‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फ मेस्सी, महिलातर्फ मेगान

मङ्लबार, अशोज ७, २०७६



एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी फिफा ‘प्लेयर अफ दि इयर’ को उपाधि जित्न सफल भएका छन् । सोमबारराति इटालीको मिलानमा आयोजित विशेष समारोहमा अर्जेन्टिनी फुटबल स्टार मेस्सीलाई फिफा ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि प्रदान गरिएको हो ।

उनले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् ।

मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । सो क्रममा उनले ५० खेल खेल्दा ५१ गोल गर्नुका साथै २० गोलका लागि पास उपलब्ध गराएका थिए ।

उनी ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । मेसी यो उपाधि सबैभन्दा धेरै पटक जित्ने फुटबलर समेत बनेका छन् । उनीपछि पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन् ।

अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोरासहित गएका थिए । उपाधि जितेपछि बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरेका थिए । उनले उपलब्धि आफ्नो टोलीको योगदानका कारण सम्भव भएको बताए ।

महिलातर्फको उपाधि अमेरिकी फुटबलर मेगान रापिनोले जितेकी छन् । उनले अमेरिकालाई यसै वर्षको महिला विश्वकप फुटबलको उपाधि दिलाएकी थिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments