राष्ट्रिय एकताको प्रमुख आधार खेलकुद हो: भरत शाह

आइतवार, साउन ५, २०७६



खेलकुद जीवनको अभिन्न अंग जस्तै हो । स्वस्थ जीवनका लागि खेलकुदको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । खेलले समाजमा विभिन्न द्धन्द्धहरु अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पेलेले फुटबल खेल्दा विश्वयुद्ध समेत एक दिनका लागि स्थगित गरिएको इतिहासमा पढ्न र सुन्न पाइन्छ । त्यस्तै जीवन नै खेलकुदमा समर्पीत गरेका नेपालका एक ज्युँदा इतिहास तथा पूर्व राष्ट्रिय भलिबलका टीम क्याप्टेन भरत शाह रहेका छन । शाहले आफ्नो खेल जीवनमा १९ औं पटकसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको कप्तानी समालेका थिए । महेन्द्र पुलिस क्लबमा रहेका शाह हाल प्रहरीकाे खेललाई सम्माल्दै आइरहेकाछन। खेलकुदलाई जीवन बनाएका प्रहरी निरिक्षक शाहसँग नेपालपाटीका भूपेन्द्र शाहले गरेको कुराकानी:

तपाई आज भोली केमा व्यस्त हुनुहुन्छ ?
म महेन्द्र पुलिस क्लबमा प्रहरी निरिक्षक पदमा कार्यरत छु । पुलिस क्लब भित्रका सम्पूर्ण खेलकुदहरुको व्यवस्थापन समालिरहेको छु ।

खेल जीवनको शुरुवात कसरी भयो ?
म सूदूरपश्चिम प्रदेश अछाम जिल्ला रिडिकोट १ मा २०२५ साल मंसिर १५ गते जन्मेको हुँ । मेरो बाल्यकाल अछाम जिल्लामै बित्यो । मैले एसएलसी अछामको महेन्द्र माविबाट २०४३ सालमा गरे । हामी भन्दा सिनियर दाइहरुले खेलेको हेरिरहन्थ्यौं । तर खेल्न पाइदैन थियो । स्कुल पढ्दा देखी नै मोजाको बल बनाएर खेल्ने गर्थ्यौ । स्कुलमा रहर लागे पनि सिनियरहरुले भलिबल छुन समेत दिदैनथे । त्यति बेला खेल्ने वातावरण पनि थिएन । खेलेर अलि ढिलो घर पुगेपछि घरमा प्रवेश गर्न पनि पाइदैन थियो ।

औपचारिक रुपमा कहिलेबाट खेल्न थाल्नु भयो ?
०४३ साल तिर एसएलसी पास हुनु पनि ठूलो कुरा हुन्थ्यो । एसएलसी फेल भए विवाह गरिदिने भन्दै घरपरिवारले केटीको कुरा चलाएका थिए । जब म एसएलसी पास भएँ तब म घर छोडेर बाहिर आएँ । दाइ बर्दियामा जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो । अहिलेको जस्तो मोटरको सहज पहुँच थिएन । साँफेबाट जहाज चढेर धनगढी अवतरण भइयो । बर्दिया जानका लागि कर्णाली नदिमा पुल थिएन । धनगढीबाट पलिया आएर रेल चढेर नेपालगञ्ज झरेर बर्दिया पुगियो । बर्दियामा म मानवीकी संकायमा भर्ना भए । त्यहाँ पढ्दै गर्दा कलेजमा साँझ भलिबल हुने गर्दथ्यो । एक दिन त्यहाँको स्थानीयसँग भेट भयो । त्यो साथी पनि पहिले अछाम बयालपाटामा पढेका रहेछन । उनलाई मैले भलिबल खेल्छ भन्ने थाह थियो । पछि उनले नै मलाई भलिबल खेल्न टिममा लगे । एक दुई हप्ता खेलेपछि म राम्रो खेलाडीको रुपमा परिचित भइसकेको थिएँ । खेलको क्रममा जिल्ला स्तरिय खेलमा आफ्नो टिम विजयी भयो । पछि क्षेत्रिय टिममा छनौंट भइयो । अञ्चल हुँदै म राष्ट्रिय भलिबल खेलमा सहभागी हुने अवसर पाएँ ।

हालसम्म कति खेलमा सहभागी हुनुभयो ?
मैले १५ औं राष्ट्रिय भलिबल देखि २४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार खेलेको छु । मेरो टिमले अनेकौं खेलहरुमा प्रथम र द्धितीय स्थान ओगट्दै पदक प्राप्त गरेको थियो ।

कति वटा अन्तराष्ट्रिय खेलकुदमा सहभागि हुनु भयो ?
मैले वि.स. २०५२ सालमा नेपाल बंगालादेश फ्रेन्डली भलिबल म्याच, सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता २०५२ मर्दास, नेपाल थाइल्याण्ड फ्रेन्डली भलिबल म्याच २०५६, आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता २०५६ काठमाडौं, बीच भलिबल प्रतियोगिता २०६१ बंगालादेश, भिक्टोरिया डे कप २०६१ बंगालादेश, नवौं एसियाली खेलकुद प्रतियोगिता पाकिस्तान २०६१, दक्षिण एसियाली बीच प्रतियोगिता २०६२ बंगालादेश लगायतका खेलहरुमा प्रथम भइयो । दक्षिण एसियाली बीच प्रतियोगिता २०६२ बंगालादेशमा उत्कृष्ट खेलाडी समेत घोषित भएँ । त्यस्तै १० औं एसियाली खेलकुद प्रतियोगिता श्रीलंका २०६३, दक्षिण एसियाली खेलकुद प्रतियोगित बंगलादेश २०६४, दक्षिण एसियाली खेलकुद प्रतयोगिता २०६४, तेस्रो एसियन बीच खेलकुद प्रतियोगिता २०६५ हुँदै चीन, कोरिया, भारत इण्डोनेसियामा भएका १९ वटा अन्तराष्ट्रिय खेलमा सहभागी भएको छु । मैले सन् २०१३ बाट खेलकुदमा सन्यास लिए पनि खेल क्षेत्रको विकासमा निरन्तरता दिइरहेको छु ।

थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि बन्नु भयो, खेलकुदमा के-कस्ता समस्या देख्नुभएको छ ?
राज्यले संघीय संरचना अनुसार खेलकुदको विकास गर्न सकेको छैन । बजेटको कमि, प्रशिक्षणको अभाव, भौतिक पूर्वाधारको कमि, खेलाडी पाउने सुविधाको कमि जस्ता थुप्रै समस्या रहेका छन ।

खेलको विकासका लागि राज्यले के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
खेलको बारेमा राज्यले नै बुझेन । यो कुनै फुर्सदको बेलामा मात्रै खेल्ने कुरा हैन । स्पोर्टस भनेको साइन्स हो । स्पोर्टसमा लागेको व्यक्ति स्वस्थ हुन्छ । राज्यका लागि स्वस्थ नागरिकले अधिकतम योगदान दिन सक्छन् । भनिन्छ नि स्वस्थ शरिरमा नै स्वस्थ मष्तिकको वास हुने गर्छ । अहिलेको समयमा हरेक विद्यालयमा अनिवार्य खेलकुदको विकास र विस्तार गर्न सक्यो भने स्वस्थ नागरिक उत्पादन भई समृद्धि हुन सक्छ । स्पोर्टसले अनुशासित बन्न सिकाउँछ भन्ने राज्यले बुझ्नु पर्छ । राष्ट्रिय एकताको प्रमुख आधार नै स्पोर्टस हो । यसले कुनै धर्म, जातजाती, भूगोल भनेर धनी गरिब भनेर विभेद गर्दैन । यसको विकास र विस्तारका लागि सातवटै प्रदेशमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कभडहल निर्माण गर्न जोड दिनु पर्छ । देशको मुटु मानिने काठमाडौंमा रंगशाला निर्माणमा ढिलाई हुनु दुखद हो ।

खेलाडीहरु खेल क्षेत्रमा नटिक्नुको कारण चाहिँ के होला ?
आर्थिक अवस्था र खेल जीवनपश्चात खेलाडीको भविष्य सुनिश्चित नहुनु नै खेलाडीहरु खेल क्षेत्रमा नटिक्नुको प्रमुख कारण हो । अझ खेलाडीहरुको वृति विकासमा राज्यको लगानी करिब शुन्य हुनु नै हो । विदेशको कुरा गर्ने हो भने खेलाडीको पुरै जिम्मा राज्यले लगेको हुन्छ । तर यहाँ खेलमा जति पसिना बगाए पनि खेलाडीहरुको उचित सम्मान हुन सकेको छैन । रहर गरेर मात्रै हुँदैन । राष्ट्रको नाममा खेलेपछि राज्यले लगानी गर्नु पर्ने हुन्छ । उदारणका लागि वैकुण्ठ मानन्धर साउथ एसियाको ३२, ३३ वर्षसम्म पनि उहाँको म्याराधुन रेकर्ड अहिले सम्म कायम छ । दिपक विष्ट साउथ एसियाको चारवटा स्वर्ण पदक विजेता हुन । तर राज्यले त्यस्ता प्रतिभाहरुलाई बिर्सदैछ ।

खेलकुद भित्रको वेथिती रोक्न के गर्नु पर्ला ?
यो एक जना खेलाडीले मात्रै गरेर सम्भव छैन । गलत प्रवृतिका बारेमा सबै ठाउँबाट खबरदारी गर्न जरुरी रहेको देखिन्छ । भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । संरचना सुधार्दै लैजानु पर्छ । त्यसको लागि राज्यको पहिलो दायित्व हो । राखेप भित्रको विकृती विसंगतीको अन्त्य गर्न पहल गर्नु पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata