कांग्रेसमा नियमावलीको विवाद

बुधबार, साउन १, २०७६



कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ।

अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए। त्यसलगत्तै सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो।

पाँच सदस्यीय समितिमा देउवाइतरका प्रदीप पौडेल र जीवन परियार सहभागी छन्। परियारले केन्द्रीय बैठकमा असन्तुष्टि राखेका थिए।

अर्का सदस्य पौडेलले मस्यौदामा रहेका कतिपय विषय समितिमा छलफलै नभएको बताए। सक्रिय सदस्यलाई लेबी तिराउने, अनुशासनको प्रावधान, नीति तथा अनुसन्धान प्रतिष्ठानबारे नयाँ व्यवस्थासहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केही मुद्दा नियमावलीमा राखिएको छ। यही विषयलाई लिएर असन्तुष्टि देखिएको हो।

सभापतिले विवादित विषय तत्काल परिमार्जन गरी सर्वसम्मत तरिकाले नियमावली बनाउन निर्देशन दिए पनि समिति छलफलमा जुटेको छैन।

‘सभापति पक्षको नियतै सफा देखिएन’, नेता सिटौलाले भने, ‘पार्टीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पार्टीको नियमावली ल्याएको देखिन्छ।’ यस्तो मस्यौदा स्वीकार्य हुनै नसक्ने उनले बताए। मैले अस्तिकै बैठकमा एक्लै भए पनि नोट अफ डिसेन्ट लेख्छु भनेकै हुँ’, उनले भने, ‘पछि उहाँहरूले समितिमा पठाएर सबै मिलाएर ल्याउने भन्नुभयो। हेरौं के गर्छन् ?’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata