मेसीको ह्याट्रिकमा बार्सिलोना ४–० ले विजयी

बुधबार, कार्तिक १०, २०७३

loading...

स्टार स्ट्राइकर लिओनल मेसीले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले आफ्नो घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई ४–० ले पराजित गरेको छ। च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति ९६ हजार दर्शक समावेश नोउ क्याम्प रंगशालामा मेसीले १७ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

आफ्नो पूर्वक्लबविरूद्ध नयाँ रणनीतिका साथ नोउ क्याम्पमा उपस्थित भएका सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको सबै सपना त्यतिबेला चकनाचुर भयो, जब गोलकिपर क्लाउडियो ब्राभो डिबक्स बाहिर बल समात्न निस्किए। उनलाई यही आरोपमा ५३ मिनेटमा रेफ्रीले रातो कार्ड देखाए। यसपछि ग्वार्डिओलाले नोलिटोलाई निकालेर विली काबालेरोलाई गोल पोस्टको जिम्मा लगाएका थिए।

तर, मेसीले यसको आठ मिनेटपछि नै ६१ मिनेटमा दोस्रो गोल थपे। त्यसको थप आठ मिनेटपछि ६९ मिनेटमा उनले ह्याट्रिक पूरा गरे। नेइमारले निर्धारित ९० मिनेटको खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गरे। उनले पाएको पेनाल्टीको एउटा अवसरलाई काबालेरोले बचाउ गरेका थिए।

पछिल्लो १७ मिनेटको खेल दुबै टोलीले १० खेलाडीमा सिमित रहेर खेले, जब ७३ मिनेटमा जेरेमी म्याथ्युले दोहोरो पहेँलो कार्ड पाएर मैदान छोड्नु पर्यो। समूह ‘सी’ मा बार्सिलोनाको यो सतप्रतिशत नतिजा हो ।

बार्सिलोनाले तीन खेलबाट ९ अंक बटुलेको छ। चार वर्ष बार्सिलोनाको प्रशिक्षक रहँदा १४ वटा उपाधि जितेका ग्वार्डिओलाले आफ्नो पूर्वक्लबविरूद्ध पहिलोपल्ट ठूलो अन्तरको पराजय भोगेका हुन्। यसअघि वायर्न म्युनिखको प्रशिक्षक रहँदा उनले पहिलो लेगअन्तर्गत सेमिफाइनल खेलमा ३–० को पराजय आफ्नो पूर्वक्लबविरूद्ध बेहोरेका थिए।

381 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank