‘डाइपर’को बटम बनाएर ल्याइयो आधा किलो सुन

सोमवार, असार २३, २०७६



सुन तस्करीका लागि तस्करले अनेक तरिका अपनाइरहेका बेला डाइपरको बटम बनाएर सुन ल्याउँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

कतारको दोहा हुँदै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका मोरङका लीलाबहादुर बस्नेतलाई प्रहरीले डाइपरमा बटम बनाएर ल्याइएको आधा किलो सुनसहित पक्राउ गरेको हो ।

प्रहरीसमेत सुन तस्करीको सो रणनीतिबाट चकित परेको छ । पहिलोपटक बच्चाले लगाउने डाइपरमा लुकाएर सुन ल्याएको भेटिएपछि तस्करले सुन तस्करीका लागि नयाँ नयाँ तरिका अपनाउने गरेको तथ्य खुलेको हो ।

प्रहरीले यसअघि समेत त्रिभुवन विमानस्थलबाटै मलद्वारमा सुन लुकाएर ल्याउने तस्करीलाई समातेको थियो । यस्तै, जुत्तामुनि लुकाएर ल्याइएका तथा विभिन्न प्रकारका गहनालाई लेप लगाएर वा नक्कली कभर बनाएर ल्याइएका सुनका गहनासमेत प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो ।

यसैगरी, तस्करले सुनलाई निल्ने र पछि निकाल्ने उपाय समेत अपनाउँदै आएको पाइन्छ । आइतबार भने प्रहरीले विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित बस्नेतलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले प्रहरीले विशेष सुराकीका आधारमा बस्नेतलाई विमानस्थलबाट बाहिरिएपछि पक्राउ गरेको बताए ।

प्रवक्ता बोगटीले बस्नेतले २२ वटा डाइपर ल्याएको र त्यसमा कूल १ सय ७५ वटा सुनका बटम लगाइएको बताए । प्रत्येक डाइपरमा आठ–वटा बटम लगाइएको र एउटा डाइपरमा भने सातवटा मात्रै बटम रहेको उनले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेसन टोलीले उनलाई विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata