सिक्टा सिँचाइको पानी नेपालगन्ज पुग्यो

शनिबार, मंसिर २१, २०७६



राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगन्ज पुगेको छ। पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगन्ज उपमहानगरपालिका-२० स्थित राँझामा पुगेको हो। डुडुवा शाखा नहर पप्पु कन्ट्रक्सनले सम्झौता अनुरुप निर्माण नगरे पनि खोलालाई मर्मत गरेर पूरानै संरचनामा पानी सञ्चालन गरिएको आयोजनाका डिभिजन इन्जिनियर एकराज भट्टराईले जानकारी दिए।

उनले भने, ‘एक्जाभेटरले नहर सफा गर्दै पानी सञ्चालन गरेका हौं। किसानले पम्पिङ गरेर भए पनि सिँचाइ गर्न सक्नेछन्।’ अब डुडुवा मुल नहरबाट पुरैनी उपशाखाबाट नेपालगन्ज क्षेत्रमा र इन्द्रपुर उपशाखाबाट जानकी गाउँपालिकाका विभिन्न क्षेत्रमा सिँचाइको पहुँच हुनेछ।

डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरा गाउँपालिकामा पनि पानी पुगेको छ। शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पानी सञ्चालन गरिएको छ। आइतबारसम्म पुरैनी उपशाखामा पनि पानी सञ्चालन गर्ने सिक्टा सिँचाइ आयोजनाको तयारी छ। खोलामा पानी सञ्चालन भएको थाहा भएपछि ठाउँठाउँमा किसानले पम्पिसेटको प्रयोगबाट गहुँमा सिँचाइ गरिरहेका छन्।

डुडुवा शाखा नहर निर्र्माण नभए पनि किसानलाई गहुँ सिँचाइ गर्न मिल्ने गरी पानी छोडिएको आयोजनाले जनाएको छ। कोहलपुर नगरपालिका-१५ पार्वतीपुरमा भेटिएका बलिराम हरिजनले पूर्वजानकारी बिना नै नहरमा पानी छोड्दा सात आठ विगाहा क्षेत्रफलको गहुँ र मसुरोमा क्षति पुगेको बताए। नहरको पार्वतीपुर क्षेत्रमा चार जना मजदुर नहरमा बोराको बाँध बाँधेर पानी नेपालगन्जतिर पठाइरहेका थिए।

१७ मंसिरदेखि सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको पूरै क्षेत्र ४५।२५ किलोमिटरमा नियमित पानी सञ्चालन भइरहेको छ। १८ मंसिरमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलगायतको टोलीले सिक्टाको पश्चिमी नहरमा पानी सञ्चालनको स्थलगत अवलोकन गरेका थिए।

यस अघि कार्तिकको तेस्रो साता सिक्टाको पश्चिमी नहरको स्थलगत अवलोकन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले नहरमा मर्मत गर्दै पानी सञ्चालन गर्न निर्देशन दिएका थिए। मन्त्रीको निर्र्देशनपछि पश्चिमी नहरको मर्मत गर्दै सुरूमा एक घनमिटर हुँदै अहिले तीन घनमिटर पानी सञ्चालन भइरहेको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments