हरिणको शिकार गर्दा गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान

शुक्रबार, चैत्र २३, २०७४

loading...


काठमाडौं । हिन्दुस्तान पत्रिकामा छापिएको खबर अनुसार सलमान खानले सिकार खेलेको गाउँवासीले देखेका थिए तर उनले उनीहरूलाई बन्दुक देखाएर भागेका थिए ।

प्रत्यक्षदर्शीको भनाइमा आधारित खबरमा सो पत्रिकाले लेखेको छ सलमान भाग्न थालेपछि उनलाई केही व्यक्तिले मोटरसाइकल चढेर लखेटेका थिए, तर उनी बन्दुक सोझ्याउँदै आफ्नो जिपमा भाग्न सफल भए।

उनीहरूले त्यो जिपको नम्बर टिपेर उजुरी गरेका थिए।

बिहीवार भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको हो।

‘हम साथ साथ हैं’ नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।

जोधपुरस्थित अदालतबाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौँ प्रहरी तैनाथ गरिएका थिए। सोही मुद्दामा आरोपित अन्य चार कलाकारहरूलाई भने अदालतले निर्दोष ठहर गरेको छ।

जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ। उनलाई अब जेल लगिनेछ। बाउन्न वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन्।

तर संवाददाताहरूका अनुसार त्यसका लागि उनले कम्तीमा केही दिन जेलमा बिताउनुपर्नेछ। यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा चाहिँ सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो।
बीबीसी

149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank