राष्टपति सी’को भ्रमणका क्रममा ६० शङ्कास्पद व्यक्ति पक्राउ

आइतवार, अशोज २६, २०७६



काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्दै हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। तर मानवअधिकारकर्मीहरूले भने त्यसलाई संविधान र मानवअधिकार विपरीत भन्दै ‘निर्दोष’ मानिसलाई प्रक्राउ गरिएकोमा आपत्ति प्रकट गरेका छन्।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विश्वराज पोखरेलका अनुसार राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

उनले भने, “हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ। र, ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने बाँकी अन्य माथि अनुसन्धान जारी छ।”

सुरक्षा सतर्कता

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने पूर्वानुमान अनुसार नै उच्च सुरक्षा सतर्कता बढाइएको प्रहरीको भनाइ छ।

खासगरी तिब्बती शरणार्थीहरू बसोबास गर्ने शिविरहरू र उनीहरूको उपस्थिति हुने क्षेत्र तथा विरोध जनाउन सक्ने सम्भावित क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये केहीबाट ‘स्वतन्त्र तिब्बत’ अङ्कित टिसर्ट, झोला र ब्यानर बरामद भएको महानगरीय प्रहरीले जनाएको छ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले भने, “सरकारले आफ्नो अ-क्षमता ढाकछोप गर्न निर्दोष मानिसहरूलाई आतङ्कित पार्ने काम गरेर आवश्यकता भन्दा धेरै प्रतिक्रिया व्यक्त गरेको छ।”

उनका अनुसार विशिष्ट पाहुनाहरूको सुरक्षाका नाममा नेपालमा रहेका शरणार्थीलाई त्रसित पार्ने काम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी नेपालको प्रतिबद्धता विपरीत छ।

“सीको भ्रमण ऐतिहासिक हो। यसको सबैले स्वागत गर्नुपर्छ। तर बिना कारण पक्राउ गरिनुले न त नेपालको छवि राम्रो हुन्छ न त चीनको नै,” उनले थपे।

बोल्न चाहेनन्-तिब्बती शरणार्थी समुदायका अगुवाहरू

काठमाण्डूमा रहेका तिब्बती शरणार्थी समुदायका अगुवाहरूले पछिल्ला पक्राउ र सीको भ्रमणबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।

सन् १९५९ मा चीनले तिब्बतलाई नियन्त्रणमा लिए यता दशौँ हजार तिब्बतीले नेपालमा शरण लिएको बताइन्छ।

देशभरका विभिन्न ठाउँमा रहेका १२ वटा शिविरमा हाल १२ हजार पाँच सय शरणार्थीहरू रहेकोमा सबैभन्दा धेरै काठमाण्डू र पोखरामा रहेको लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले यसअघि बीबीसीलाई जनाएको थियो।

नेपालले एक चीन नीति मान्ने भन्दै नेपाली भूमिबाट चीन विरोधी कुनै पनि क्रियाकलाप हुन नदिने बताउँदै आएको छ। (बीबीसी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments