओलम्पिक टर्च र्‍याली रंगशालामा भित्राएका थिए भने बीचमा बैकुण्ठ मान्धनर लगायतका खेलाडीले परिक्रममा गरेका थिए । अन्त्यमा दिपक विष्टले ओलम्पिक टर्च बालेका थिए ।

उद्घाटन समारोहमा १५ हजारको संख्यामा रहेका कलाकारले विभिन्न झाँकी, सातै प्रदेशका विविधता झल्किने सांस्कृतिक नृत्यका साथै नेपाललगायत सबै सार्क राष्ट्रको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा कुन्ती मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य, इन्दिरा जोशी र मिलन नेवाले सागको गीत प्रस्तुत गरेका थिए ।

यसैगरी, अन्त्यमा चर्चित गायक दीपक बज्राचार्यले नेपाली मौलिक वाद्यवादन र आधुनिक संगीतको फ्युजन रहेको मनमगन गीत प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । त्यसअघि नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ)ले संयुक्त ब्यान्ड प्रस्तुती दिएका थिए । एपीएफले त्यसपछि भव्य क्यालिस्थेनिक पनि प्रस्तुत गरेको थियो ।

खेलाडीकातर्फबाट नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सपथ ग्रहण गर्दा रेफ्रीका तर्फबाट ब्याडमिन्टन रेफ्री दिपक थापाले सपथ लिए । औपचारिक रुपमा शुरू साग काठमाडौ, पोखरा र जनकपुरमा चल्नेछ । २४ गतेसम्म चल्ने  सागमा सात देशका २ हजार ९ सय १० खेलाडीबीच ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करण आयोजना गरेको नेपालले साग तेस्रो पटक आयोजना गरेको हो । यसअघि दोस्रो पटक नेपालले १९८४ मा साग आयोजना गरेको थियो । १९९९ मा भएको आठौं सागमा सर्वाधिक ३१ पदक हात पारेको नेपालले घरेलु मैदानमा आयोजना भएको १३ औं सागमा उक्त कीर्तिमानलाई तोड्दै कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्य राखेको छ ।

काठमाडौं, पोखरा र जनकपुरमा १५ देखि २४ मंसिरसम्म सञ्चालन हुने सागले नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । सागको सफल र सुरक्षित आयोजना गर्न करिब १८ हजार सुरक्षाकर्मी तथा ५ सय स्वयंसेवक परिचालन गरिएको आयोजक कमिटीले जानकारी दिएको छ ।

सन् १९८४ मा नेपालमै पहिलो संस्करण आयोजना गरि शुरु भएको सागको ८औं संस्करण पनि नेपालमै आयोजना भएको थियो । नेपालको यो तेस्रो साग आयोजना हो । १३औं सागमा ‘कृष्णसार’लाई मस्कटका रुपमा प्रयोग गरिएको छ । सागमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलंकाका खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata