‘म हराएकी छैन दर्शक स्रोतालाई हराएको जस्तो लागेको मात्र हो’ : कुन्ती मोक्तान

शुक्रबार, असार २, २०७४

loading...


नेपालको साङगीतिक क्षेत्रमा गायिका कुन्ती मोक्तालाई कुनै परिचयको आवश्यकता पर्दैन ।  कुन्ती मोक्तानको साङगीतिक क्षेत्रको योगदानको चर्चा गर्न जो कोहीले सक्दैन पनि । कारण उनले जे जति पनि गीतहरू गाएकी छिन   ती सबै लोकप्रिय अनि कर्णप्रिय बनेका छन् ।नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका लोकप्रिय गीतहरुमा ‘खुट्टा तान्दै गर’, ‘माथि माथि सैलुङ्गेमा’ र ‘निष्ठुरी मायालु’ जस्ता गीतहरू रहेका छन् ।  यी उनका अत्यन्तै मनपराईएका गीत हरू हुन। प्रख्यात गीतकार शिलाबहादुर मोक्तानसंग विवाव वन्धनमा बाधिएकी  कुन्ती  मोक्तानको जन्म भारतको दार्जिलिङमा भएको थियो । उनी १९८३ मा संगीतमा आफ्नो करियर बनाउनका लागि नेपालको राजधानी काठमाडौं आइन्  र नेपाली सांगितिक आकाशमा निकै नै छाइन । के युवा के बालक के वृद्ध सबैको मुखमा कुन्ती मोक्तानको गीत झुन्डिन्थ्यो तर पछिल्लो समयमा उनी संगीतको क्षेत्रमा हराउँदै गएको पाइएको छ । आखिर किन हराईन त चर्चित गायिका कुन्ती मोक्तान नेपाली सांगितिक आकाशबाट ? यहाहरुको यो जिज्ञासालाई मेटाउन नेपालपाटी डटकमका लागि जनार्जन पौडेल र कमल फुयालले लिएको अन्तवार्ता यस प्रकार रहेको छ ।

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा हराउनुभयो नि ?
खासमा म हराएको भने होइन,पहिलेको तुलनामा पछिल्लो समयमा मेरो एल्बम  आउन ढिला भएकाले दर्शक,स्रोतालाई हराएजस्तै लागेको हुनुपर्छ  ।  त्यसमा विभिन्न कारणहरू पनि रहे ।

पहिले र अहिलेको दर्शक स्रोतामा के फरक देख्नु भएको छ ?
फरक त पक्कै हुन्छ, त्यसमा पनि प्रविधिको फरकपन बढीरहेको छ । पहिलेपहिले  सीडी, क्यासेट किनेर सुन्नेहरु पाइन्थे भने अहिले त्यहि कुरा युट्युवमा सर्च गरेर हेर्न थालेका छन् । सिडी बिक्रीबाट आम्दानी हुन छाडेको छ  जे होस  नयाँ काम गर्नुपर्छ । आफ्नो कामलाई निरन्तरता दिनुपर्छ भन्ने पनि सोचेर नयाँ एल्बम गर्दै आएको छु ।

त्यसो भए हराउनुभएको चाहिं होइन ?
होइन । म हराएकी छैन । किनभने यही क्षेत्रमा लागियो । अझै पनि यही क्षेत्रमै केही गर्ने धोको छ ।  राम्रो संगीत सुन्यो भने त्यही सुनिरहूँजस्तो लाग्छ । त्यसैले संगीतप्रतिको रुचि कम भएको होइन ।

shila

 तपाईंलाई चर्चाको शिखरमा पुर्याउने गीत चाहिँ कुन हो ?
मेरो आफ्नो स्पेसल यही गीत हो भन्न म चाहन्नँ । तर म जुन गीत गाउँछु, त्यो गीतले मनलाई छोओस् । त्यो गीतमा नेपालीपन् होस् । नेपाली दाजुभाइ दिदीबहिनीहरूले सुन्दा पनि यो कुन्ती मोक्तानको गीत होइन, यो हाम्रो गीत हो भनेर सोच्ने खालको गीत होस् भन्ने मेरो सोचाइ हो ।

संगीतकार शीलाबहादुर मोक्तानसँग कसरी  भेट भयो ?  
शास्त्रीय संगीत सिक्ने क्रममा हामी दुई जनाको भेट भएको थियो । हामीले सँगै संगीत सिकेका थियौं । उहाँ संगीत गर्नुहुन्थ्यो मैले पछि गीत गाउन सुरु गर्दा उहाँकै गीतबाट गाउन सुरु गरेको हो । त्यसपछि हाम्रो भेटघाट बढ्दै गयो, एकअर्काबीच मन परापर हुँदै गयो । पछि २०४० सालतिर हामी विवाह बन्धनमा बाँधियौं ।

तपाईंहरूको प्रेम विवाह हो नि ! पहिले प्रस्तावचाहिं कसले राख्नुभयो ?
त्यस बेला अहिलेको जस्तो ‘हट ब्रेक’ भन्ने चलन थिएन । प्रस्ताव राख्नलाई ‘भ्यालेन्टाइन डे’ नै कुर्नुपर्छ भन्ने चलन थिएन । भ्यालेन्टाइन डे मनाउने चलन पनि थिएन । त्यस बेलाको हाम्रो प्रेमलाई मौन प्रेम भन्छु म । एकअर्कालाई मिस गरेको हुन सक्छ तर हामीले प्रस्तावचाहिं राखेनौं । आफ से आफ हामीबीचको माया बढ्दै गएको हो ।

‘लव लेटर’हरू कत्तिको लेख्नुभयो नि ?
त्यस बेला चिठ्ठीपत्र लेखिन्थ्यो । अहिलेको जस्तो सामाजिक सञ्जालहरूको सुविधा पनि थिएन । मोबाइल फोनको सुविधा पनि थिएन । छिन–छिनमा भेट्ने अवस्था पनि थिएन । मात्र हुलाक मार्फत चिठ्ठी पठाउनुपथ्र्यो । महिनौं लाग्थ्यो पत्रको जवाफ आउनलाई । संगीत कक्षामा देखभेट भए पनि मनको कुराचाहिं हामीले चिठ्ठी मार्फत पोख्थ्यौं ।

त्यति बेला आप्नो मन पर्ने मान्छेको चिठ्ठी छिट्टै आइदिए हुन्थ्योजस्तो लाग्दैनथ्यो ?
लाग्थ्यो नि, एक जना पोस्टम्यान हुनुहुन्थ्यो, उनलाई मैले मामा भन्ने गरेकी थिएँ । उहाँले गाउँभरिको चिठी ल्याएर बाँड्ने गर्नुहुन्थ्यो । उहाँ आउँदा कतै मेरो चिठी आएको छ कि भनेर सोध्ने गर्थें । कहिलेकाहीं त आएको हुँदैनथ्यो । त्यस बेला म निराश हुन्थें ।

संगीत क्षेत्रमा लाग्ने अवसरचाहिं कसरी पाउनुभयो नि ?
सानैदेखि गीत–संगीतमा रुचि थियो । स्कुलमा गीत गाउँदा गुरुहरूले मेरो तारिफ गर्नुृहुन्थ्यो । त्यो नै मेरा लागि प्रेरणाको स्रोत बन्यो । अरुणा लामा दाबा ग्योल्मोलगायतका गीतहरू सुन्दासुन्दै उनीहरूजस्तै गाउन मन लाग्थ्यो । त्यही इच्छा बोकेर गीत गाउनकै लागि दार्जिलिङबाट म नेपाल आएकी हुँ ।

दार्जिलिङबाट नेपाल आउँदा पहिलो भेट कोसँग भयो ?
पहिलो भेट मेरो मीरा राणासँग भयो । किनभने उहाँलाई सानैदेखि नै चिनेकी थिएँ । हामीले शास्त्रीय संगीत सिकिरहेको मीरा राणा दिदीले सुन्नुभएको थियो । त्यस बेला उहाँले मलाई भन्नुभएको थियो, ‘तिमी शास्त्रीय संगीतको राम्रो रहेछ, तिमी नेपाल आयो भने राम्रो हुन्छ’ भन्नुभएको थियो । त्यही सुझाव बोकेर म नेपाल आएँ, नेपाल आएपछि मैले पहिले मीरा राणा दिदीलाई नै भेट्न गएँ । उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो ।

संगीतमा कमाइ हुँदैन भन्छन् तर तपाईंले त यसबाट धेरै कमाउनुभएको छ नि ?
संगीतमा कमाइ हुँदैन भन्नु, त्यो गलत हो । हाम्रा जति पनि अग्रज कलाकारहरू छन् उहाँहरूले साँच्चिकै सेवा मात्र गर्नुभयो । एउटा बाटो खोल्दिनुभयो । तर हाम्रो पालामा आइपुग्दा संगीत व्यावसायिक रूपमा अगाडि बढेकोे छ । किनभने हामीले निकालेका एल्बम तथा क्यासेटहरू दर्शक–श्रोताहरूले किनिदिएको अवस्था थियो । मेरो क्यासेट सबैभन्दा बढी बिक्री भएर म्युजिक नेपालबाट अवार्डसमेत पाएकी थिएँ । जसका कारण हामीले संगीतलाई निरन्तरता दिन सक्यौं । संगीतमा नै लागेर बाँच्न सकिन्छ भन्ने सन्देश पनि दियौं । हाम्रो सबै परिवार संगीतमा नै लागेका छौं । आज हामी जुन अवस्थामा छौं, त्यो सबै संगीतमा नै लागेर भएको हो । निष्ठापूर्वक र रिटर्न नखोज्ने तरिकाबाट संगीतमा लाग्ने हो भने संगीतबाटै कमाउन सकिन्छ ।

संगीतमा नलाग्नुभएको भए अहिले तपाईं के हुनुहुन्थ्यो होला ?
संगीतमा नलागेको भए मेरो भविष्य थिएन । जे छ संगीतमा नै छ । जस्तो शीलाबहादुर मोक्तानसँग बिहे भएको पनि संगीतकै कारण हो । जसका कारण म संगीतमा नलागेको भए साधारण व्यक्तिमा मात्र सीमित हुन्थें होला । धेरै मानिसले चिन्ने अवसर पाउँदैनथें ।

त्यसो भए कुन्ती मोक्तान यसरी चिनिनुमा शीलाबहादुर मोक्तानको हात छ भन्दा हुन्छ ?
उहाँ नभएको र उहाँको सपोर्ट नपाएको भए म बीचमा हराउने पनि थिएँ होला । सबैभन्दा ठूलो सहयोग नै सपोर्ट हो ।

अन्तमा आफ्ना दर्शक-श्रोतालाई के भन्न चाहनुहुन्छ ?
यही क्षेत्रमा लागेकी छु । नयाँ–नयाँ सिर्जना आइरहेका छन् । आगामी दिनहरूमा पनि नयाँ–नयाँ सिर्जनाहरू ल्याउनेछु । दर्शक तथा श्रोताहरूले हामीलाई माया दिइराख्नुभएको छ । त्यो माया हामीलाई एकदमै अगाडि बढ्ने प्रेरणा हुँदो रहेछ । यो प्रेरणा यो माया सदैव रहोस् ।

1387 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank