नेता पक्राउ परेको पीडामा खाना समेत नखाई सुत्यौँ

त्याग र निष्ठाको राजनीति भाग ६

मङ्लबार, बैशाख २५, २०७५



नेपालपाटी डट कमले अहिलेको एमाले पार्टी निर्माण गर्न र नेपालमा सामाजिक न्याय सहितको लोकतन्त्र स्थापना गर्नको लागि कष्टप्रद लामो संघर्ष गरेका वरिष्ठ नेताहरूको जीवनको प्रारम्भिक कालदेखि हालसम्मको अबस्थाको बारेमा सकेसम्म विस्तृत रूपमा जानकारी लिई पाठकहरू समक्ष प्रस्तुत गर्ने अभियानलाई जारी राखेको छ । यो अभियान अन्तर्गतको छैठौँ प्रस्तुतिको रूपमा यस पटक हामीले एमालेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रस्तुत गरेका छौं । यसअघिका पाँच वटा प्रस्तुतिलाई पाठकहरूले औधी मन पराइदिनु भएकोले त्यसवाट हामी ज्यादै उत्साहित भएका छौं । युवराज ज्ञवालीको संघर्ष पनि उत्तिकै प्रेरणादायी रहेको कुरा पाठकहरूले यो अन्तर्वार्ता पढेपछि थाहा पाउनु हुनेछ । यस्ता त्यागी र निष्ठावान् नेताहरू एमालेमा अरू पनि धेरै हुनुहुन्छ । हामी क्रमिकरूपमा उहाँहरूलाई पनि प्रस्तुत गर्दै जानेछौं । ज्ञवालीसँग नेपालपाटी डट कमको लागि डा. गोबिन्द बहादुर थापाले लिएको अन्तर्वार्ता ।

yuba raj gyawali interview

तपाईँको जन्म, जन्मस्थान र पारिवारिक स्थितिको बारेमा बताइदिनुहोस् न ?
मेरो जन्म गुल्मी भट्कुवामा वि.स. २०१० साल असार १३ गते भएको हो । मेरो जिजुबुबा, हजुरबुबा त्यो भेगका स्थापित विद्धान पण्डित हुनुहुन्थ्यो । मेरो हजुरबुबा कवि लेखनाथ पौड्यालसँगसँगै एउटै डेरामा बसेर पढ्नुभएको थियो । बुबाले पहिला काठमाडौँ र त्यसपछि बनारसमा पढ्नुभएको थियो । मेरो पारिवारिक पृष्ठभूमि पढेलेखेका, समाजमा प्रतिष्ठित, शिक्षित हो । हजुरबाको समयमा सम्पन्न परिवार हो तर भाइहरू छुट्टिएपछि बुबाहरू मध्यम वर्गमा झर्नुभयो । मेरा बुबा पण्डित खुमानन्द ज्ञवाली, आमा चोलाकान्त ज्ञवाली, बाजे नारायणप्रसाद शर्मा उपाध्याय, मेरो मावली गुल्मी ग्वादी र ससुराली पाल्पा डम्बक हो । मेरा बा–आमा, सासु–ससुरा, मामा–माइजु सवै बितिसक्नुभयो ।
हामी ६ जना दाजुभाई र ६ जना दिदीबहिनी हौँ । माइलो दाई गोविन्द ०१६ सालमै वित्नुभयो, अहिले हामी पाँच भाई छौँ । जेठो दाजु भक्तिराम ज्ञवाली संस्कृत विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो । उहाँ अहिले रिटायर्ड भइसक्नुभयो । साईलो दाई किसान हुनुहुन्छ । उहाँ गुल्मीमै बस्नुहुन्छ । भाईहरू रामकुमार ज्ञवाली, लक्ष्मण ज्ञवाली र म पूर्णकालिन राजनीतिमा छौँ । कान्छो भाई लक्ष्मणले एक पटक ६ वर्ष र पटक–पटक गरी १० वर्ष जेल जीवन विताएका छन् । उनी महाधिवेशनमा नेकपा एमालेको केन्द्रीय सदस्यमा पराजित भए । अर्को भाई रामकुमार केन्द्रीय सदस्य छन् । ६ जना दिदीबहिनी मध्ये चार जना बितिसके, अहिले दुई जना छन् । हामी दाजुभाई दिदीबहिनी सवै पहिलेदेखि नै कम्युनिष्ट पार्टीको समर्थक, सहयोगी, कार्यकर्ता, नेता हौँ । तर, मेरो बुबाचाहिँ पहिला कांग्रेस हुनुहुन्थ्यो । उहाँ पहिला माधव शम्शेरको दरवारमा बसेर सानो उमेरका सचित शम्शेर र दामोदर शम्शेरलाई पढाउने काम गर्नुहुन्थ्यो । पछि राणा शासन ढल्ने भएपछि गाउँ फर्कनुभयो । पहिलो पटक पञ्चायतको निर्वाचनबाट उहाँ गाउँ पञ्चायतको सभापति बन्नुभयो । छोराहरू कम्युनिष्ट बनेपछि उहाँपनि विस्तारै कम्युनिष्ट समर्थक बन्नु भयो । योजनावद्द ढंगले मैले उहाँलाई किताव पढ्न दिन्थे, पढ्दै जाँदा उहाँ पनि कम्युनिष्ट बन्न पुग्नुभयो ।
मेरी श्रीमती इन्दु ज्ञवाली साक्षर हुन् । बुबाआमाको प्रस्ताव अनुसार बिवाह गरियो । अहिले मेरा दुई छोरा र दुई छोरी छन् । सवैले डिग्री गरेका छन् । कान्छो छोरो पिएचडी गर्दैछन् । सवैको बिबाह भइसकेको छ । दुई बुहारीले पनि डिग्री गरेका छन् । जेठो छोराको एउटा छोरा र एउटी छोरी छन् । जेठो छोरा युएसआइडीमा काम गर्छन । जेठी बुहारीले एउटा राम्रो स्कूल र कलेजमा पढाउथिन । छोरी जन्मेपछि अहिले कलेज छोडेर बोर्डिङ स्कूलमा मात्र काम गर्छिन । कान्छी बुहारी युरोपबाट एम.एन. गरेर भर्खर नेपाल आएकी छिन् । जेठी छोरीका दुईटी छोरी छन्, छोरीहरू हङकङमै जन्मेर त्यहीं बस्छन् । अर्की छोरीको दाङमा बिबाह भएको हो । उनको एउटा छोरी छिन् । ज्वाई शिक्षक हुनुहुन्छ । पारिवारिक जीवन पूर्ण छ । परिवारका सवै सदस्यको एमाले राजनीतिप्रति समर्थन र साथ छ । श्रीमतीले जिन्दगीभर राजनीति र सबै कुरामा सहयोग गरिन् । आज म जुन ठाउँमा छु, त्यसमा श्रीमतीको ठूलो भूमिका छ । कठिन समयमा पनि उत्साहका साथ उनले साथ दिइन् । मेरो घरपरिवार, इष्टमित्र सवैको राजनीतिप्रति समर्थन छ । भट्कुवा गाउँ (जहाँ म जन्मे) मा कुनै बेला यस्तो थियो कि त्यहाँका मानिस गर्भबाटै कम्युनिष्ट भएर जन्मन्छन भन्थे । एक समय त्यो एक पञ्चायत थियो, गाविस हुँदा तीन वटा वडा थियो, अहिले गाउँपालिका भएपछि एउटा वडा छ । अहिले पनि सवैभन्दा धेरै भोट त्यही गाउँमा आउँछ । त्यो गाउँ पहिलेदेखि नै लालकिल्ला हो ।
अहिले बसोबास दाङ र काठमाडौँमा छ । राष्ट्रिय सभा सदस्य र विपक्षी दलको नेता भएको बेला केही रकम बचाएर कलंकी खड्का गाउँमा घँडेरी किनेको थिएँ । त्यही जग्गामा पछि छोराको कमाइले घर बनायौँ, जहाँ अहिले हामी बसिरहेका छौँ । दाङको घरजग्गा यथावत छ ।

कम्युनिष्ट विचारबाट कसरी प्रभावित हुनुभयो ?
मलाई बच्चादेखि नै महात्मा गान्धी, गौतम बुद्ध, शुक्रराज शास्त्रीलगायत महा पुरुष र शहीदहरूको बारेमा पढ्न मन लाग्थ्यो । त्यस्ता सामाग्री पढ्दा जीवनमा यस्तै राम्रो काम गर्नुपर्छ भन्ने हुन्थ्यो । मेरा बुबा, हजुरबुबा पण्डित भएकाले धर्मको आधारमा पो समाजसेवा गर्न सकिन्छ कि भन्ने पनि सोच आयो । कक्षा चारमा पढ्दादेखि नै मैले बिहान बेलुका गीता पाठ गर्थे । पछि समाजमा छुवाछुत, धनी गरिव विभेद, गरिवले पाइराखेको दुःख देख्दा कसैले पनि नसिकाई मान्छेमान्छेबीचको छुवाछुत बेठीक हो भन्ने लाग्यो । मलाई अहिले पनि याद छ, ०२३ सालमा म सात कक्षामा पढ्दा गाउँकै दाजुभाईको घरमा पुगेँ, त्यहाँ विश्वकर्मालाई हलो जोताउने चलन थियो । हलो जोत्नेले घरमा आएर आम्खोरामा पानी खाए । त्यही आम्खोरा टिपेर मैले पनि पानी खाएँ । त्यो मेरो विद्रोही भावना रहेछ । अरुले देखेपछि ल यसले त तल्लो जातले छोएको पानी खायो भनेर घरमा उजुरी नै प¥यो ।
त्यस्तै गाउँमा पानी ल्याउने ठाउँ (कुवा) हुन्थ्यो । तल्लो जातकोले पानी ल्याउने कुवा र माथिल्लो जातको कुवा फरक–फरक हुन्थे । तल्लो जातले ल्याउने कुवामा पानी थोरै हुने भएकाले लामो लाइन हुन्थ्यो । तर, माथिल्लो जातकोले भर्ने कुवामा पानी धेरै हुने भएकाले लाइन बस्नु पर्दैनथ्यो । त्यसमा मैले लाइनमा बस्नु पर्दैन, यो कुवाबाट पानी भरेर लैजाउ भनेर प्रोत्साहन गर्थे । तर, उनीहरू डराउथे । त्यो थाहा पाएपछि माथिल्लो जातले मेरो आलोचना गर्न थाले । एक दिन बुबाले सोध्नुभयो –‘यस्तो गरिस् रे के हो ?’ मैले भने, ‘मान्छे–मान्छे बराबर नै त हो नि ।’ मेरो जवाफ पछि बुबा हाँस्नुभो । कुरा ठिकै हो भन्नुभयो ।

कम्युनिष्ट पार्टीमा कसरी लाग्नु भयो ?
पाँच कक्षासम्म गाउँको प्राथमिक विद्यालयबाट पास गरेँ । त्यसपछि ६ कक्षामा पढ्न दाङ गएँ । दाई पहिला त्यही पढ्नुहुन्थ्यो, पछि त्यही पढाउन थाल्नुभयो । दाईले भाइबहिनीहरूलाई पढाउन दाङ लान्छु भनेपछि म पनि गएँ । दाङमा जमिनदारहरूले खासगरी थारुहरूमाथि चरम शोषण गरेको देखियो । गाउँमा एउटा ठूलो घर छ, त्यसको वरिपरी सानासाना झुप्राहरू छन् । त्यहाँका धेरै मानिस जमिनदारको घरमा काम गर्ने । त्यो विभेद देख्दै जाँदा यो गलत हो भन्ने मलाई लाग्यो । मेरो जेठो दाजु भक्तिराम पहिलेदेखि नै कम्युनिष्ट पार्टीमा काम गर्नु हुँदोरहेछ । हाम्रोमा विभिन्न नेताहरू आउने÷जाने चलिरहन्थ्यो । खासगरी २०१९ सालको महाधिवेशनपछि तुल्सीलाल र पुष्पलालको विचमा विवाद थियो । त्यतिबेला उहाँहरुलाई क्रमशः टीएल, पीएल भनिन्थ्यो । दाईले पत्रपत्रिका, कम्युनिष्ट पार्टीका दस्तावेज र कितावहरू ल्याउनुहुन्थ्यो । के रहेछ भन्ने उत्सुकता ममा हुन्थ्यो । दाई नभएको मौका छोपेर म ती कितावहरू पढ्थेँ । त्यही क्रममा ल्यू साओ चिको प्रशिद्ध हिन्दि भाषामा अनुबाद गरिएको ‘अच्छे कम्युनिष्ट कैसे बने’ भन्ने किताव २०२४ सालमा पढेँ । त्यसले मलाई ठूलो प्रभाव पा¥यो । त्यतिबेला म कक्षा आठमा थिएँ । त्यतिबेला दाङमा एक सय पूर्णाङ्कको हिन्दी पढाइ हुन्थ्यो । भारतीय शिक्षकले नै पढाउथे । त्यसले गर्दा हिन्दी राम्रै आउँथ्यो । माक्र्सवादको ज्ञान, माओत्सेतुङका रचनाहरू पढ्ने गर्थें । ती कितावको अध्ययन र गरिव–धनीबीच समाजमा देखिएको विभेदले मेरो भावनासंग मेल खायो । कसैले मलाई नसिकाई, यस्तो हुनुपर्छ भनेर कसैले नभनी, कम्युनिष्ट पार्टी ठीक हो भन्ने लाग्न थाल्यो ।
थारुहरुले किन पढ्न नपाउने भन्ने विषयमा कहिलेकाहीं छलफल हुन्थ्यो । थारुहरुले किन नपढेको होला भनेर म कुरा उठाउँथेँ । थारुहरुको काम भनेको काम गर्ने मात्रै हो, यिनीहरूले पढ्न थाले भने हाम्रो काम कसले गर्छ भन्ने खालको जवाफ जमिन्दारहरुबाट आउथ्यो । उनिहरु थारुहरुलाई दुःख दिने, अन्याय गर्ने, गाली गर्ने गर्थे । यो बेठीक हो, गलत हो भन्ने मलाई लाग्यो । सामन्ती शोषण कस्तो हो भन्ने कुरा दाङमा प्रष्ट देखिन्थ्यो । मैले पढ्ने स्कूल र घरजग्गा टाढा पथ्र्यो । त्यसकारण दाईले जमिन्दारको घरमा लगेर राखिदिनुभएको थियो । त्यहाँ जमिन्दारको बच्चा पढाउने र स्कूल लिएर जाने र फर्कदा ल्याउने काम गर्दै म पढ्थेँ । त्यसबापत त्यो घरमा बस्न र खान पाइन्थ्यो । त्यहाँ बसेर ६ देखि १० कक्षासम्म पढेँ । २६ सालमा कक्षा १० मा पढ्दा विचार मिल्ने साथीहरूको समूह बनाउन थालियो । कम्युनिष्टहरूको एउटा समूह, कांग्रेसको अर्को समूह हुन्थ्यो । त्यतिबेला पञ्चायती व्यवस्था भए पनि दाङमा कांग्रेसको बोलबाला थियो । स्कूल-कलेजमा कांग्रेस–कम्युनिष्टबीच विवाद, झगडा र मारपिटसम्म हुन्थ्यो । दाङमा जुद्धबहादुर, गणेशमानहरु ठूला नेता थिए । खुमबहादुरहरु विद्यार्थी राजनीतिमा थिए । उनीहरु कांग्रेस, हामी कम्युनिष्ट विचार समूह बनाउन लाग्थ्यौँ । यो पार्टी भन्ने थिएन, कम्युनिष्ट पार्टीको समर्थक बढाउनुपर्छ भनेर लाग्यौँ ।
दाङबाट एलएलसी पास गरेपछि थप अध्ययनको लागि काठमाडौँ, नेपालगञ्ज वा तानसेन जानुपथ्र्यो । खर्चका कारण काठमाडौँ जान सक्ने अवस्था थिएन । नेपालगञ्जमा कांग्रेस धेरै हुन्छन, तानसेनमा चाहिँ कम्युनिष्टको प्रभाव छ भन्ने थाहा थियो । हाईस्कूलदेखि नै घनिष्ठ साथी (गोविन्द कुसुम) र म सल्लाह गरेर तानसेन लाग्यौँ । ६ कक्षादेखि आइकमसम्म सँगै पढ्यौँ । कम्युनिष्टका किताव खोजीखोजी पढ्ने गथ्यौँ । बुबा सानैमा बितेकाले उहाँलाई आमाले पढाउनुभएको थियो । तानसेन पढ्न आउँदा आर्थिक अवस्था कमजोर थियो । दाईलाई अब कलेज पढ्न तानसेन जान्छु भन्दा ‘घरमा पनि खर्च पठाउनुपर्छ, तानसेनलाई दोस्रो काठमाडौँ भन्छन, पढ्न खर्च त पु¥याउन सकिदैन होला’ भन्नुभयो । ‘म त जसरी नि जान्छु’ भनेपछि एकजना जमिनदारलाई चिठी लेखिदिनुभयो–‘ऋण सापटी दिनु पछि तिरौँला ।’ त्यो चिठीको आधारमा चार सय रुपैयाँ ऋण लिएर म तानसेन गएँ । छिडीमा महिनाको १० रुपैयाँ कोठाभाडा तिरेर गोविन्द कुसुम र म बस्यौँ । कतिबेला त खाने चीज नभएर साँझमा चना र बिहान भात खाएर पनि बस्यौँ ।
सुरुसुरुमा हामी ब्याक बेन्चमा बस्थ्यौँ । तानसेनका केटाकेटीहरू एकदम एडभान्स खालका, हेर्दा पनि राम्रा, टाठा थिए । हामी गाउँबाट आएको लुगा पनि नराम्रा, पछिल्लो बेन्चमा बस्थ्यौँ । क्रमशः सांस्कृतिक, साहित्यिक एवं विभिन्न कार्यक्रममा हामी सक्रिय हुन थाल्यौँ । कविता, लेख लेख्न थाल्यौँ । विभिन्न गतिविधिमा सक्रिय हुन थालेपछि विस्तारै पछिल्लो बेन्चबाट अघिल्लो बेन्चमा पुग्यौँ । हामीलाई सवैले राम्रो मान्दै जान थाले । कलेजमा पढ्ने जो पार्टीको सम्पर्कमा थिए, उनीहरूले हाम्रा गतिविधि हेरिरहेका रहेछन् । उनीहरुबाट कम्युनिष्ट पार्टीको सम्पर्कमा जानुपर्छ भनेर प्रस्ताव आउन थाल्यो । हामी दुवैले एकै चोटी कम्युनिष्ट पार्टीको सदस्यका लागि निवेदन दियौँ । त्यसपछि हामीलाई पार्टीका भूमिगत नेताहरूसँग भेटघाट गराउन थाले । ०२७÷२८ सालतिर लुम्बिनी अञ्चलभरी नै पुष्पलालको पार्टी सक्रिय थियो । पाल्पामा देवीप्रसाद पाण्डे भूमिगत नेता हुनुहुन्थ्यो । उहाँ प्रायः त्यहाँको विद्यार्थी, बुद्धिजीवीहरुको संगठनको काममा लाग्नुहुन्थ्यो । उहाँसँग भेटघाट भयो । उहाँ पार्टीको लुम्बिनी अञ्चलको सदस्य हुनुहुदोरहेछ । त्यतिबेला बामदेव गौतम रुपन्देहीको जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । बामदेव भन्दा देवी त्यतिबेला सिनियर हुनुहुन्थ्यो । यसरी हामी पार्टी नेताहरूको सम्पर्कमा पुग्यौँ र व्यवस्थित ढंगले संगठित भएर काम गर्न थाल्यौँ । प्रहरी कार्यालय, सिडिओ कार्यालयदेखि विभिन्न ठाउँमा रातभर पर्चा छर्ने, मिटिङहरू गर्ने गरियो । विद्यार्थीमात्रै नभएर सक्रिय कार्यकर्ता जस्तै काम गर्न थाल्यौँ । तानसेनमा बस्दा भूमिगत अफिस (सम्पर्क कार्यालय) थियो । देवी पाण्डेले ‘कसैले सोध्दा तपाईहरूले हाम्रो डेर भन्नुप¥यो, तर, यहाँ भूमिगत नेता÷कार्यकर्ता आउनुहुन्छ, बस्नुहुन्छ’ भनेर एउटा थोत्रो घर जिम्मा लगाउनुभयो । जीवराज आश्रित, वामदेव गौतम, गोविन्द ज्ञवाली, माधव ज्ञवाली, एकदेव ज्ञवाली लगायतका नेताहरूसँग पहिलो छलफल, भेटघाट त्यही घरमा भएको हो । पार्टी काममा सचेत, सक्रिय र संगठित रुपमा लागियो । निवेदन दिएको ६ महिनापछि देवी पाण्डेले सदस्यता दिनुभयो । तर, त्यसभन्दा अगाडि उहाँले हामीलाई काम लगाउनुभयो । इमान्दारिता, सक्रियता र निडरता देखेपछि हामीलाई सदस्यता दिनुभयो । हामी दुई जनाले सँगै आवेदन दियौँ, सँगै सपथ लियौँ । सदस्यता लिएपछि हामीलाई धेरै गौरव अनुभूति भयो । धेरै खुशी भइयो । पढ्दै पनि जाने र राजनीतिमा पनि सक्रिय हुने हाम्रो सोच थियो । त्यतिबेला हामी दुईको सम्बन्ध अत्यन्त घनिष्ठ थियो ।
राहुल सांस्कृत्यानले लेखेका कितावहरु धेरै पढिरहेका थियौँ । माक्र्स, माओ, लेनीन, एङगेल्सलगायतका जीवनी पढ्दा हामीलाई के लाग्थ्यो भने माक्र्स, एङगेल्स जस्ता साथी थिए हामी पनि त्यस्तै बन्छौँ । उनिहरु दुवैको सहयोगमा माक्र्सवाद जन्मियो । सायद एङ्गेल्स थिएनन् भने माक्र्सवाद जन्मने थिएन होला । पढ्ने कुरामा पनि हावी अब्बल हुनुपर्छ । मुलत कम्युनिष्ट राजनीतिमार्फत नै देशको सेवा गर्नुपर्छ । सादा जीवन थियो । खान लगाउन दुःख थियो । हाम्रा नोट कपि एउटै र किताव पनि एउटै हुन्थ्यो । हाम्रो गतिविधि देखेर पार्टीका साथीहरू धेरै प्रभावित थिए । उनिहरु हाम्रो प्रशंसा गर्थे । तानसेनको दुई वर्षे बसाई (आइकम पढ्दा) हाम्रो राजनीतिक जीवनको लागि महत्वपूर्ण अवधि बन्यो ।

त्यसपछि कसरी अगाडि बढ्नुभयो ?
आइकम पास गरेपछि, ‘दाङमा हाम्रो पार्टी (पुष्पलाल) अगाडि बढ्न सकेको छैन । त्यहाँ मोहनविक्रम सिंहको पार्टी चौम (चौथो महाधिवशेन) सक्रिय छ । त्यहाँ पार्टी विस्तार गर्नुप¥यो’ भन्ने पार्टीबाट प्रस्ताव आयो । मोहनविक्रमका कार्यकर्ताले पुष्पलालका कार्यकतालाई कांग्रेसको पिच्छलगु भन्थे । पुष्पलालले संयुक्त जनआन्दोलनको विषय उठाइरहने क्रममा कांग्रेससित मिलेर पञ्चायती व्यवस्था ढाल्नुपर्छ, राजनीतिक स्वतन्त्रता भयो भने जनतालाई छिट्टै सचेत गराउन सकिन्छ र क्रान्तिका लागि आधार तयार पार्न सकिन्छ भन्ने थियो । चौमको ठम्याई कांग्रेस र राजा एकै हुन भन्ने थियो । चौमको भ्रमलाई चिर्दै दाङमा संगठन निर्माणमा लाग्नुपर्छ भन्ने केन्द्रको निर्देशन हामीलाई आयो । आइ कमको परीक्षा दिइसकेपछि तानसेनबाट केशरमणिलाई भेट्न गोरखपुर गयौँ । मोहद्वीपुरमा केशरमणिसँग भेट भयो । त्यसपछि हामी दाङ लाग्यौँ । पार्टीको दस्तावेज बोकेर गोरखपुरबाट सीमासम्म टे«नमा आइयो, त्यसपछि पैदल हिडेर कपिलबस्तु, आर्घाखाँची, प्युठान हुँदै दाङ पुग्यौँ । दाङमा गएर कमिटी गठन ग¥यौँ । टिकाराम धिताल पुष्पलालको शुभेच्छुक हुनुहुदोरहेछ । पुरानो नेता भएकाले उहाँलाई सचिव बनायौँ । एकजना चौधरी साथी र हामी दुईसहित नेकपा पुष्पलाल समूहको जिल्ला संगठन समिति बनायौँ । काम हामी दुई जना गथ्र्यौ, तर पुराना नेता पनि चाहिने भएकाले हामी सदस्यमा बस्यौँ ।

शिक्षण पेशामा रहँदा, पार्टी काम कसरी गर्नुभयो ? स्थानीय संघर्ष र राष्ट्रिय स्तरका आन्दोलनमा कसरी संलग्न हुनुभयो ?
पाल्पा देउले अर्चलेको माध्यमिक विद्यालयमा शिक्षक भएर काम गर्दाका दिनहरु मेरो लागि अत्यन्त रोचक र स्मरणीय छन् । त्यसबेला म एकजना जिम्मेवार शिक्षक, पार्टीको सक्रिय कार्यकर्ता, एकजना सांस्कृतिक कर्मी र आन्दोलनकारी, चार किसिमको भूमिकामा थिँए । शिक्षक, विद्यार्थी र गाउँका जनतासँग मेरो घनिष्ट सम्बन्ध थियो । त्यो सम्बन्धलाई मैले क्रमशः राजनीतिक सम्बन्धमा परिणत गरें । विभिन्न समयमा मेरो अगुवाईमा विभिन्न ठाउँमा प्रगतिशील नाटक तथा सांस्कृतिक कार्यक्रमहरु चल्ने गर्थे । जनतालाई शोषण, दमन र अन्याय अत्याचारको विरुद्ध अघि बढ्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । ०३५, ०३६ र ०३७ सालमा भएका शिक्षक, विद्यार्थी आन्दोलनहरुमा त्यो क्षेत्रमा महत्वपूर्ण कामहरु भए । स्थानीय जाली–फटाहा विरोधी आन्दोलनहरु भए । राष्ट्रिय स्तरमै चर्चित ‘थानेश्वर महाप्रभू’ (राजा महेन्द्रले दिएको पदवी) विरुद्ध संघर्षहरु भए । उनले मेरा विरुद्ध राजदरवारमै उजुरी पठाए । अन्ततः आम जनता मिलेर उनलाई कहिल्यै नफर्कने गरी गाउँ निकाला गरे । उनलाई त्यसबेलाका प्रधानमन्त्री र अञ्चलाधीशहरुले खुट्टा समाएर दण्डवत् गर्थे । उनले आपूmलाई जनताको बिचमा भगवानको अवतारको रुपमा प्रस्तुत गर्थे । तर मेरो उनीसँगै टक्कर प¥यो । यस सम्बन्धमा विभिन्न रोचक प्रसङ्गहरु छन् । मेरो लडाईं व्यक्तिगत नभएर जनताको समस्यासँग सम्बन्धित थियो । अन्ततः त्यो लडाईंले गर्दा मैले विद्यालय छाडेर भूमिगत जाने अवस्थामा पु¥यायो भने उनले आफ्नो जन्मेर हुर्केको कार्यथलो छाडेर टाढै गएर बस्नु पर्ने भयो । गाउँ–गाउँका जाली फटाहा विरोधी आन्दोलनले जनतामा वर्गीय चेतनाको विकास भयो । त्यसले एकातिर राष्ट्रिय आन्दोलनमा सघाउ पु¥यायो भने अर्कोतिर तत्कालीन नेकपा (माले) को संगठन विस्तारमा पनि सघाउ पुग्यो ।

पञ्चायती व्यवस्था, कांग्रेसको विगविगी अनि दुई कम्युनिष्ट पार्टीको मनमुटावका बीच दाङ्गमा कसरी अगाडि बढ्नुभयो ?
दाङमा माधव ज्ञवालीले कमिटी गठन गरिदिनुभयो । त्यहाँ हामीले सक्रियताका साथ काम ग¥यौँ । हामीले विद्यार्थी, वुद्दिजीवि, किसानका संगठन बनायौँ । दस्तावेज पढाउँदै गयौँ, नियमित बैठक बस्ने ग¥यौँ । त्यसबीचमा चौमसमर्थित साथीहरूसँग हाम्रा छलफल, बहस, विवाद चलिरहे । चौमका कार्यकर्ताले यिनीहरू कांग्रेसको पिच्छलगु भनेर प्रचार गरिरहे । हामीले त्यसको प्रतिवाद गरिरह्यौँ ।
त्यही क्रममा राप्ती अञ्चल कमिटी गठन गर्नुप¥यो भनेर केशरमणिले खवर पठाउनुभयो । त्यसका लागि दाङ, रुकुम र प्युठानका साथीहरू प्युठानको लुङमा जम्मा भयौँ । नुङ पुगेपछि अर्घाखाँचीबाट खवर आयो, उहाँ (केशरमणि) आउन नभ्याउने हुनुभयो, अर्घाखाँचीमा बसेर कमिटी गठन गर्नुप¥यो । करिवकरिव बिहानको ११ बजेतिर अर्घाखाँचीको चुत्रावेसी पुगेका थियौँ, त्यहाँ वीरबहादुर सिंह हाई स्कूलको हेडमास्टर हुनुहुन्थ्यो । उहाँ पार्टीको कार्यकर्ता पनि हुनुहुन्थ्यो । उहाँको डेरामा पुग्यौँ । त्यहाँ बजारमा प्रहरीहरू छ्यापछ्याप्सी देख्यौँ । वीरबहादुरलाई आत्तिएको अवस्थामा पायौँ । उहाँले ‘केशरमणि लगायतका साथीहरू हिजो राति पक्राउ पर्नुभयो, मलाई पनि खतरा छ, अञ्चल कमिटी गठन गर्ने काम नहुने भयो । तपाईहरूलाई शंका गर्न सक्छन, फर्कनुहोस’ भनेपछि हामी त्यहाँबाट हिड्यौँ । अत्यन्त उत्साहका साथ अञ्चल कमिटी बनाउन हिडेका हामीलाई केशरमणि पक्राउ परेको खवरले निराश बनायो । त्यसदिन फर्केर गएपछि प्युठानको पकला भन्ने ठाउँमा बास बस्यौँ । केशरमणि पक्राउ परेको पीडाले हामीलाई खाना खान मन लागेन । नखाई सुत्यौँ । केशरमणि पक्राउ परेपनि पार्टीको कामलाई सक्रियपूर्वक अघि बढाउनु पर्छ भन्ने हामीलाई लाग्यो । निराश भएर बस्नुहुँदैन, नेतृत्व सम्हाल्ने गरी अगाडि बढ्नुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्यौँ ।
तर लामो समयसम्म पार्टीसँग हाम्रो सम्पर्क नै भएन । निरन्तर पार्टीसँग सम्पर्कविहीन भएपछि अव के गर्ने भन्ने सोच्न थाल्यौँ । क. पुष्पलालसँग भेटौँ भन्ने निष्कर्षका साथ ०३० सालमा बनारसतिर लाग्यौँ । केशरमणि पक्राउ परेपछि पार्टीको अवस्था बुझ्नुपर्ने थियो भने लेवी वापत हामीले उठाएको रकम पार्टी केन्द्रलाई बुझाउनु पर्ने र हामीले गरेको कामको बारेमा रिपोर्ट गर्नुपर्ने थियो । एक हप्तासम्म हामी बनारस बस्यौँ । दिनभर पुष्पलालसँग छलफल गर्ने राति कोठामा आएर सुत्ने र भोलिपल्ट फेरि छलफलका लागि पुष्पलाललाई भेट्ने ग¥यौँ । त्यहाँ बलराम उपाध्याय, गोपिरमण उपाध्याय, केशव ज्ञवाली, डिल्लीराज ज्ञवाली, सिद्धिनाथ ज्ञवाली, गोविन्द ज्ञवालीहरूसँग पनि भेट भयो । जिल्लामा दमन भएपछि उहाँहरु कोही गोरखपुर र कोही बनारस जानु भएको रहेछ ।
क. पुष्पलालसँग संगठनको काम कसरी अगाडि बढाउने भन्ने बारेमा सल्लाह ग¥यौँ । लेवी वापतको रकम हामीले बुझाउँदा निकै भावुक भएर पुष्पलालले भन्नुभयो– ‘केशरमणि पक्राउ पर्नुभयो, धेरै साथीहरु गिरफ्तार भए । धेरै दमन भयो । भूमिगत भएका कतिले आत्मसमर्पण गरे । त्यहाँका कमिटीहरु चल्न छाडे, लेवी आउन छाड्यो, हामीलाई बिहान बेलुका के खाने भन्ने ठूलो आर्थिक संकट परेको छ । यस्तो बेलामा सोच्दै नसोचेको ठाउँबाट संगठनको जुन रिपोर्ट दिनुभयो, आर्थिक सहयोग पनि केन्द्रमा ल्याएर बुझाउनुभयो । पार्टी नेतृत्व खोज्दै बनारस आइपुग्नुभयो । हामी यो अवस्थामा छौँ, तपाईहरू काम माग्न आइराख्नुभएको छ, जहाँ पार्टी राम्रो अवस्था थियो, त्यहाँ जोगाउन मुस्किल परिरहेको छ । दाङमा हामीले कसरी सम्पर्क बढाउने, तत्कालै नियमित सम्पर्क बढाउने अवस्था छैन । अहिले जे छ त्यसलाई जोगाएर बस्ने हो । माक्र्सवादको अध्ययन गर्नुहोस, कहिल्यै पनि निराश, हतास नहुनुस । लाइन, सिद्दान्त हामीले जे तय गरेका छौँ, यो नै नेपालको राजनीतिमा अहिलेका लागि उपयुक्त लाइन हो । तपाईहरू काम गर्दै जानुहोस, पार्टीको सम्पर्क जोड्ने काम विस्तारै पछि गरौँला । अहिले तत्काल नियमित सम्पर्क गर्ने सम्भावना छैन ।’ त्यति भन्दा उहाँको आँखामा आँशु रसायो । मोहन विक्रमले ‘गद्दार पुष्पलाल’ भन्ने किताव निकालेको विषयमा पनि छलफल भयो । को गद्दार, कसरी गद्दार भन्ने विषयमा उहाँले स्पष्ट विचार राख्नुभयो । नेकपाको अठार बर्षको सिंहावलोकन र नयाँ जनवादी क्रार्यक्रमबारे लामो छलफल भयो ।

पुष्पलालले त्यसो भनेपछि तपाईहरूले कस्तो रणनीति बनाउनुभयो ?
हामीले त्यतिबेला एक जना पूर्णकालिन भूमिगत हुने र एक जनाले जागिर गर्ने सोचेका थियौँ । एक जनाको जागिरले सरसहयोग हुन्छ । त्यसले पार्टी काम गर्न सजिलो हुन्छ भन्ने सोचाई थियो । तर, क. पुष्पलालले नियमित सम्पर्क गर्न नसकिने भनेपछि हामी अत्यन्त दुखी भयौँ । त्यसपछि हामी दाङ आयौँ । हाम्रो चाहना पार्टीलाई अगाडि बढाउने नै छ । आफ्नो ठाउँबाट पार्टी कामलाई उत्साहका साथ अगाडि बढाइरहेका छौँ । नियमित काम गरिरहेका छौँ । तर, पार्टी केन्द्रबाट नियमित सम्पर्क नहुने भन्ने जवाफ आएपछि अव के गर्ने, कसो गर्र्ने भन्ने सोच्न थालियो । हामी दुवैले सल्लाह गरेर पूर्णकालिन रुपमा जाने कुरा भएन, जागिर गर्दै पुष्पलालकै पार्टीको बारेमा जनमत बनाउँदै अगाडि बढ्ने निष्कर्षमा पुग्यौँ । विचार छोडेर अराजनीतिक भएर बस्ने कुरा पनि भएन । कुनै बेला पार्टी कहि न कहीबाट जोडिने स्थिति आउन सक्छ भनेर जागिर गर्नेतिर लाग्यौँ । त्यसपछि हामी शिक्षण पेशा गर्दै प्राइवेट रुपमा वि.ए.को तयारीमा लाग्यौं । नेपालगञ्जमा वि.ए.को परीक्षा दिन जाँदा कम्युनिष्ट पार्टीका कोही मानिस भेटिन्छन कि भनेर हे¥यौँ । केही शिक्षक, विद्यार्थी भेटिए । हामीले त्यहाँ पनि कम्युनिष्ट विचार फैलाउने काम ग¥यौँ । बीएको रिजल्र्ट निस्केपछि म गुल्मी घरमा आए, गोविन्द कुशुमले खाद्य संस्थामा सुब्बामा नाम निकाल्नुभयो । उहाँले त्यही काम गर्न थाल्नुभयो । म घरमा बसिरहेको थिएँ । पाल्पामा एउटा हाइस्कूल खोलिएको रहेछ, त्यहाँ अंग्रेजी पढाउने शिक्षक चाहिएको छ, तपाई जानुप¥यो भनेर एक जना साथीले भन्नुभयो । पाल्पाको अर्चले भन्ने ठाउँमा पढाउन थालें । घरबाट एक घण्टा हिडेर स्कूल जानुपथ्र्यो । त्यहाँ पढाउछु भन्ने थाहा पाएपछि एक पटक माधव ज्ञवाली पुष्पलालको विरोध गर्दै ‘अर्को पार्टी खोल्नुपर्छ’ भनेर पुग्नुभयो । उहाँसँग सामान्य कुरा भयो । केही पछि राघवेश ज्ञवाली भन्ने एक जना साथी काठमाडौँबाट मलाई भेट्न त्यहाँ आए । उनको को. के. सँग सम्पर्क भएछ । मैले त्यहाँ पढाउछु भन्ने थाहा पाएपछि मलाई भेट्न उनी त्यहाँ पुगे । उनले ‘तपाईजस्तो मान्छे यहाँ पढाउन थाल्नुभएछ, अव पढाउने होइन क्रान्तिमा लाग्नुपर्छ’ भने । क्रान्ति कसरी गर्ने ? सिद्धान्त के ? दृष्टिकोण के ? भन्ने कुरा मैले गरेँ । उनले झापाली लाइन बताए । लामो छलफल भयो । ‘सल्लाह गरौँला’ भनेर पठाइदिएँ । त्यसपछि मलाई भेट्न सिद्धिनाथ ज्ञवाली घरमा आउनुभयो । अव पुष्पलालबाट विद्रोह गरेर को केमा समावेश भइने भइयो भनेर उहाँले को के को लाइन बताउनुभयो । तानसेनमा पढ्दैदेखि उहाँसँग सम्पर्क थियो । उहाँ पार्टीको नेता हामी विद्यार्थी थियौँ । उहाँसँग लामो छलफल भयो । को के का कतिपय कुरामा मेरो सहमति भएन । यो गलत हो, यसरी क्रान्ति हुँदैन भनेर कतिपय विषयमा चर्काचर्की नै भयो । त्यसपछि उहाँले ‘त्यसो भए म जान्छु, तपाईले जीवराजजीसँग भेटेर कुरा गर्नुहोस’ भन्नुभयो । केही समयपछि जीवराजजी आउनुभयो, त्यही कुरा गर्नुभयो । ‘पुष्पलालबाट बिद्रोह गरेर हामीले मुक्ति मोर्चा बनाएका छौँ । सिद्धिनाथ, म, देवराज घिमिरे, वामदेव गौतम, मोदनाथ प्रश्रितलगायत ठूलो पंक्ति लागेका छौँ । पुष्पलालबाट क्रान्ति नहुने भयो । उहाँले सशस्त्र संघर्षको बाटो छोड्नुभयो । अहिले क्रान्तिको बेला भएको छैन भन्नुहुन्छ । तर यहाँ फौज नबनाइ क्रान्ति हुँदैन । को केले सशस्त्र संघर्षको लाइन लिएको छ, हामी त्यो निष्कर्षमा पुगेका छौँ’ भन्नुभयो । उहाँसँग मेरो लामो छलफल भयो । उहाँले अन्तिममा के भन्नुभएको थियो भने ‘कतिपय कुरा हाम्रा पनि मिलेका छैनन, स्पिरिटसँग सहमत छौँ । अन्तरपार्टी संघर्षबाट समस्याको समाधान गर्दैजाऊ भन्ने स्पिरिटमा अगाडि बढौँ ।’ ‘त्यसो भए ठिक छ सशस्त्र संघर्ष त गर्नैपर्छ’ भनेर उहाँलाई समर्थन जनाए । त्यसपछि नियमित सम्पर्क भयो ।
हाम्रो घर गुल्मी जिल्लाको लागि महत्वपूर्ण सेल्टर थियो । मलाई इलाकामा संगठित गरियो । त्यही क्रममा मालेको गुल्मी जिल्ला संगठन कमिटी गठन गर्न सीपी मैनाली गुल्मी जानुभयो । त्यो कमिटी मेरो घरमा गठन भयो । जीवराज, सिद्धिनाथ र देवेन्द्र घिमिरेको बीचमा कमिटी गठन भयो । हाम्रो घरमा तीन दिनसम्म बैठक चल्यो । सीपीसँग मेरो पहिलो पटक त्यही भेट भयो । उहाँले मसँग लामो छलफल गर्नुभयो । मेरो साईलो दाईलाई राखेर पनि सम्झाउनुभयो । फागुन २१ गते राती शहीद दिवस मेरो घरमा मनाइयो ।

भूमिगत भएपछि पहिलो पटक घर छाडेर कहाँ जानुभयो ? त्यसपछि संगठनको काम कसरी अगाडि बढाउनुभयो ?मैले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट रुपमा अर्थशास्त्रमा एम.ए. पहिलो वर्षको परिक्षा दिइसकेको थिएँ । जीवराजजीले एमए पास गरेपछि के गर्नुहुन्छ ?’ भन्नुभयो । त्यतिबेलासम्म मेरो सोचाई–अर्थशास्त्रमा एमए गर्ने, कलेजमा पढाउने र पार्टी काम सँगसँगै अगाडि बढाउने थियो । मैले त्यही भने । घरबाट पनि जागिर छोडेर नहिडोस भन्ने थियो । जीवराजजीले तपाई जतिको मान्छे पूर्णकाyuba raj gyawali युवराज ज्ञवालीको भोगाइ–नेता पक्राउ परेको पीडामा खाना समेत नखाई सुत्यौँलिन हुनुपर्छ भनेर सम्झाउन थाल्नुभयो । ‘पेशा छाडेर राजनीतिमा लाग्दा जति क्रान्तिका लागि योगदान गर्न सकिन्छ, पेशामा रहेर समय दिन सकिदैन । तपाईको ज्ञान, अनुभव, भावनाको ठीक प्रयोग हुँदैन । अब जागिर छाड्नेतिर योजना बनाउनुपर्छ ’ भन्नुभयो । मलाई त्यो कुरा ठिक लाग्यो । संगठनको कामको चाप पनि बढिरहेको थियो । दिनरात फुर्सद हुँदैन थियो । कामको जिम्मेवारी बढ्दै जान थाल्यो, नेता-कार्यकर्ताको अपेक्षा पनि बढ्दै गयो । जागिर छाडेर पूर्णकालिन हुनुपर्छ, तर कहिले ? भन्ने प्रश्न मनमा रह्यो । पछि जीवराजजीलाई के लागेछ उहाँले फेरि अर्कै कुरा गर्नुभयो – ‘जागिर चाहिँ तपाईले छोड्नुपर्छ । तर, परिस्थिति मिलाएर गर्नुहोस । पार्टी काम गरिरहनुभएको छ । भूमिगत नेताहरूले गरेको सांगठनिक काम भन्दा तपाईले अहिले पनि धेरै काम गरिरहनुभएको छ ।’ परिस्थिति मिलाएर अघि बढ्नुस् भन्ने उहाँको सुझाव रह्यो । त्यसबेला म गुल्मी जिल्ला संगठन कमिटीको सदस्य थिएँ । सिद्धिनाथ ज्ञवाली सचिव हुनुहुन्थ्यो । बैठकको रिपोर्ट गर्दा सेल्टर बनाउने, लेवी उठाउने, संगठन निर्माण गर्ने, धेरै मानिसलाई पार्टीमा ल्याउने कुरामा पूर्णकालिनले गरेको भन्दा धेरै काम मेरो थियो ।
खुला रहँदा मैले बनाएका विभिन्न सेल्टर थिए । जनाधार थियो । वोहा भन्ने गाउँमा यदु ज्ञवाली भन्ने एक जना बुबा हुनुहुन्थ्यो । त्यो घरका नाती नातिनीहरू मेरो स्कूलमा पढ्थे । त्यो गाउँका तमाम विद्यार्थी मैले पढाउने स्कूलमा पढ्थे । तिनीहरूलाई मैले संगठित गरेको थिएँ, त्यहाँका शिक्षकहरूलाई मैले संगठित गरेको थिएँ । मेरो घरबाट एक घण्टा टाढा त्यो गाउँमा राति पुगेर लठ्ठीले ढोका ट्याट्याक पा¥यौँ । यदु बुबा उठ्नुभयो । ल बुबा अव म स्कुल छोडेर भूमिगत भएँ । ‘पहिलो सेल्टर तपाईको घरबाट सुरु हुन्छ’ भनेपछि उहाँले ‘घरमा श्रीमतीले दुःख पाउलिन्, दाईले दुःख पाउलान्’ भन्नुभयो । ‘मैले सवै सम्झाएको छु । दुःख पाएपनि क्रान्तिका लागि भूमिगत हुनैप¥यो’ भने । उहाँले पनि ‘देश र जनताको लागि राम्रो ग¥यौँ’ भन्नुभयो । दुई दिन त्यहाँ बसियो, त्यसपछि विभिन्न सेल्टरमा जाने, बैठक बसाल्ने गर्दागर्दै अगाडि बढ्यौँ । मैले पढाएका, संगठित गरेका शिक्षक विद्यार्थीहरु मैले शिक्षण पेशा छाडेकामा दुःखी भए भने राजनीतिक परिवर्तनका लागि भूमिगत भएकोमा खुःसी पनि भए । भूमिगत भएको एक महिनापछि सिद्धिनाथजीसँग भेट भयो । उहाँ धेरै खुःसी हुनुभयो । भूमिगत भएको केही समयपछि मलाई गुल्मी जिल्ला संगठन कमिटीको सचिव बनाईयो । भूमिगत रुपमा (माले) कालमा गुल्मीमा सचिव भएर पाँच वर्ष काम गरेँ । अहिलेका तमाम कमरेडहरू त्यतिबेला मैले सम्पर्क गरेका, संचालन गरेका, कमिटीमा रहेर काम गरेका हुन । उदाहरणको लागि सचिव प्रदीप ज्ञवाली त्यसबेला जिल्ला कमिटीको सदस्य हुनुहुन्थ्यो । त्यहाँ राम्रो जनआधार तयार भयो । त्यसपछि गुल्मीबाट सरुवा भएर म नवलपरासी गएँ । त्यहाँको जिल्ला सचिव भएँ । त्यहाँ पार्टी छिन्नभिन्न अवस्थामा थियो । त्यहाँ मैले जम्मा एक वर्षमात्र काम गरें । तर थोरै समयमा पार्टी काम व्यवस्थित भयो ।
त्यसपछि बाँके–बर्दियामा लथालिङ्ग भएको छ, तपाई त्यहाँ जानुपर्छ भनेर पार्टीले पठायो । बाँके–बर्दियामा संयुक्त जिल्ला कमिटी थियो, त्यसको सचिव भएर २ वर्ष काम गरेँ । पछि बाँके र बर्दियाको अलग–अलग कमिटी बन्यो । त्यतिबेला सुदूर पश्चिमको जिम्मेवारी बामदेव गौतमले लिनुभएको थियो । सुदूरपश्चिम (त्यतिबेलाको राप्ती, भेरी, सेती, महाकाली र कर्णाली) को सचिव वामदेव गौतम हुनुहुन्थ्यो, म उपसचिव थिएँ । दाङमा नेत्रलालजीको निधन भयो । त्यसपछि दाङमा कसले काम गर्ने भन्ने भयो । केही समय देवेन्द्र घिमिरे र गोविन्द कोइरालालाई पठाइयो । गोविन्दजी विभिन्न कारणले गर्दा अन्यत्र जानुपर्ने भयो, म फेरि दाङ गएँ । त्यहाँको जिल्ला संगठन कमिटीको सचिव भएर २०४३–४४ मा लगभग २ वर्षजति काम गरेँ । त्यसपछि सेती महाकालीमा संगठन अस्तव्यस्त छ, त्यहाँ जानुप¥यो भन्ने कुरा आयो । ०४५ सालमा सेती महाकाली पार्टी कामको लागि पठायो । त्यहाँ सवभन्दा कठिन र दुःखद अवस्था थियो । कतिपय जिल्लामा त जम्मा एक जना व्यक्तिलाई समातेर काम गर्नुपर्ने हुन्थ्यो । त्यतिबेला अहिलेजस्तो बस चढ्ने, प्लेन चढ्ने सुबिधा थिएन, पैदल नै हिड्नुपथ्र्यो । सेती महाकालीमा कि पन्चको कि त कांग्रेसको प्रभाव थियो । मैलै कैलालीलाई आधार बनाएर संगठन विस्तारको काम गरेँ । त्यहीँ काम गर्ने क्रममा बहुदल आयो । त्यतिबेला धनगढीमा कांग्रेस र वाममोर्चाले विशाल सभा ग¥यो । बहुदल आइसकेपछि सेती महाकालीमा मालेका ठूल्ठूला सभा गरियो । गाउँगाउँसम्म सभा गर्दै संगठन निर्माण गर्दै हिडियो ।
बहुदल नआउँदै मालेको महाधिवेशन भएको थियो । त्यो महाधिवेशनमा म सेती महाकालीबाट एक्लो प्रतिनिधि थिएँ । चौथो महाधिवेशनमा म केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएँ । त्यसपछि पनि केही समय सेती महाकालीको जिम्मेवारी लिएँ । पछि महाकाली र सेतीको अलग कमिटी बनाउने कुरा भयो । ०४८ सालको चुनाव हुने भएपछि ४७ सालको अन्तिम तिर पार्टीले मलाई राप्ती अञ्चलको प्रमुख बनाएर पठायो । त्यहाँ गोपाल शाक्य इन्चार्ज हुनुहुन्थ्यो । गोपाल शाक्य वाग्मतीतिर आउनुपर्ने भयो । नयाँ कार्य विभाजन भएपछि महाकालीमा विष्णु पौडेल, सेतीमा सुरेश कार्की, कर्णालीमा सुरेन्द्र पाण्डे र राप्तीमा म गयौँ । राप्तीको सचिव भएर काम गरेँ । ०४८ सालमा चुनाव लडेँ । त्यहाँ कांग्रेसको दवदवा थियो । खुमबहादुर खड्का त्यहीँबाट चुनाव लडेका थिए । हाम्रो सवभन्दा कमजोर दाङको ३ नं. क्षेत्र थियो । त्यहाँ खुमबहादुरको विरुद्ध को उठ्ने भन्ने प्रश्न खडा भयो । म पार्टीको केन्द्रीय सदस्य र राप्तीको सचिव पनि भएकाले म उठ्छु भने । सोचेको भन्दा धेरै राम्रो मत (१४५००) आयो । खुमबहादुरले जिते । उनी त्यतिबेला बहालबाला मन्त्री थिए । उनी गाडीमा बन्दुक लिएर चुनाव प्रचारमा हिड्थे । हामी पैदलै चुनाव प्रचारमा खटियौँ । अन्तिम अवस्थामा कांग्रेस हार्ने स्थितिमा पुगिसकेको थियो, अन्तिम दुई दिनमा धेरै भोट खरिदविक्री भयो । तर पनि हाम्रो सम्मानजनक मत आयो ।

कम्युनिष्ट राजनीतिमा लाग्दा सवभन्दा कष्ट पाएको अवस्था कुन हो ?
सेती महाकालीमा काम गर्दा संगठन पनि थिएन, खानेबस्ने ठाउँ पनि थिएन तर त्यहाँ पार्टी बनाउनुपर्ने थियो । आफ्नो नाम ढाँट्दै, छक्क्याउँदै हिड्नु पर्ने, राप्ती र लुम्बिनीमा वारेन्ट थियो, प्रहरी प्रशासनलाई त्यहाँ पनि खवर नहुने कुरा भएन । त्यसकारण जोगिएर पनि हिड्नुप¥यो । बाटो पनि चिनेको छैन । चिठीको आधारमा भेटेर मानिसलाई कन्भिन्स गर्ने हो । प्रोत्साहन गर्ने मान्छे पनि हुँदैन थियो । भोकै पनि बस्नुप¥यो । तर पनि समाज परिवर्तनको आन्दोलनमा होमिएकाले दुःख कहिल्यै लागेन, सधैँ उत्साहको साथ काम गरियो । तर मेरो त्यहाँको बसाई निकै कष्टकर रह्यो ।

प्रहरी प्रशासनको आँखा चाहिँ तपाई माथि परेन ?
भूमिगत भएपछि धेरै पटक प्रहरीलाई मैले छक्याएँ । कति पटक त म घरमा बसेको बेला प्रहरी आयो । संयोग यस्तो प¥यो कि म कहिल्यै प्रहरीको हातमा परिन् । कैयौँ घटना यस्ता छन, यताबाट प्रहरीले खोज्दै जाने, उताबाट म आउने पनि भयो । कुनै पनि हालतमा प्रहरीको हातमा नपर्नू भन्ने पार्टीको निर्देशन हुन्थ्यो किनकी एक जना नेता जेल पर्दा ठूलो क्षति हुन्थ्यो । प्रहरीको आँखा परेकै कारण दशैँपछि भूमिगत हुने योजना भएपनि भदौमै हुनुप¥यो । तर पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन विरोधी आन्दोलनको क्रममा धेरैपटक गिरफ्तारीमा परियो । एकपटक एक महिनासम्म जेल परें ।

भूमिगत हुन लाग्दा परिबारले आपत्ति गरेनन् ?
मैले श्रीमतीसँग भूमिगत हुनेबारे सल्लाह गरिरहेको थिएँ । बच्चा (छोराछोरी), श्रीमती, बुबाआमा, स्थायी जागिर, एमएको पढाई सवै छाड्नुप¥यो । श्रीमतीलाई सम्झाउन थालेँ । म जागिरमै बसेर राजनीति गर्ने की जागिर छोडेर जीवराजजी जस्तै राजनीति गर्ने ? उनले पनि राजनीतिमा सघाउँथिन । ‘तिमी मानसिक रुपमा तयार नभएसम्म म भूमिगत जान सम्भव छैन’ भने । लुक्दै हिड्नुपर्ने, भाग्दै हिड्नुपर्ने अवस्था आयो । जनमत संग्रह भयो, बहुदलले हा¥यो, निर्दलले जित्यो । त्यो चुनावले कम्युनिष्टलाई काम गर्न सजिलो भयो । मैले सभाहरूमा जोडदार भाषण गरेको थिएँ । मलाई प्रशासनले विशेष निगरानी गर्न थाल्यो । सिडिओले बोलाएर ‘राजनीति गर्ने भए जागिर छाड्नुस’ भन्यो । पाल्पा जिल्लाको पश्चिममा जति पनि विद्यार्थी, शिक्षक आन्दोलन भइरहेका छन्, त्यसको मुख्य नेता यही हो भनेर प्रशासनले मलाई निशाना बनायो । एक दिन स्कूल जाँदै थिएँ । माथिबाट विद्यार्थीहरु तल झर्दै थिए, उनीहरुले तपाईलाई पुलिसले खोजिरहेका छन, स्कूल नजानुहोस भने । एकजना विद्यार्थीलाई साथमा लिएर दिनभर जंगलमा बसेँ । विद्यार्थीले सूचना ल्याउथे । प्रशासन कुनै हालतमा पनि नछाड्ने भन्ने निष्कर्षमा पुगेको रहेछ । फेरि के गर्ने त भन्ने प्रश्न उठ्यो । दशैँ पछि स्कूल छाड्ने तयारी थियो । त्यो घटना भदौमा भयो । प्रशासनले निगरानी गरेका कारण जागिर नछाडे जेल जानुपर्ने थियो । श्रीमतीले ‘तपाईले जागिर छाडेपनि छोराछोरीलाई हुकाउँछु, तपाई पूर्णकालिन राजनीतिमा लाग्नुस’ भनिन् । दाईलाई पनि म भूमिगत हुने भएँ भनेँ । दाईले दुःख मान्नुभयो । एक दिन मेरो स्कूलका पिउन (नरबहादुर हमाल जसलाई संगठनमा राखेको थिए) लाई बोलाएर राति ११ बजे खाना खाएर आफुलाई चाहिने सामाग्री (खुकुरी, लठी) बोकेर हिड्यौँ । भदौको महिना, पहाडको ठाउँ, झम–झम पानी परिरहेको थियो । वारी–पारी खोलाहरु सुसाई रहेका थिएँ । छाता ओढेर अध्यारो बाटो छिचोल्दै म भूमिगत भएँ । हिंड्ने बेला श्रीमतीसँग दह«ोसँग हात मिलाएँ । दुबै हाँसेर विदा भयौं ।

भूमिगत भएको कति अवधिपछि परिवारसँग सम्पर्क भयो ?
भूमिगत भएको ६ महिनापछि परिवारसँग सम्पर्क भयो । म ६ महिनासम्म घरमै आइनँ । त्यसपछि कहिलेकाहीं राती घरमा आउने, दिनभरी घरमै लुकेर बस्ने, अनि फेरि राति निस्कने गरिन्थ्यो । कुनै पनि ठाउँमा जाँदा मध्यरातमा घरभित्र पस्ने, आवश्यक मान्छेसँग भेटघाट गर्ने, कमिटीका बैठक गर्ने र राति निस्कने गरिन्थ्यो ।

त्यतिबेला राजनीतिमा कुनै विवाद देखियो कि देखिएन ?
पार्टीभित्र अनेक खाले विवादहरू त रहि नै रहे । जनमत संग्रहको कालमै पनि एक महिनाको बीचमा तीन वटा निर्देशन आए । एक पटक सक्रिय बहिस्कार, अर्को पटक निस्कृय खालको बहिस्कार, अर्को पटक पाँच पूर्व सर्तसहितको समर्थन । यस्तो बेला पार्टीमा निकै बहस हुन्थ्यो, विवाद हुन्थ्यो । पछि राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने विवाद उत्पन्न भयो । कतिपय अवस्थामा सीपी मैनालीले गरेका गुटगत कामको विरोध भयो । अनेरास्ववियुमा आएको विभाजन, त्यसले पारेको असर पार्टीभित्र पनि प¥यो । अन्तरपार्टी संघर्ष निकै चल्यो । मजदुर किसान पार्टी मालेमा मिसिसकेपछि लुम्बिनी अञ्चलमा डिबी सिंहले नयाँ विचार ल्याए । उनले ट्राटस्कीपन्थी विचार ल्याएपछि त्यसको विरुद्ध कडा वैचारिक संघर्ष भयो । पछि उनी पार्टीबाट निष्काषित नै भए । छलफल, बहस र चर्को विवाद हुन्थ्यो । र, पार्टीमा संयुक्त जनआन्दोलनको विषय, जनवादी क्रान्तिको कार्यक्रम, प्रधान अन्तरविरोध लगायत विभिन्न विषयमा बहस, विवाद भइरहन्थ्यो । भूमिगत कालमा सीपी मैनालीपछि झलनाथ खनाल महासचिव हुनुभयो । झलनाथ महासचिव भएको कार्यकाल भनेको नेकपा (माले) को जीवनकालमा सवैभन्दा धेरै वैचारिक काम भएको थियो । संगठन निकै धेरै विस्तार भएको थियो । त्यतिबेला (माले) पार्टी सशक्त रुपमा अगाडि बढेको थियो । ०४६ सालको महाधिवेशनमा महासचिव खनालले नै मदन भण्डारीलाई महासचिवमा प्रस्ताव गर्नुभयो ।

मुख्यमुख्य सहयात्री, सहकर्मीको कसरी मुल्याङकन गर्नुहुन्छ ?
सहयात्री धेरै भए । पुष्पलाल समूहको कार्यकालको सहयात्री गोविन्द्र कुुुसुम । उहाँ पछि सरकारी जागिरतिर जानुभयो । सचिव पनि हुनुभयो । म राजनीतिमा लागेर मन्त्री भएँ । वामदेव, जीवराज, सिद्धिनाथ, देवेन्द्र घिमिरे मभन्दा सिनियर हुनुहुन्थ्यो । शुरुमा बाक्लो सम्बन्ध भने जीवराजजी र सिद्धिनाथसँगै हुन्थ्यो । जीवराजजीसँग म एकदमै प्रभावित थिएँ । सीपी मैनालीबाट सुरुमा प्रभाव परेको थियो । पछि मात्रै उहाँ सीपी हुनुहुँदोरहेछ भन्ने थाहा भयो । सुदूर पश्चिमाञ्चलमा काम गर्दा क. वामदेव गौतम र गोविन्द कोइरालासँग निकट सम्बन्धमा रहेर काम गरियो । झलनाथ खनाल महासचिव भएपछि विभिन्न ठाउँमा उहाँले भेला प्रशिक्षण चलाउनुभयो । उहाँका लेख, रचनाबाट धेरै प्रभावित भइयो । मदन भण्डारी आएपछि उहाँले सवैभन्दा बढी प्रभाव पार्नुभयो ।

पार्टीमा के के जिम्मेवारी सम्हाल्नुभयो ?
धेरैजसो मैले लुम्बिनी अञ्चलदेखि सेती महाकालीसम्म काम गरेँ । अहिलेसम्म काम गर्दा के स्थिति बनेछ भने मेची, कोशी र सगरमाथ बाहेक सवै भूगोलको जिम्मा लिएर मैले काम गरेछु । मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चलको जिम्मा लिएर काम गरेँ । भाषण गर्ने, प्रशिक्षण चलाउने काम त देशभर धेरै ठाउँमा भए तर भूगोलको जिम्मा लिएर त्यसरी काम गरेँ । त्यस्तै सम्पर्क विभाग, कार्यालय सचिव, सचिवालय सचिव, प्रचार विभाग प्रमुख, पार्टी स्कूल विभाग प्र्रमुख, संगठन विभाग प्रमुख, आर्थिक विभाग प्रंमुख, राज्य व्यवस्था विभाग प्रमुख भएर काम गरेँ । ०४८ र ०६४ सालमा चुनाव लडेर हारियो, ०५४ सालमा राष्ट्रिय सभा सदस्य भएँ र ०६० सालमा स्थानीय बिकास मन्त्री भएँ । ०५६ देखि राष्ट्रिय सभामा विपक्षी दलको नेता पनि भएँ । समानुपातिकबाट संविधानसभाको समस्य भएँ । ०४६ सालदेखि केन्द्रीय कमिटी सदस्य ०५५ सालदेखि स्थायी कमिटी सदस्य, आठौं महाधिवेशनमा सचिव र नवौंबाट उपाध्यक्ष भएँ ।

वाम आन्दोलनलाई फर्केर हेर्दा तपाईको मुल्याङकन के छ ?
हामीले ०२८ सालमा मातहतका कमिटी र कार्यकर्तालाई जे प्रशिक्षण दिन्थ्यौँ, विचमा हामीले १५ वर्ष बिर्सिएछौँ र १५ वर्षपछि फेरि फर्किएर त्यही ठाउँमा (संयुक्त जनआन्दोलन) पुगेछौँ । संयुक्त जनआन्दोलनबाट निरंकुश पञ्चायती व्यवस्था ढालेर प्रजातान्त्रिक व्यवस्थाको माध्यमबाट शक्ति सञ्चित गर्दै क्रान्ति गर्नुपर्छ भन्ने पुष्पलालको मान्यता थियो । त्यस किसिमको प्रशिक्षण ०२८ सालमा मैले दिन्थेँ । १५ वर्ष क्रान्तिको लागि भनेर त्यो राजनीति छाडेर अलि उग्र बाटोमा लागिएछ । ०२८ सालमा मैले जे प्रशिक्षण दिन्थेँ, ०४५ तिर आउँदा त्यही कुरा भन्न थालिएछ ।
अर्को, बनारसमा पुष्पलाल भोकभोकै बसेको र एक छाक खाएर बस्दा अल्सर भएको, अल्सर बिग्रेर क्यान्सर भएको र त्यही कारण पुष्पलालको देहावसान भएको घटना । कम्युनिष्ट पार्टीमा लाग्दा राम्रोसँग खान नपाउँदा त्यही कारणले रोग लागेर नेताहरु मरेको मैले प्रत्यक्ष देखेँ । धेरैसँग भेटियो, कतिले बदमासी गरे । नेपालको कम्युनिष्ट आन्दोलन विभाजनको अवस्थामा भएपनि वादविवादले निष्कर्ष निकाल्दै आज यो ठाउँमा आई पुगेको छ । विगतका ती सवै घटनाक्रमको योगफलको रुपमा आजको स्थिति आएको हो । यो अवस्था ल्याउन विभिन्न खालको जनआन्दोलन, सशस्त्र संघर्ष (कुनै समय हामीले पनि ग¥यौँ । अर्कोले पनि ग¥यो) को योगदान छ । सशस्त्र संघर्षबाट मात्र हुँदोरहेनछ भनेर सवैले शान्तिपूर्ण बाटो लिए । पछि माओवादी समेत शान्ति प्रक्रियामा आउने अवस्था बन्यो । यो अत्यन्त रोचक, अत्यन्त मार्मिक छ । गल्ती नै गरेको भएपनि सवैले योगदान गरेका छन् । आज हामी यो ठाउँमा छौँ । हिजो हामीले एक दशकसम्म माओत्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दै पार्टी बनायौँ । आन्दोलन ग¥यौँ, सशस्त्र संघर्ष ग¥यौँ । त्यसले समाज परिवर्तनमा भूमिका खेल्यो । झापा विद्रोहको पनि आफ्नो भूमिका छ । हिजो (माले) ले निर्वाह गरेको भूमिका र हिजो माक्र्सवादी पार्टीले निर्वाह गरेको भूमिका आफ्नो– आफ्नो ठाउँमा छ । माक्र्सवादीले पनि समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्यो भने (माले) र (चौम) ले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेले । गल्ती कमजोरी माक्र्सवादी, माले, चौम सवैमा थिए । तर यिनीहरूले आ–आफ्नो बेलामा सकारात्मक भूमिका खेलेका छन् । तुल्सीलालको संगठन सानै थियो तर त्यसले पनि सकारात्मक भूमिका खेलेको छ । कसैमा उग्रपन्थी र कसैको दक्षिणपन्थी प्रवृत्ति देखिएका होलान तर तिनीहरूले पनि समाज बदल्न भूमिका खेलेका छन् । जुन दिन पञ्चायतसँग घुँडा टेके त्यो केशरजंग रायमाझीको गद्दारी नै हो । तर, त्यो भन्दा अगाडि पार्टी निर्माणमा उनले खेलेको भूमिकालाई पनि सकारात्मक रुपमा हेर्नुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टीको भविष्य कस्तो देख्नुुहुन्छ ?
नेपालको मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनमा समेत बहुदलीय प्रतिष्पर्धाको आधारमा पूँजीपति वर्गसँग चुनाव लडेर कम्युनिष्टहरूले झण्डै दुई तिहाई बहुमत जितेको इतिहास दुनियामा कही छैन । यो पहिलो हो । यसलाई यसरी पनि हेर्न सकिन्छ पेरिस कम्युन असफल भयो तर त्यसले विश्वमा एउटा सन्देश दियो । दुनियालाई क्रान्तिकारी बाटोमा अगाडि बढ्न त्यसले प्रेरित ग¥यो । सर्वप्रथम दुनियामा सर्वहारा वर्गको नेतृत्वमा अक्टुवर क्रान्ति (समाजवादी क्रान्ति) रुसमा भयो । त्यसले संसारमा नयाँ युगको सुत्रपात ग¥यो । विश्वमै अव समाजवादी युग आउँछ भन्ने सन्देश अक्टुवर क्रान्तिले दियो । त्यहाँ विभिन्न खाले कमजोरीले सोभियत मोडेलको समाजवाद समाप्त त भयो तर सोभियत संघको क्रान्तिको सकारात्मक प्रभाव विश्वभर फैलियो । पुरानो समयमा जुन किसिमका क्रान्ति भए, आजको लोकतान्त्रिक युगमा नेपालमा भएको यो परिवर्तनले अवका कम्युनिष्टले, अवका माक्र्सवादीहरुले जनमतको आधारमा नयाँ तरिकाले समाज रुपान्तरण गर्न सकिन्छ । अव पुरानो ढर्राले आजको युगमा क्रान्ति सम्भव छैन भन्ने सन्देश संसारभर दिन सक्छ । तर त्यसका लागि एकतालाई टिकाउन, सरकारलाई जनताको पक्षमा काम गराउन, घोषणापत्र, सिद्दान्त, नीतिमा जे भनेका छौँ, त्यो अनुसार हामी सत्तामा बसेर काम गर्न सक्छौँ कि सक्दैनौँ ? हाम्रो आचरण, व्यवहार त्यो अनुसार देखाउन सक्छौँ कि सक्दैनौँ ? त्यसमा नेपालको कम्युनिष्ट आन्दोलनको भविश्य भरपर्छ र यदि हामीले साँच्चै स्थायी सरकार बनाएर कम्युनिष्ट आचरण, कम्युनिष्टको मुल्यमान्यताका आधारमा, माक्र्सवादी मुल्यमान्यताको आधारमा अगाडि बढ्दै जाने, देशलाई समृद्ध बनाउँदै जाने र कम्युनिष्ट पार्टीलाई एउटा सच्चा माक्र्सवादी कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउने, अनुशासित, लोकतान्त्रिक पार्टीको रुपमा अगाडि बढाउने काम गर्न सकियो भने यो नेपालको लागि मात्रै नभएर विश्व कम्युनिष्ट आन्दोलनको लागि प्रेरणादायी परिघटना हुन सक्छ ।

एमालेका सिनियर नेताहरूप्रति तपाईको मुल्याङकन कस्तो छ ?
पुष्पलालदेखि आजसम्मका सवै नेताहरूलाई मैले प्रत्यक्ष रुपमा भोगेँ । पुष्पलालको एउटा अवस्था देखेँ, मदन भण्डारी संसदमा चुनिएर आइसकेपछि उहाँको बसाई, लवाई, खुवाई, उहाँको घर डेरा देखेँ । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा उहाँको लवाई, खुवाई, बसाई, उहाँको जीवनशैली हेरेँ । प्रायः सवैको हिजोको आर्थिक स्थिति र आजको स्थिति नजिकबाट हेरेँ । त्यो सवै हेर्दा पुष्पलाल एउटा विशिष्ठ खालको व्यक्तित्व हुनुहुन्थ्यो । मनमोहन अधिकारी र मदन भण्डारी विशिष्ठ आदर्श नेताका रुपमा देखा पर्नुभयो । अरु नेताहरू परिवेश र परिघटनाले गर्दा नेतृत्वमा आउनुपर्ने, ल्याउनुपर्ने कारणले हुनुभएको छ । नत्र आम नेताहरूको जे अवस्था हो । सामान्यतया उहाँहरूको पनि त्यही हो ।
केपी ओली ?
केपी ओलीमा दृढ अडान छ, सशक्त प्रतिवाद गर्न सक्नुृहुन्छ । तार्किक हुनुुहुन्छ, तर्कबाट मासलाई कन्भिन्स गर्नुहुन्छ । तर समन्वय गर्ने, व्यवस्थापन गर्ने र सबैलाई परिचालन गर्ने कुरामा कमजोरी देखिन्छ ।
झलनाथ खनाल ?
झलनाथ खनाल अलि बौद्धिकता, चिन्तन गर्ने, लेख्ने, विश्लेषण गर्ने, अरुका कुरा सुन्ने, र अन्तिममा आफ्नो कुरा राख्ने नेता हुनुहुन्छ । तर छिटो निर्णय गर्न नसक्ने, निष्कर्ष दिन नसक्ने, कतिपय कुरामा अडिन नसक्ने, कतिपय विषयमा सशक्त प्रतिवाद गर्न नसक्ने उहाँका कमजोरी छन् ।
माधव नेपाल ?
माधव नेपाल अत्यन्त क्रियाशील, गतिशील, संयोजन, समन्वय, कप्रोमाइज गर्ने, निर्णय पनि गर्ने नेता हुनुहुन्छ । तर उहाँमा बैचारिक विश्लेषणमा कमजोरी छ । धेरै पढ्नुहुन्छ तर पनि विश्लेषणात्मक रुपमा जति माथि हुनुपर्ने हो, त्यो देखिन्नँ ।
वामदेव गौतम ?
वामदेव गौतम अत्यन्त क्रियाशील, अत्यन्त गतिशील, अति महत्वकाक्षी हुनुहुन्छ । उहाँ असन्तुलित पनि हुनुहुन्छ । कतिपय अवस्थामा बस्तुगत परिस्थितिसङ्ग मेल नखाने गरी अगािड बढ्नुहुन्छ ।

यसमा दुई फरक नेताबारे तपाईको धारणा बुझ्न मन लाग्यो ?
देवेन्द्र घिमिरे ?
देवेन्द्र घिमिरेलाई मैले सर्वप्रथम २६ सालमा भेटेको हुँ । म एलएलसी दिएर घर आएको थिएँ । त्यतिबेला मेरो साइलो दाई पार्टीमा लाग्नुभएको थियो । देवेन्द्र घिमिरे पुष्पलाल समूहबाट गुल्मी जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो । उहाँको भूमिगत नाम तामाङ थियो । साइलो दाइले आज पार्टीका एक जना नेता आउँदैछन, स्कूलमा भेला छ राति जाऔँ भनेपछि लाल्टिन बालेर हामी स्कूलमा गयौँ । पातलो दुब्लो मान्छेले बोलेको सम्झन्छु । उहाँ लगातार कम्युनिष्ट पार्टीमा लागिरहनुभएको छ । तर, पार्टीभित्रको परिस्थिति आदि इत्यादिले उहाँ अहिले ओझेलमा पर्नुभएको छ । तर पनि उहाँ सक्रिय रहिरहनु भएको छ । उहाँ एक पटक राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । उहाँ रुपन्देही जिल्ला विकास समितिको सदस्य हुनुभयो । विभिन्न परिवेशले उहाँ पछाडि पर्नुभयो ।
केशरमणि पोखरेल ?
केशरमणि पोखरेल जुन दिन पक्राउ पर्नुभयो, साँझ उहाँको नाममा दुःख मानेर छाक छोडियो । पार्टीको त्यति ठूलो नेता पक्राउ पर्दा ठूलो क्षति भयो भनेर भोकै सुतियो । पछि जेलमा उहाँमा समस्या देखियो । उहाँ कागज गरेर बाहिर निस्कनुभयो । पार्टी एकता भएपछि कार्यालय सचिव पनि हुनुभएको थियो । पछि फेरि पार्टीको भित्री कुरा पेपरमा चुहाउनुभएछ, छानविन कमिटी बन्यो, त्यसपछि उहाँले पार्टी छोडिदिनुभयो । पछि कांग्रेसमा प्रवेश गर्नुभयो । कांग्रेसले उहाँलाई कुनै महत्व दिएन । फेरि एमालेमा फर्कनुभयो । उहाँ पुष्पलालको पार्टीमा पुष्पलालपछि दोस्रो तहको नेता हुनुहुन्थ्यो । वास्तवमा त्यतिबेला केशरमणिले धेरै योगदान गर्नुभयो । बीचको कालमा गम्भीर गल्ती गर्नुभयो । पछि उहाँले आत्मालोचना गर्नुभएको छ, एमालेमा फर्कनुभएको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

अन्तमा तपाईलाई अरु केहि भन्नु छ कि ?
यहाँ प्रश्नोत्तरको क्रममा संक्षिप्त रुपमा केही कुराहरु व्यक्त गरिएको छ । तर विस्तृत रुपमा भन्नुपर्दा निकै धेरै रोचक र उल्लेखनीय घटनाक्रमहरु छन् । भविष्यमा ती कुराहरु सार्वजनिक गर्दै जानुपर्ला । यतिबेला मुख्य रुपमा नेकपा (एमाले), माओवादी (केन्द्र) बीचको एकीकरण प्रकृयाले मुलुकको ध्यानाकर्षण गरेको छ । कतिपय नेताहरुको व्यवस्थापनको विषय र तमाम तपशिलका कुराहरुमा अल्झिएर यो ऐतिहासिक कार्यभारबाट कदापि विमुख हुन मिल्दैन । यो मुलुकको शान्ति, राजनीतिक स्थायित्व, समृद्धि र विकासको लागि जति सक्दो छिटो पार्टी एकीकरणको प्रकृयालाई टुंग्याउनु पर्छ । हाम्रा सामु विराट सम्भावनासँगै गम्भीर चुनौतिहरु छन् । प्रमुख रुपले कम्युनिष्ट आन्दोलनभित्र विद्यमान आत्मकेन्द्रित व्यक्तिवाद, गुटवन्दी, संकीर्णता, अराजकता, स्वेच्छाचारिता, भ्रष्टाचार र अनैतिक चिन्तन र प्रवृत्तिलाई हटाउँदै लग्न सकियो भने यो देशको भविष्य निकै उज्यालो देख्छु । जीवनको लामो कार्यकाल राजनीतिको माध्यमबाट देश र जनताको सेवामा समर्पित गरियो । अब देशका शोषित, पीडित र पछाडि परेका जनताको मुहार हँसिलो देख्न पाए त्यही नै मेरो राजनीतिक जीवनको सार्थकता हुनेछ ।
000

17983 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank