सोचेर मात्र जाऔँ बिद्यार्थी भिषामा अष्ट्रेलिया

बिहिबार, कार्तिक २५, २०७३

loading...

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने त बाबुआमालाई ‘सोसाइटी’मा नै नपर्ने डर समेत हुने भईसक्यो।

छिमेकी अनि नातेदारका छोराछोरीले अष्ट्रेलिया गएर काठमाडौं वा देशका अन्य शहरमा घर किनेको बाबु आमाको लागी गर –गहना अनि गाडी जोडेको कुराहरू ‘एककान दुईकान मैदान’ हुने भएपछी अलिक हुनेखाने (२०–२५ लाख लगानी गर्न सक्ने) जति सबैलाई छोराछोरीलाई अष्ट्रेलिया पठाउनु एउटा अनिवार्य आवश्यकता बनिसक्यो। हुन पनि देश २५–३० वर्ष देखी ओरालो लागेको लाग्यै छ, न कुनै आर्थिक उन्नती छ न त विकासको कुनै संकेत नै देखिन्छ। नेपालमा बसेर ‘डिप्रेसन’को शिकार हुनुभन्दा विदेशको यात्रा नै ठिक छनौट भन्ने परिसकेको छ। त्यसैपनि हाम्रो बिचमा चलेकै छ ‘ मर्ता क्या न कर्ता‘!’

काठमाडौं मात्र होईन नेपालका छोटाबडा शहरमा यतिखेर हरेक ‘प्लस टु’ सकेको युवाको चाहना अष्ट्रेलियाको कलेजमा पढ्दै काम गर्ने हुन थालेको छ। ताकी ‘बलिउड’का फिल्मको हिरोको जस्तो जिवनशैली होस्। सम्पन्न, सुखी अनि सुन्दर। तर अष्ट्रेलियाको कहानी विद्यार्थीका लागी अर्कै छ। नेपालमा सोचे, देखेको जस्तो ‘चार्मिङ’ छैन।

अष्ट्रेलिया नेपालबाट हेर्दा र देख्दा जस्तो छ विद्यार्थीका रूपमा छिर्नेका लागी त्यती सहज छैन। न योजना बनाएर ‘आईएलटीएस’को तयारी गरेका र काठमाडौंका ‘कन्सल्टेन्सी’ धाएकाहरूको नै सजिलो हुनेवाला छ। काठमाडौं तथा अरू मुख्य शहरका ‘एजुकेशन कन्सल्टेन्सी’को ब्यानरमा अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजका कोर्ष बेच्न बस्नेहरूको सुझाव र मार्केटिंग रणनीतिको ‘ओभर डोज’बाट बाहिर मुक्त भएर आफ्नो भविष्यको योजना, करिअर र आफ्नो आर्थिक हैसियत बुझेर मात्र अष्ट्रेलियाको सपना देख्न र ‘कन्सल्टेन्सी’ धाउन उपयुक्त हुन्छ। किनभने अष्ट्रेलियामा विद्यार्थीका रूपमा आएर यहाँ सेटल हुनका लागी चार कुरा तपाईं वा तपाईंका सन्तानमा हुनै पर्छ पहिलो राम्रो अंग्रेजी (कम्तिमा पनि प्रत्येक ब्याण्डमा ६ वा माथी), काम गर्न दुख गर्न सक्ने क्षमता (धेरै काम सुरूमा शारिरीक हुनसक्छ), राम्रो आर्थिक अवस्था (कम्तिमा पनि ३० देखी ४० लाखको खर्च एक दुईवर्ष धान्न सक्ने) र चरित्र (अष्ट्रेलियामा आईसकेपछी जाँडरक्सी, लागुपदार्थ, जुवा, वेश्यावृत्ति जस्ता यहाँको खुला समाजमा स्वीकार गरिएका गतिविधीमा लागेर अलमलिने संभावना बढी हुन्छ ) ।

यी सँगै तलका मुख्य दुई कुरामा पनि नेपालमा रहँदा नै जानकार हुनु  उपयुक्त हुन्छ। यी कुरा यस्ता हुन् जुन तपाईंलाई ‘एजुकेशन कन्सल्टेन्सी’ वा साथीभाई आफन्तले बताउँदैनन्।

१.चर्को आर्थिक दवाव र परिवारको अपेक्षा
अष्ट्रेलियामा विद्यार्थीका रूपमा आउने नेपाली युवाहरूमाथी सुरू देखी नै चर्को आर्थिक दबाब हुन्छ, सबैलाई थाहा भएको कुरा हो। हरेक ३ देखी ४ महिनामा ८ देखी १० हजार डलर कलेज वा विश्वविद्यालयलाई फि तिर्नु सानो कुरा होईन। यहाँका अष्ट्रेलियनलाई यस्तो दबाब हुँदो हो त यहाँ विश्वविद्यालय भन्दा धेरै चिहान हुन्थे होलान्।

आत्महत्याको दर पनि उत्पातै बढ्थ्यो होला। नेपालबाट सुरूको दुई तिन महिनाको लागी खर्च बोकेर आउने अनि यहाँ खान बस्न देखी फि सबै जोगाड गर्न निक्कै नै गारो काम हो। त्यसमा पनि विद्यार्थीले काम पनि कम पाउँछन् र काम बापतको पैसा पनि धेरै नै थोरै हुन्छ। १२ देखी १५ डलरमा काम गरेर कहिले साताको खर्च पुरयाउने अनि कसरी १० हजार जम्मा पार्ने। त्यसमाथी नेपालमा लिएको ऋण र त्यसको ब्याज छुट्टै छ। घरमा आमाबाबुले पनि घरबार नै बैंकमा राखेकोले पैसा पठाउन दिने दबाब पनि कम हुँदैन। आफूलाई पैसाको खाँचो जति भएपनि दिन २४ घण्टा कै हो र शरिरीक क्षमता पनि उही हो।

२. बच्न सक्नुपर्छ लागुपदार्थ, जुवा र दुर्व्यसनीबाट
अष्ट्रेलियामा आएपछी धेरै १८ देखी २५ वर्षका युवाहरू साथी संगतको कारण रक्सी, चुरोट देखी लागुपदार्थको लतमा लाग्ने गरेको पाईन्छ। मदिरा यहाँको जिवनशैलीको अभिन्न अंग भएपनि नेपाली शैली भनेको चैं ‘घ्याम्पे’ नै हो। जसले दिनभर शारिरीक श्रम गरेर फर्केको मानिसलाई राम्रो नगर्न सक्छ। मदिरा र चुरोट सँगै ‘गाँजा’ नेपाली युवाका बीच अर्को लोकप्रिय ‘पदार्थ’ हो।

नेपालमा गाँजा खान थालेको छोरा(छोरीलाई सिड्नीमा गाँजा तान्न कसैले छेक्न सक्दैन। धेरै नेपाली युवा ‘विकेण्ड’ गाँजाको धुवाँदार नै बित्ने गरेको छ सिड्नीमा। त्यसो त यहाँका वेश्यालय र जुवाघरमा पनि उल्लेख्य युवा सहभागिता देखिन्छ। जसको कारण कतिपयको हप्ताको कमाईको ठुलो अंश ‘क्रेडिट कार्ड’को ऋण चुक्ता गर्नमा लागिरहेको हुन्छ। काठमाडौंबाट सपनाको पछी लागेर आएको सन्तान यता संगतको पछि लाग्यो भने त्यसले भवितव्य पनि निम्त्याउन सक्छ।

716 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv