अभावले जोडेको सम्बन्ध

मङ्लबार, पुस ५, २०७३

loading...


म ती दिनहरूमा अप्ठेरोमै थिएँ । आर्थिक रूपमा । तिनै अप्ठेरा दिनहरूमा मसित एक जना साथीले रिन मागिदिए । जोगीको घरमा संन्यासी पाहुना भनेझैँ स्थिति पैदा भयो । म आफैँ समस्यामा थिएँ । मैले ढिला गरिनँ उनलाई यो सुनाउन । उनले पनि ढिला गरेनन्, आफ्नो समस्याको विस्तृत विवरण खुलाउन। उनको समस्या सुनिसकेपछि प्रस्ट भो, हामी दुवैको उस्तै हाल थियो, तर उनको समस्या मेरो भन्दा अलिक विकराल थियो । मैले आफ्नो समस्या उनलाई सुनाइनँ ।

साथी हुन्, बेलामा काम आउन सकिनँ भने उनी पनि मलाई परेका बेला कसरी काम आउलान् ? यहि सोचेर, जे–जति सम्भव थियो जुटाएर उनलाई दिएँ । आफ्नो गोजी टकटक्याएर दिएँ । मित्र खुसी भए । म झन् खुसी भएँ । कसैबाट केही सित्तैँमा पाउनुले भन्दा कसैलाई केही दिनुले बडो आनन्द दिन्छ । म त्यो आनन्दलाई जाडोयाममा तापिने घामझैँ तापिरहेको थिएँ । तर मैले तापिरहेको आनन्दमा नमीठो सिरेटोले तब हान्यो जब मैले थाहा पाएँ कि मित्रले ठाउँ–ठाउँमा मेरा बारेमा मसँग प्रशस्त पैसा छ भन्दै हिँडेछन् । मैले अकुत कमाएको छु । भएर त दियो । टन्नै छ र त दिन सक्यो ।

त्यसपछि मसँग पैसा माग्न आउनेहरूको ताँती लाग्यो । मलाई बडो उदेक लाग्यो । तैपनि चुप लागेँ । मनमनै रिस उठिरहेको भए पनि त्यसलाई पैतालाले कुल्चिरहेँ, तर समयको प्रवाहसँगै त्यो रिस मुसोझैँ कुनै दुलो खोज्दै लापत्ता भैसकेको थियो ।

मित्रले रिन तिरेकै वर्षौं भैसकेको थियो, तर मैले कमाउन सकिरहेको थिइनँ । मेरो कमाइ कम भए पनि स्वाभिमान यति उँचो थियो कि कहिल्यै हात फैलाउनु परेन र मन यति दह्रो थियो कि कहिल्यै खुम्च्याउन परेन । मित्र फेरि एक दिन मेरो घरमा आइपुगे । म खाइरहेको जागिर छाडेर फुर्सदमा बसेको थिएँ । पुराना कुरा उसै पनि बिर्सिसकेको थिएँ । यस पटक पनि उनले पैसा मागे । उनको अप्ठेरोपन सुनेँ । यसपटक उनीभन्दा म आफैँ अप्ठेरोमा थिएँ । म उनको काम आउन सकिनँ, किनभने म आफैँ बेकामको थिएँ ।

मित्र रिसाएर गए यो पटक । यसपालि उनले हल्ला फिँजाए, भएर पनि दिएन । लोभी । स्वार्थी । यस्तै–यस्तै सुन्नमा आयो । उनलाई गरेको सहयोग, लगाएको गुन, हामीबीचमा भएको सम्बन्ध सबै एकैपटकमा ध्वस्त भयो ।

०००
एउटा सम्बन्ध यसरी सकियो । अभावले जोडेको सम्बन्ध थियो त्यो, अभावले नै तोड्यो । जसको दु:खमा म काम आएको थिएँ, उसैले दु:खी बनाएर गयो ।

०००
कसैलाई केही दिइन्छ भने सधैँ त्यो आफूसित प्रशस्त भएर, उब्रेर दिइन्न । के थाहा न गाँस काटेर दियो । किन सोच्दैनन् कि नभै–नभै, उसैका लागि, उसको दु:ख सम्झेर दियो भनेर । उसको आग्रहलाई टाल्न नसकेर दियो होला भनेर किन नबुझेको ? खोजखाज, दौडधूप गरेर, उसको अभावपूर्ति गर्न आफूले दु:ख बेसाएर दियो भनेर किन सोच्दैन मान्छे ?

कसैको एउटा काम आउन आफ्नो अनगिन्ती निद हराम भएको हुन सक्छ । कहिलेकाहीं कसैको इच्छा पूरा गरिदिन खोज्दा आफ्ना रहरहरू अधुरा भैदिन्छन् । मान्छेले यो कहिल्यै बुझ्दैन ।कसैले भएर दियो भन्न सक्नेले किन यो भन्न सक्दैन कि नभएर दिन सकेन ? सयौँ गुन लगाउनुस्, मान्छेले तुरुन्तै बिर्सिन्छ । एक बैगुन, चाहे त्यो झुक्किएरै किन नलागेको होस्, सधैँ बिझिरहन्छ । चन्द्रमालाई दागसहित स्विकारेर सुन्दर भन्न सक्ने समाज मान्छेलाई एकाध बैगुनसहित स्वीकार गर्न किन सक्दैन ? – सुविन भट्टराई /कान्तिपुर साप्ताहिकबाट

479 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom