सागको पाचौं दिन : आज १७ खेल हुँदै, कुन खेल कहाँ ?

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पाँचौं दिन आज(बिहिबार) काठमाडौं र पोखरामा गरी विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । १७ मध्ये पाँचवटा खेल आजैबाट शुरु हुन लागेका हुन् ।

सागको चौंथो दिनसम्म भारतले ३७ स्वर्णसहित अग्रता बनाएको छ भने दोस्रो स्थानमा रहेको नेपालले २९ स्वर्ण पदक जितेको छ ।

सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछन् भने अन्य खेल काठमाडौंमा हुनेछन् ।

फुटबल :

सागको महिला फुटबल अन्तर्गत आज नेपालले माल्दिभ्सबीच प्रतिष्पर्धा हुदैंछ । दिउँसो २  पोखरा रंगशालामा खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकालेको थियो ।

सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।

क्रिकेट :

साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा पनि आज दुई खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बिहान ९ बजे शुरु हुनेछ भने दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

उसु :

उसुतर्फ आज १८ स्वर्ण पदकका लागि खेल हुँदैछ । २२ स्वर्ण रहेको उसुको अन्तिम दिन आज सबै पदकको छिनोफानो हुँनेछ ।

सुटिङ :

सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल हुँदैछन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ ।

एथ्लेटिक्स :

एथ्लेटिक्सतर्फ आज दशरथ रंगशालामा बिहान ९ बजेबाट खेल शुरु हुँदैछन् । एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ वटा फाइनल चरणका खेल हुनेछन् ।

भारातोलन :

पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ कुल ५ स्पर्धा हुनेछ । बिहान १० बजे महिला तर्फ ४५ केजी, १२ बजे पुरुषको ५५ केजी, दिउँसो २ बजे महिलाको ४९ केजी, ४ बजे पुरुष ६१ केजी र ६ बजे महिलाको ५५ केजीमा प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिस :

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस प्रतियोगिता हुँदैछ । बुधबार नेपालले नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको थियो ।

ह्याण्डबल :

ह्याण्डबलमा आज लिग चरणका खेल हुनेछन् । समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासंग खेल्ने छ भने महिलातर्फ माल्दिभ्स र पाकिस्तान खेल्दैछन् ।

यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा महिलातर्फ नेपाल र श्रीलंकाबीच खेल हुनेछ ।

पौडी :

पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पुरुष २ सय मिटर फ्रि–स्टिाईल, महिला २ सय मिटर फ्रि–स्टिाईल, पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोक, महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछ ।

यसैगरी पुरुष १ सय मिटर बटरफ्लाई, महिला १ सय मिटर बटरफ्लाई, पुरुष ४ गुणा १ सय मिटर फ्रि–स्टिाईल र महिला ४ गुणा १ सय मिटर फ्रि–स्टिाईलमा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, महिला २ सय मिटर फ्रि–स्टिाईलमा भने नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ ।

बास्केटबलः

बास्केटबल पनि आजबाट शुरु हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।

पुरुष र महिला दुबैमा नेपालले बंगलादेशसँग खेल्नेछ भने पुरुषको अर्को खेलमा भुटान र श्रीलंका खेल्दैछन् ।

कब्बडी :

कब्बडीका पनि आज लिग चरणमा खेल हुनेछन् । एपीएफ मैदान हल्चोकमा चार खेल हुनेछ । जसमा नेपाल र श्रीलंकाको महिला टिमबीच खेल हुनेछ । कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्

बिच भलिबल:

पोखरामा हुने बिच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । जसमा नेपालको पुरुषमा ४ खेल र महिलामा दुई खेल हुनेछ ।

बिहान ९ बजे मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले पाकिस्तानसँग खेल्नेछ । १० बजे नेपालका राजु बिक र सन्जु शाहको जोडीले पाकिस्तानकै टिमसँग खेल्नेछ ।

साढे एक बजे मानबहादुर र दिलबहादुरको जोडीले श्रीलंकासँग खेल्नेछ । साढे २ बजे राजु र सन्जुको जोडीले श्रीलंकासँग खेल्नेछ ।

महिलामा साढे ३ बजे नेपालकी बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले श्रीलंकासँग खेल्नेछ । यस्तै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले श्रीलंकासँग नै खेल्नेछ ।

ब्याडमिन्टनः

पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ आज पनि विभिन्न इभेन्टका खेल हुँदैछन् । ब्याडमिन्टनमा आज नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेल खेल्नेछ ।

गल्फ :

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट शुरु हुनेछ । गल्फको दोस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् ।

गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

आर्चरीः

आर्चरी खेल आजबाट शुरु हुँदैछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछन् । अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । आज र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।

आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीले सहभागिता जनाउनेछन् ।

तेक्वान्दो :

तेक्वान्दोतर्फ आज पनि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले केहि स्वर्ण जित्ने आशा गरेको छ । बुधबार नेपालले तेक्वान्दोमा दुई स्वर्ण जितेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments