प्रतिबन्ध पछी मेस्सी पुन: राष्ट्रिय टिममा फर्किए

शुक्रबार, कार्तिक १५, २०७६



एजेन्सी । कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति दिएपछि तीन महिने प्रतिबन्ध झेलेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाउँदै मेस्सीले त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

सो विवादित अभिव्यक्तिपछि उनलाई कोपा अमेरिकाले तीन महिना कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए ।

उनी आगामी महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि टिममा परेका छन् । प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा र उरुग्वेसँग १८ नोभेम्बरमा इजरायलमा प्रतिस्पर्धा गर्दैछ ।

उनी यसअघि ६ जुलाइमा कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata