कारागारबाट कैदी फरार, सुरक्षाकर्मीकै संलग्नतामा घटना भएको आंशका



मकवानपुर । मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारबाट एक कैदी फरार भएका छन् । कारागारको सुरक्षा र अग्लो पर्खालका बीच कैदी फरार भएपछि सुरक्षाकर्मीकै संलग्नतामा घटना भएको आंशका गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका कुलदिप राज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए ।  कारागारमा सुरक्षामा शसस्त्र प्रहरी र जनपद प्रहरी खटिए पनि धामी भाग्न सफल भएका हुन् । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए ।

कारागारवरिपरि १२ फिटभन्दा अग्लो पर्खाल नाघेर भाग्न एक्लै सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिए । राति कारागारबाट भागेपछि अन्यत्र जान सवारीसाधान समेत नपाइने भएकाले मिलेमतोमै फरार भएको हुन सक्ने उनको भनाइ छ । कारागारबाट कैदी फरार भएपछि खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments