पाकिस्तानमा इमरानको जित, गठबन्धन सरकार बन्ने

शनिबार, साउन १२, २०७५



काठमाडौं  । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ ।

सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । खानले भने आफ्नो दल विजयी भएको विहीबार नै घोषणा गरेका थिए ।

पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने संघारमा छन् । खान आक्रमक, कठोर र कुशल कप्तानका रूपमा चिनिन्थे । भारतका पूर्व क्रिकेटकर कपिल देवलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द टाइम्स् इण्डियाले लेखेको छ, ‘इमरान एउटा कठोर कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले निकै राम्रो गरेको थियो । म आशा गर्छु, उनले पाकिस्तानको प्रधानमन्त्रीका रुपमा पनि राम्रो काम गर्नेछन् ।’

हुन त क्रिकेटमा जस्तै राजनीतिमा पनि उनी बोल्ड र चातुर्यपूर्ण लिँदै आएका छन् । १९९६ मा गठन भएको (पिटिआई) ले सन् १९९७ को चुनावमा एउटा पनि सिट जितेन भने २००२ मा भएको दोस्रो चुनावमा खान मात्र विजय भएका थिए । उनी निराश देखिएनन् । बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रमक निर्णयसहित राजनीतिको मैदानमा डटि रहे । धाँधलीको आरोपमा पिटिआईले २००८ को चुनावनै बहिष्कार गऱ्यो । सन् २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्तिको रुपमा उदायो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रुपमा उठाउँदै आएका उनले यसपटको चुनावमा ‘नयाँ पाकिस्तान’ को नारासहित जित हासिल गरेका छन् ।

६५ वर्षीय खान पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ । आज प्रकाशित भारतीय अखबारका सामग्रहीहरु पनि तिनै त्यही चिन्ता र आशंकामा केन्द्रित थिए । विशेषगरी खान र उनको पार्टी पिटिआईलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषक र अधिकारी बढी नै चासो देखिन्छन् । त्यो चासोका पछाडि भारतीय संस्थापनको पूर्वप्रधानमन्त्री नवाज सरिफप्रति नरम दृष्टिकोण हुनु पनि हो ।

सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाई छ । विशेषगरी खानले सरकारको नेतृत्व गरे पनि विदेश र आन्तरिक मामिलामा सैनिक नेतृत्व हावी हुने आशंका दिल्लीको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata