सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै महिला

बिहिबार, कार्तिक २५, २०७३

loading...
रामपुरकी तुल्सी खनाललाई आफ्नै सीप र मेहनतले आत्मनिर्भर बनाएको छ । उनी मात्र होइन सीप सिकेर स्वावलम्बी बन्ने कार्यमा हिजोआज जिल्लाका अन्य महिलाको अग्रसरता बढ्दो छ । विभिन्न आयआर्जनमूलक सीपको विकासले महिलामा परनिर्भरता हट्दै गएको हो ।

विगत दुई दशकदेखि सिलाइ कटाइको काम गर्दै आएकी खनालको व्यवसाय अहिले सबैको रोजाइ र आकर्षण बनेको छ । तीन हजार ५०० मा एउटा मेसिन किनेर सुरु गरेको व्यवसायमा सीपको विकास गर्दै राम्रो सेवा दिनुभएकी खनालले अहिले मासिक ६० हजारभन्दा बढी आम्दानी गरेकी छिन् ।

उनले भनिन – “काम राम्रो भयो भने व्यवसाय बढ्ने हो, दिनहुँ ३० भन्दाबढी ग्राहकको भिडले एकछिन फुर्सद हुन्न ।” तीनजनालाई रोजगारी दिनुभएकी खनालले सिलाइसँगै अहिले फेन्सी पसल सञ्चालन गरेकी छिन् ।

काम गर्दै जाँदा सीप विकास बढ्दै जाने उनको अनुभव छ । एक जोडी कुर्ता सुरुवाल सिलाएबापत ३०० देखि ४०० सम्म पर्छ । दिनमा एक व्यक्तिले छ जोडीसम्म सिलाउने गरेका खनालको भनाइ छ । उनले यही व्यवसायबाट ३२ लाखको लागतमा पक्की घर निर्माण गरेकी छिन् ।

यसैगरी स्नातक तह पढ्दै गर्नुभएकी माया भण्डारीले पढाइ छोडेर सिलाइ कटाइको काम गर्दै आएकी छिन् । नौ महिनासम्म तालिम लिएर एक लाखको लगानीमा व्यवसाय गरेकी भण्डारीले अहिले आठजनालाई सिलाइ कटाइको तालिम दिँदै आएकी छिन् । सिलाइबाट मात्र मासिक २० हजार बराबरको आम्दानी गर्छिन । “आफ्नै सीपमा व्यवसाय चलाएपछि आम्दानी राम्रै भएको छ,” उनले भने ।

यस्तै जुबिदा अञ्जुमलाई पनि सिलाइ कटाइले आत्मनिर्भर बनाएको छ । विगत छ वर्षदेखि व्यवसाय गरेकी अञ्जुमले तीनजनालाई रोजगार दिँदै आएकी छिन् । “मासिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ,” उनले भनिन । महिलालाई सीपको प्रयोगले आत्मनिर्भर बनाएको छ । दैनिक रुपमा मनग्य कमाइ गर्न सक्ने भएपछि धेरै महिलाले आम्दानीको स्रोत बढाउँदै गएका छन् । रामपुरको बजार क्षेत्रमा मात्रै ५० भन्दाबढी महिला यस व्यवसायमा संलग्न छन् ।

554 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv