कोरोनाका कारण ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगित

सोमवार, बैशाख १, २०७७

loading...


काठमाडौँ । ‘हिजो आजका कुरा’–दी मुभीको प्रदर्शन स्थगित गरिएको छ । कोरोना भाइरसका कारण विश्व नै लकडाउनको अवस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ वर्षको अवसरमा सोमबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

वरिष्ठ अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशित फिल्म वैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार आफूहरू तयार रहेको भए तापनि अहिलेको विषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगित गरिएको निर्देशक साकारले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले कोरोना भाइरसबाट बच्नका लागि संयम अपनाउन सबैलाई आग्रह गर्दै सम्पूर्ण नेपालीमा नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन् ।

‘यहाँहरूले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौँ । जनजीवन सामान्य अवस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौँ ।’ विज्ञप्तिमा निर्देशक पन्तले उल्लेख गरेका छन् । उनले केही समयअघि सार्वजनिक आफ्नो फिल्मको ‘माया जदौ’ गीतलाई दर्शकले अत्यधिक मन पराएकाले आफूहरूलाई थप हौसला मिलेको र भविष्यमा समेत अझ बढी माया र साथ पाउने आशा व्यक्त गरेका छन् ।

समसामयिक विषयमा निर्माण गरिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिव्यदेव पन्त,रिमा विश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, विनय कुइँकेल,अनुष्का अधिकारी,नीराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा वैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युबमा अहिलेसम्म झन्डै ७७ लाख पटक हेरिसकिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments