पूर्वराजदूत झा हत्याका अभियुक्त तामाङ जेल चलान

बिहिबार, भदौ २६, २०७६



काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या अभियोगमा पक्राउ गरेका कान्छाराम तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार हत्या अभियोगमा अदालतको आदेशले उनी जेल चलान भएका हुन ।

तामाङलाई दुई साता अघि काठमाडौं प्रहरी परिसरले काभ्रेबाट पक्राउ गरेको थियो । ४ भदौ २०७५ मा झाको आफ्नै घरभित्र राति चक्कु प्रहारबाट हत्या भएको थियो ।

हत्या लगत्तै अनुसन्धानका लागि तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेपनि अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

तर तामाङविरुद्ध झा पत्नी ज्ञानु झाले काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएपछि तामाङलाई दोस्रो पटक पक्राउ गरेको थियो । डिएसपी बोगटीका अनुसार तामाङले तलबको बिषयलाई लिएर झासँग असन्तुष्टि भएपछि हत्या गरेको खुलेको हो । उनलाई सुन्धारा कारागार पठाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata