गणतन्त्र दिवस-२०७६ आज, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

संस्थागत हुँदैछ : राष्ट्रपति, जनतालाई अनुभूति दिलाउँदैछौं : प्रधानमन्त्री

बुधबार, जेष्ठ १५, २०७६



काठमाडौं । गणतन्त्र दिवस-२०७६ आज(बुधबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ०६५ जेठ १५ गते संविधान सभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

गणतन्त्रपछि लामो राजतन्त्र अन्त्य भएको छ । गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धि हो । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । मुलुकमा नयाँ संविधान जारी भई संघीयता कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै समृद्ध नेपाल–सुखी नेपालीप्रति सरकार अग्रसर रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रपतिको सन्देशमा गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था भएको सन्देशमा उल्लेख छ । ‘विश्वमै लोकप्रिय तथा समृद्ध पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले विकासको प्रस्थानबिन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा रहेको सन्देशमा उल्लेख गरेका छन् ।

‘हामीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएका छौं । संकल्प सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा छ, ‘गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो । जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य छ ।’

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा:

लामो समय (२३८ वर्ष) जरा गाडेर बसेको  शाह वंशीय राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि शुरु भएको छ ।

जहानियाँ राणा शासनको जगजगीका बेला स्थापना भएको नेपाली काँग्रेसले संविधानसभाबाट संविधान बनाई प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाएको थियो । वि.सं २००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरेपनि त्यो पुरा हुन सके न। वि.सं २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम  गर्न पाएन ।

राजा महेन्द्रले वि.सं २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासनको सूत्रपात  गरे ।

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको ३० वर्ष लामो सङ्घर्षका समयमा संविधानसभाको मुद्दा ओझेलमा पर्यो। विसं २०४६ चैत २६ गते राति प्रजातन्त्र पुनःस्थापना भयो साथै यसपछि विसं २०४८ मा संसदीय निर्वाचन भयो । तत्कालीन नेकपा (माओवादी)ले वि.सं २०५२ फागुन १ गतेदेखि शुरु गरेको सशस्त्र जनयुद्धका क्रममा संविधानसभाको मागलाई मुख्यरुपमा उठायो । काँग्रेसको पनि  ‘संविधानसभाको मुद्दा’ पार्टीकै पुरानो मुद्दा भएकाले द्वन्द्वको निकासका लागि सहमत हुनुपर्ने दबाब बढ्दै गयो । राजा ज्ञानेन्द्रले विसं २०६१ माघ १९ गते चालेकोे शाही कदमका कारण संसद्वादी दल र माओवादीकाबीच कार्यगत एकता भयो । फलस्वरुप विसं २०६२ मङ्सिरमा संसद्वादी दल र माओवादीकाबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्रका लागि आन्दोलन शुरु भयो ।

आन्दोलनको मूल मुद्दा वि.सं २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना हुनुपर्ने माग थियो । पुनःस्थापित संसद्बाटै संविधानसभा एवम् गणतन्त्रसम्मको यात्रा तय गर्न संसद्वादी दल र माओवादीबीच भित्री सहमति भएको थियो । कार्यवाहक राष्ट्राध्यक्ष र देशको कार्यकारी प्रमुखका रुपमा गिरिजाप्रसाद कोइरालाले विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरे । निर्वाचित संविधानसभाको वि.सं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata