साग: बंगलादेशलाई हराएको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने

बिहिबार, मंसिर १२, २०७६



काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन नेपाल आइपुगेको भारतीय महिला भलिबल टोलीले आज नेपालसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपालले हिजो(बुधबार) भएको उद्घाटन  खेलमा बंगलादेशलाई ३–० ले सहजै पराजित गरेको थियो । विजयी सुरुवात गरेको नेपाली महिला भलिबल टोलीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भारतीय महिला भलिबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ  ।

भलिबल खेल अन्तर्गत आज हुने तीन खेलमा दुई खेल पुरुष अन्तर्गत र एक खेल महिला अन्तर्गत हुनेछ । तीन टोली सहभागी समूह ‘ए’बाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । अर्को समूहमा पाकिस्तान नआएपछि माल्दिभ्स र श्रीलंका मात्र छ र दुवै टोली सेमिफाइनल पुग्ने पक्का भइसकेको छ । यी दुई टोलीबीच आजै बेलुका ७ बजे खेल हुनेछ ।

त्यस्तै, पुरूष भलिबलतर्फ आज पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुँदैछ । समूह ‘बी’ मा रहेको पाकिस्तान र माल्दिभ्सबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । भारत र बंगलादेशले दिउँसो ३ बजे खेल्नेछन् । बंगलादेशले बुधवार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल ३–२ सेटले जितेको थियो ।

पहिलो खेलमै बंगलादेशसँग पराजित भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको नेपालले अब समूह चरण पार गर्न भारतलाई पराजित गर्नैपर्ने हुन्छ । भारतसँग पराजित भए जितविहीन हुँदै नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata