महिला क्रिकेटमा चन्दको विश्व कीर्तिमान, विश्वकै तेस्रो सर्वाधिक छिटो जित
सोमवार, मंसिर १६, २०७६

काठमाण्डौ । आइतबार देखि शुरु भएको दक्षिण एसियाली खेलकुदको कुम्भ मेला १३ औं संस्करण अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गरेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्याे । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन् । यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ ।यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् ।
उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । र तेस्रो ओभरमा थप एक विकेट लिइन् । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन् ।
यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।
अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडी अन्जली चन्दको यस विश्व किर्तिमानको लागि नेपालपाटी हार्दिक बधाई ज्ञापन गर्दछ ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments