बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्छ भन्ने छैन: स्त्री रोग विशेषज्ञ डा. शर्मा

सुदूरपश्चिममा झण्डै ३५ देखि ४० प्रतिशत महिलामा पाठेघर सम्बन्धी समस्या

बिहिबार, चैत्र २१, २०७५



सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका महिलाहरु पाठेघर खस्ने समस्या विकराल बन्दैछन् । सुदूरपश्चिमको भौगोलिक विकटता, सानै उमेरमा विवाह हुने, जन्मान्तर कम हुने, सुत्केरी अवस्थामा आराम नपुग्ने, गाह्रो काम गर्नाले, पोसिला खानेकुराको कमि, जनचेतनाको कमीले गर्दा यो समस्या झन बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय वर्षेनी लाखौँ खर्च गरेर निःशूल्क शल्यक्रिया शिविर गर्दै  आइरहेको छ तर समस्या झन बढ्दै गईरहेको छ । सुदुरपश्चिममा अन्धविश्वास, वालविवाह र विभिन्न कुरीति, कु-संस्कारले यो समस्याले अझै जरा  गाडेको देखिन्छ । पाठेघर खस्ने समस्याका कारण महिलाहरूले हेलामा बाँच्नुपरेको छ । अशिक्षा र गरिबीको कारण अधिकांश महिला पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्ने गरेका छन् ।

सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा रहेका महिलाहरूमा बढी समस्या छ । महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या मध्ये पाठेघर खस्ने मुख्य समस्या हो । परिवारका सदस्यसँग कुरा गर्दा लाज र इज्जत जाने डरले सबैले रोग पालिरहेको अवस्था छ । यसले कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमानबाट समेत पीडित भएर बाँच्न बाध्य छन् ।

सुदुरपश्चिमका महिलाहरुमा पाठेघर खस्ने समस्या समाधानको लागी नेपालगंज मेडीकल कलेजले प्राविधिक सहयोग गर्दै आइरहेको छ, त्यै पनि समस्यामा कमि हुन सकेको छैन् । डडेल्धुरा जिल्ला अस्पतालले यही चैत्र ९ गतेबाट १६ गते सम्म सञ्चालन महिलाको पाठेघर सम्बन्धी निःशुल्क शल्यक्रिया शिविरमा करीब ८८ जना महिलाको शल्यक्रिया गरीएको छ भने गत वर्ष ९४ जना बिरामीको नि:शुल्क शल्यक्रिया गरेको थियो । नेपालगंज मेडीकल कलेजले महीलाको पाठेघर सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर २०६७ सालबाट गर्दे आईरहेको छ । शल्यक्रिया पछि आउने समस्याको पनि नि: शुल्क उपचार गर्दै आईरहेको छ ।

स्त्री रोग विशेषज्ञ डा.निर्मला शर्मा

स्त्री रोग विशेषज्ञ डा.निर्मला शर्मा

सुदुरपश्चिममा मात्रै यो समस्याले किन जरा गाडको छ त ?, महीलाको पाठेघर सम्बन्धी निःशुल्क शल्यक्रिया शिविरमा डडेल्धुरा जिल्ला अस्पतालमा आउनुभएका नेपालगंज मेडीकल कलेजमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.निर्मला शर्मासँग नेपालपाटी संवाददाता पदम राज भट्टले गरेको कुराकानी:

पाठेघर खस्नु भनेको के हो ?
पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर ‘लुज’ भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ, सपोर्ट कम भएपछि ‘लुज’ भएर तल आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ । कसैको कम खस्छ भने कसैको धेरै खस्छ । एकचोटि बच्चा पाइसकेपछि ‘लुज’ हुन्छ, यस्तो हुनेबित्तिकै खसेको भन्न मिल्दैन । पाठेघर खसेको धेरै महिलाहरूले थाहा नै पाउँदैनन् बढी भएपछि मात्रै थाहा पाउने गरेका छन् ।

आंङ खस्ने समस्यामा पाठेघरको दोष हुँदैन, त्यसलाई जोड्ने तन्तुहरूको हुन्छ । कति महिलाहरूले आंङ खस्ने बित्तिकै निकाल्नु पर्यो भन्छन् तर निकाल्नु पर्दैन, मर्मत गर्नुपर्छ । पाठेघरको उपचारका लागि शिविरहरू भइरहन्छन् । मैले पनि धेरै शिविरमा गएर अप्रेसन गरेको छु । समस्या छ भने नेपालगंज मेडीकल कलेजमा  आउनुस्, अप्रेसनको लागि पैसा लाग्दैन । बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्ने समस्या आउँछ भन्ने छैन । गर्भवती नभएका युवतीमा पनि समस्या आउन सक्छ ।

सुदुरपश्चिममा महिलाको पाठेघर सम्बन्धी शल्यक्रिया शिविर गर्दै आउनुभएको छ, महिलाको पाठेघर सम्बन्धी के कस्ता समस्या र लक्षणहरु देखीएका छन् ?
अब मुल रुपमा भन्दा खेरी पाठेघर झर्ने महिलाको शल्यक्रिया गर्न आएका हौँ । यो भनेको हाम्रो वर्षेनि हुने गर्दछ । हरेक वर्ष शल्यक्रिया शिविर गर्दा पनि पाठेघर खस्ने समस्या कुनै पनि हालतमा कम भएको देखिदैन । हामिले भर्खर डडेल्धुरामा सञ्चालन भएको शिविरमा करीब १०० जना बिरामीको शल्यक्रिया गर्यौ, गएको वर्ष पनि करीब ९४ जनाको शल्यक्रिया गरेका थियौँ । यो समस्या घटेको छैन ।यो समस्याले विकराल रुप लिने देखिन्छ । महिलाको पाठेघर खसेपछि निम्न लक्षणहरु देखा पर्दछन्:-

–योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुनु, अप्ठारो महसुस हुनु
–खोक्दा, भारी बोक्दा डल्लो झन तल झर्ने
–तिग्राको बिचमा गह्रौ जस्तो हुदा हिड्न र काम गर्न अप्ठयारो हुने
–टुक्रुक्क बस्दा कठिनाई हुने
–दिसापिसाब गर्न गाह्रो हुने
–छिन् छिनमा पिसाव लागिरहने
–ढाड कम्बर तथा सानो पेट दुख्ने आदि, आंङ खस्ने रोगको लक्षणहरु हुन ।

तपाईको अनुभवमा कुन क्षेत्रमा यो समस्या बढी देखीएको छ ?
यो समस्या तराई भन्दा भौगोलिक आधारमा हिमाली र पहाडी क्षेत्रमा बढी देखिएको छ । जस्तै मुगु, रुकुम, डडेल्धुरा, डोटी जिल्लामा धेरै देखिएको छ ।

डा.निर्मला शर्मासँग नेपालपाटीडा.निर्मला शर्मासँग नेपालपाटी संवाददाता पदम राज भट्ट संवाददाता पदम राज भट्ट

डा. शर्मासँग नेपालपाटी संवाददाता पदम राज भट्ट

सुदुरपश्चिममा वर्षेनि यो समस्या बढ्दै गईरहेको छ, यसको कारण के होला?
सुदूरपश्चिम प्रदेशमा महिलाको आंङ खस्ने समस्या घट्न सकेको छैन् । सुदूरपश्चिममा झण्डै ३५ देखि ४० प्रतिशत महिलामा यस्तो समस्या रहेको छ। नेपालका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा यो समस्या बढि रहेको हो। सुदूरपश्चिम प्रदेशमा अहिले पनि घरमै बच्चा जन्माउने परिपाटी कायमै रहेकाले आंङ खस्ने समस्या न्यूनीकरणमा चुनौती बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा मात्रै होईन तराईका जिल्लामा पनि आंङ खस्ने समस्या कायमै रहेको हो। सुदूरपश्चिममा महिलाको पाठेघर खस्ने निम्नकारणहरु रहेका छन्:-

– सानो उमेरमा विवाह गर्नु
– सानो उमेरमा बच्चा जन्माउनु
– धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु
– दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु, स्वास्थ्य सेवाको पहुचबाट टाढा हुनु
– लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु
– सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु
– गह्रौ भारी बोक्नु
– टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु
– घाँस काट्ने ,पानी बोक्ने जस्ता काम गर्नु
– पेटको माथिबाट तलतिर कसेर पोटुका बाँध्नु
– सुत्केरी आमालाई बारम्बार खोकी लागिरहनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु

शल्यक्रिया पछि पुर्ण रुपमा ठिक हुन्छ की शल्यक्रिया बाहेक अरु कुनै उपचार पद्दती छ ?
शल्यक्रिया नगरीकन यो समस्या ठिक हुदैन । कुनै कुनै बिरामीमा शल्यक्रिया नगरेर रीङ राखेर सपोट दिन सकीन्छ । आंङ खस्ने समस्याबाट मुक्त  त हुन्छन् नै, आंङ झरी सकेपछि बस्न गाह्रो हुने, पिसाबमा समस्या हुने, दिसा गर्दा अपठ्यारो हुने आदि हुन्छ । कोही बिरामीमा अझै कम उमेरमा शल्यक्रिया भएको छ अथवा कम उमेरमा आङ खसेको छ भने पछि महिनावरी सुकेपछि उहाँहरुमा समस्या आउन सक्छ । त्यसमा पसिना आउने, चिडचिडापन हुने, मुटु छिटो-छिटो धड्किने, डिप्रेसनमा जाने समस्याहरु देखिन्छन्। त्यसपछि पनि एकचोटी आंङ खसेको शल्यक्रिया गरेपछि पिसाब थैली, दिसागर्ने थैली जस्ता सिस्टोसील, रीक्टोसिल अथवा भल्ट जुन ठाउँमा शल्यक्रिपछि सिलाएको पनी खस्ने समस्या आउन सक्छ ।

घरेलु उपचार के हुन सक्छ त?
लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकार महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ ।

कसरी बच्न सकिन्छ ?
कारण थाहा भयो भने राम्रो हुन्छ । बच्चा पाउने नै मुख्य समस्या हो भने दक्ष जनशक्ति भएको ठाउँमा डेलीभरी हुनुपर्छ । डेलीभरी गर्न नआउनेसँग गर्यो भने साल निस्किएन भनेर पेटमा थिचेर निकाल्न खोज्छन् ।त्यो समयमा त्यसै त पाठेघर ‘लुज’भएको हुन्छ, झन् थिच्दा धेरै ‘लुज’ हुन्छ । साल निस्किने भनेको त बच्चा जन्मिसकेपछि ५ देखि १५ मिनेटमा हो । त्यो आफैँ उप्किएर आउने हो । हतार गरेर हुँदैन, तर कतिलाई थाहा नभएर त्यसो गरिरहेका हुन्छन् । पाठेघर त बच्चा जन्मिसकेपछि पनि २/३ दिन बच्चा पेटमा हुँदाजस्तै रहिरहन्छ ।
तर, मानिसहरू नबुझेर अझै केही छ भनेर थिच्छन् । त्यो पनि मुख्य कारण हो – पाठेघर खस्ने ।

व्यथा लामो समयसम्म भयो भने पनि पाठेघर ‘लुज’ भएर खस्न सक्छ । सुत्केरी भएपछि ६ हप्तासम्म आराम गर्नुपर्छ । सामान्य व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ ।
पाठेघर खस्ने समस्याको समाधान खोज्नु  भन्दा पनि समस्या आउन नदिनु नै राम्रो हो । समस्या समाधानका लागी विवाह २० वर्ष पछि गर्ने, जन्मान्तर कम्तीमा ३ देखी ५ वर्ष  बनाउने, दुई सन्तान सुखी परिवार भन्ने कुरालाई आत्मसात गर्ने, सुत्केरी पछि पोशीलो खानेकुरा खाने, सुत्केरी भइसकेपछि २ देखी ३ महिना आराम गर्ने हो भने यो समस्या समाधान हुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata