हामीले त्यति प्रयत्न नगरेको भए, यो परिवर्तन हुने थिएन

बिहिबार, माघ ४, २०७४



त्याग र निष्ठाको राजनीति–५

नेपालपाटी डट कमले अहिलेको एमाले पार्टी निर्माण गर्न र नेपालमा समतामूलक लोकतन्त्र स्थापना गर्नको लागि कष्टप्रद लामो संघर्ष गरेका वरिष्ठ नेताहरूको जीवनको प्रारम्भिक कालदेखि हालसम्मको अबस्थाको बारेमा सकेसम्म विस्तृत रूपमा जानकारी लिई पाठकहरू समक्ष प्रस्तुत गर्ने अभियानलाई जारी राखेको छ । यो अभियान अन्तर्गतको पाँचौँ प्रस्तुतिको रूपमा यस पटक हामीले मोदनाथ प्रश्रितलाई प्रस्तुत गरेका छौं । यसअघिका चार वटा प्रस्तुतिलाई पाठकहरूले औधी मन पराइदिनु भएकोले त्यसवाट हामी ज्यादै उत्साहित भएका छौं । मोदनाथ प्रश्रितको संघर्ष पनि उत्तिकै प्रेरणादायी रहेको कुरा पाठकहरूले यो अन्तर्वार्ता पढने क्रममा थाहा पाउनु हुनेछ । यस्ता त्यागी र निष्ठावान् नेताहरू एमालेमा अरू पनि धेरै हुनुहुन्छ । हामी क्रमिकरूपमा उहाँहरूलाई पनि प्रस्तुत गर्दै जानेछौं । प्रश्रितसँग नेपालपाटी डट कमको लागि डा. गोबिन्द बहादुर थापा र निरज आचार्यले लिएको अन्तर्वार्ता ।

modnath govinda

तपाईको जन्म र जन्मस्थानबारे बताइदिनुहोस् न ?
मेरो जन्म अर्घाखाँची खिदिम हर्राबोट (पहिले गुल्मीमा पथ्र्यो) मा वि.सं. १९९९ साल असार ६ गते शनिबार भएको हो । म पण्डित घनश्याम पौडेल र बालिकादेवीको जेठो छोरो हुँ ।

तपाईंको पारिवारिक पृष्ठभूमि कस्तो थियो ?
हाम्रो सात पुस्ता पहिलेका पूर्वज पूर्णभद्र गुल्मीका राजाको दरवारमा पुरोहित बन्नुभएको रहेछ । सात पुस्तादेखि पण्डित–परम्पराबाट अगाडि बढेको हाम्रो परिवार अर्घाखाँचीमा आइसकेपछि पनि पण्डित पुरोहित हुँदै शिक्षा दीक्षामा लाग्दै आएको हो ।

तपाईंका परिबारको आर्थिक अवस्था कस्तो थियो ?
हाम्रो परिबारको आर्थिक अवस्था त्यति राम्रो थिएन । १०–१२ मुरी धान फल्थ्यो । अलिकति बारी थियो । त्यसैबाट गुजारा गर्नुपथ्र्यो । पिता घनश्याम पौडेलले हरिहर संस्कृत पाठशालामा अध्यापन गर्नुहुन्थ्यो । त्यसका अतिरिक्त गाउँघरमा माहिला बा रूक्मांगदले यजमानी जजमानी गरेर भएको अलिअलि कमाइले घरखर्च चलिरहेको थियो । २०११ सालमा पिताको मृत्युपछि हाम्रो परिबारले निकै साह्रो अप्ठ्यारो परिस्थितिको सामना गर्नुप¥यो । बि.सं. २०१३ सालमा कविता गौतम (पौडेल) सँग मेरो विबाह भयो । विबाहपछि म बनारस पढ्न गएँ । त्यतिबेला घरबाट आवश्यक खर्च लैजान सक्ने स्थिति थिएन । आफैले खर्चको जोहो गरेर अध्ययनलाई अगाडि बढाउन निकै संघर्ष गर्नुपर्‍यो ।

छोराछोरीको बारेमा केही बताई दिनोस्न ?
हाम्रा एउटा छोरा र दुईटी छोरी छन् । छोराछोरीहरू अप्ठ्यारो परिस्थितिमा जन्मिए र अप्ठ्यारै परिस्थितिमा हुर्किए । छोरा डा. विजयकुमार पौडेलले साह्रै मिहेनत गरेर अध्ययन गरी अर्थशास्त्रमा विद्याबारिधि गरेका छन् । उनको विबाह गर्दा पनि जेलको आगनमा बन्दीहरूले भात खुवाएका हुन् । ठूली छोरी शैलू शर्माले नर्सिङ्ग पढेर केही समय वीर अस्पतालमा काम पनि गरिन् । उनले प्रेम विवाह गरिन् । उनकी छोरीको कानमा समस्या भएपछि उपचारका लागि छोरी र जुवाईं अमेरिका गए । अहिले उतै बसेका छन् । कान्छी छोरी रचनाले दुई विषयमा एम.ए. गरेकी छन् । प्रोफेसर हुन लागेकी थिइन्, दिदी गएपछि उनलाई पनि विदेश जान मन लाग्यो । कान्छी छोरी र ज्वाई अहिले क्यानाडामा छन् ।

mod nathपण्डित परिबारको छोरो भएर पनि कसरी कम्युनिष्ट आन्दोलनमा होमिनुभयो ?
शुरुमा म कांग्रेस पार्टीको समर्थक थिएँ । तर त्यस पार्टीको नेतृत्वमा अलि सामन्ती संस्कार देखेपछि राजनीतिमा काम गर्दिनँ, साहित्य, संस्कृतिको क्षेत्रमा काम गर्छु भनेर हिँडेको थिएँ । तर पछि सोच्दै गएर २०२४ सालबाट कम्युनिष्ट पार्टीमा लागेँ र २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएँ । मलाई कसैले पनि कम्युनिष्ट बन भनेको होइन । पहिले बनारसमा बस्दा पुष्पलालसँग सामान्य संगत भने गरेको थिएँ ।

हाल तपाईंको आर्थिक अवस्था कस्तो छ ?
म विद्यार्थी जीवनपछि तीन वर्ष पत्रकार र २ वर्ष प्राध्यापक भएँ । त्यसपछि म नौ महिना मन्त्री भएँ । बाहिर निस्कदा हामीसँग पैसा पनि थिएन् । अव कहाँ बस्ने भनेर योजना बनायौँ । एक सय मान्छेको नाम टिपेँ । एक हजारदेखि दश हजारसम्म सापटी उठाएँ, सात लाख उठेछ । त्यही पैसाले स्वयम्भूमा घडेरी किनेर घर बनायौँ । पछि आफ्ना कृतिका किताव बेच्ने अभियान पनि चलाएँ । त्यो घर साँगुरो र बाटो अप्ठेरो भएकाले बेचेर पुनः स्वयंभू क्षेत्रको मुल सडकको छेउमा अर्को घर बनायौँ । त्यसको तीन वर्षपछि ६५ लाखमा स्वयम्भूको त्यो घर बेच्यौँ र त्यसबाट १० लाख जति ऋण ति¥यौँ । यो घर (थानकोटको हालको घर) १३ लाखमा घरघडेरीसहित पायौँ । त्यसमा दुई तला थप्यौँ । त्यसबाट केही रकम बचत पनि भयो । त्यसैको ब्याजबाट अहिले घरखर्च चलिरहेकोे छ ।

छोराबाट हामी नियमित पैसा लिन्नौँ । तर, उनले आवश्यकता अनुसार सहयोग गर्छन् । मन्त्रीबाट निस्केपछि घर बनाएको भनेर अख्तियारले मलाई पनि बोलाएको थियो । मैले सापटी लिएकाहरूको नाम र फोन नम्बर समेत अख्तियारमा पेश गरेपछि त्यो मुद्दा खारेज भयो । अहिले अमेरिका र क्यानाडामा बसेका छोरीहरूले पनि यदाकदा अलिअलि सहयोग गर्छन् ।

कम्युनिष्ट राजनीतिमा सक्रिय रहेको मान्छे सांस्कृतिक आन्दोलनतर्फ कसरी आकर्षित हुनुभयो ?
हाम्रो अर्घाखाँची, खिदिमको घर स्थानीय गौतमहरूको बिर्ता अन्तर्गत पथ्र्यो । बिर्तावाल गौतम परिबारका सामन्ती व्यबहारबाट गाउँ त्रस्त थियो । ती व्यबहारबारे म राम्रैसँग परिचित थिएँ । गौतमकहाँ त्यहाँका रैतीहरूले ओलक (विभिन्न उपहार) पुर्‍याउने गरेको जस्ता गतिविधि आफ्नै आँखाले देखेको थिएँ । त्यस्ता गतिबिधिको प्रभाव तत्कालै नदेखिए पनि पछि संघर्ष, सिर्जनात्मक कार्य र वैज्ञानिक विचारका निम्ति त्यसले उत्पे्ररणा भने प्रदान ग¥यो । त्यसपछि अगाडि बढ्दै जाने क्रममा नेपाली समाजको आर्थिक शोषण, जातीय भेदभाव, धार्मिक पाखण्ड लगायतका तमाम गलत मान्यताको विरोध गर्ने प्रगतिशील मानवतावादी भावना र विचार ममा जाग्रित हुन थाले । २०२३ सालमा अर्घाखाँची खिदिममा ‘बाहुन हलो सञ्चालन अभियान’ सुरू गर्‍यौँ । समाजमा विद्यमान छुवाछुत र जातीय विभेद हटाउन २०२३ सालमै साथीहरू मिलेर स्थानीय कामी, दमाई, सार्कीहरूलाई सक्रिय गराई सामूहिक जुलुससहित ‘वनभोज’ को कार्यक्रम पनि आयोजना ग¥यौँ । विस्तारै समाज विकासलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट बुझ्न र बुझाउन थालियो । त्यही क्रममा मेरा लेखहरू लुम्बिनी सन्देश र वाम–विचारसँग सम्बन्धित पत्रपत्रिकामा प्रकाशित हुनथाले । त्यसपछि ‘मोदनाथ कम्युनिष्ट पार्टीमा लाग्यो’ भन्ने बुझाईमा सामन्त र प्रशासकहरू पुगे । त्यसपछि हामी अर्धाखाँचीबाट भैरहवा तिर सर्‍यौँ । हामी त्यहाँ डेरा खोज्दै जाँदा एक जना चमार जातिका ‘सीताराम हरिजन’ को घरमा डेरा पाइयो । ती अलि सामाजिक खालका रहेछन्, त्यहीँ बसियो । अनि दलित चमारहरूबाटै संगठन सुरू गर्नुप¥यो भनेर सीतारामको नाममा हिन्दीमा सानो किताव बनाइयो–‘आदत बदलो !’ । त्यो किताव चमार र अन्य दलित बस्तीमा बाड्यौँ र त्यहाँ संगठन निर्माण गर्न थाल्यौँ । त्यसपछि कम्युनिष्ट आन्दोलन बढाउन सांस्कृतिक क्रान्ति गर्नुपर्छ भनेर हामी सक्रिय भयौँ ।

पहिलो पटक जेल कहिले पर्नुभयो ?
वि.सं. २०२२ सालतिर देशका विभिन्न भागमा २०–२२ वटा कलेज खोलिएका थिए । तर ती कलेजबाट परीक्षा दिने अनुमति नपाएकाले ती सवै कलेजका विद्यार्थीहरूले ‘हामीलाई परीक्षा दिने बाटो खोलिदे’ भन्ने माग गरिरहेका थिए । तर सरकारले उनीहरूको माग पूरा गरिदिएको थिएन । हामीले पनि त्यो मागलाई आन्दोलनकै रूपमा अगाडि बढाउने निस्कर्षका साथ पर्चा छाप्यौँ र सवैतिर छ¥यौँ । हाम्रा विरोधीहरू पनि स्वतः हामी विरुद्ध सक्रिय थिए । उनीहरूले ती पर्चा मैले पढाउने स्कूलमा पनि लगेर छरिदिएछन् । तत्कालिन अञ्चलाधीशले ‘मोदनाथले पढाउने स्कूलमा पर्चा भेटियो, पर्चा उसैले छापेको हो’ भनेर मलाई र जीवराज आश्रितलाई प्रहरीले पक्र्यो र हामी विरूद्ध राजकाजको मुद्दा चलायो र तीन वर्षको जेल सजाय तोकेर जेलमा थुन्यो । जेलमा एक वर्ष बसियो । जीवराजजी पहिलेदेखि नै कम्युनिष्ट पार्टीको सदस्य हुनुभएको थियो । उहाँले पार्टी संगठनमा र मैले सांस्कृतिक फाँटमा काम गरिरहेका थियौँ । त्यसपछि हामीले सर्वोच्च अदालतमा रिट दायर ग¥यौँ । अदालतको आदेशमा १ वर्षपछि हामी रिहा भयौँ । त्यसपछि अझ गहिरिएरै काम गर्नुपर्छ भनेर हामी लाग्यौँ ।

त्यहाँका विद्यार्थीहरूलाई माक्र्सवादबारे जानकारी दिनु प¥यो भनेर जंगलमा लगेर संस्कृति, साहित्य र बैज्ञानिक माक्र्सवाद सम्बन्धी प्रशिक्षण दिन थालेपछि फेरि मलाई गिरफ्तार गरे । पहिले भैरहवा जेलमा राखे । त्यसपछि काठमाडौँ पठाए । हामीले केन्द्रीय कारागारबाट गैरकानुनी रुपमा थुनेको’ भन्ने रिट सर्वोच्च अदालतमा हालेपछि एक वर्षमा रिहा ग¥यो ।

भारतमा कति वर्ष बस्नुभयो ?
काठमाडौँबाट रिहा भएपछि म फेरि भैरहवा पुगेँ । लुम्बिनी कलेजले फेरि काम थाल्नुपर्छ भनेको थियो । तर त्यहाँ पढाएर बस्ने स्थिति नै थिएन । पुष्पलालले ‘बनारस आउनुस’ भन्नुभयो । म बनारस पुगेपछि उहाँले ‘तपाईले सांस्कृतिक फाँट हेर्नुपर्छ’ भनेर जिम्मेवारी दिनुभयो । हामीले ‘नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघ’ बनायौँ । त्यसको लागि हामीले ‘नयाँ जनवादी संस्कृति’ दस्तावेज पनि तयार पा¥यौँ । त्यो प्रकाशित पनि भएको छ । २०२६ देखि २०३२ सालसम्म म भारत बनारसमै रहें । त्यहाँबाट विभिन्न जिल्लामा जाँदै, प्रशिक्षण चलाउँदै सांस्कृतिक संगठनको काम अघि बढायौँ । त्यति नै बेला हामीले बनारसमा साहित्य सम्मेलनको आयोजना गर्यौं ।

त्यही क्रममा ‘मदन भण्डारी वृन्दावनबाट यहीं पढ्ने गरी आएका छन्, उनले कविता लेख्छन्’ भन्ने खवर पाइयो । हामीले उहाँलाई बोलायौँ । उहाँमा कम्युनिष्ट विचार पलाइसकेको रहेछ । उहाँले बडो मीठो गरी राम्रा कविता सुनाउनुभयो । उहाँले मलाई ‘मैले एउटा उपन्यास लेखेको छु, हेरिदिनुहोस्’ भन्नुभयो ।

मैले हेरेँ र केही सुझाव पनि दिएँ । हामीले उहाँलाई पार्टीमा आबद्ध हुन आग्रह गर्‍यौँ । उहाँले ‘मेरा भाइबहिनीहरू धेरै छन्, त्यसैले म अहिले नै पार्टीमा लाग्न सक्दिनँ’ भन्नुभयो । मदनको प्रतिभा देखेर हामीले धेरै कोसिस गरी उहाँलाई सांस्कृतिक संघको सदस्य बनायौँ । संस्कृतमा आचार्य गरिसकेपछि मदन घर जाने निचोडमा पुग्नुभयो ।

तपाई नेपाल कहिले फर्कनु भयो ?
मदनलाई पार्टीमा आवद्ध गराउने उद्देश्यसहित म पनि नेपाल फर्किएँ । मदनका परिवार ताप्लेजुङबाट झरेर झापा र मोरङको सीमाना इटहरामा बस्न थाल्नुभएको रहेछ । उहाँका बा–आमा बुढा–बुढी भईसक्नु भएको रहेछ र काम गर्ने मान्छे नभएर जग्गा जमिन पनि बाँझै रहेछ । मदनका बाले मलाई देखाएर ‘उहाँ को हो’ भनि सोध्दा ‘मलाई बनारसमा पढाएका गुरू हुनुहुन्छ’ भन्नुभयो । उहाँले घरमा पुगेपछि पनि ‘पारिवारिक अवस्थाले म अहिले नै पार्टीमा लाग्न सक्दिनँ’ भन्नुभयो । मैले भने ‘राजनीतिक फाँटमा काम नगरेपनि सांस्कृतिक फाँट हेर्नुहोस्’ । सांस्कृतिक फाँट हेर्दै जाँदा उहाँमा पनि सक्रियता बढ्दै गयो ।

rajniti

मेरो मदनको घरमा जाने–आउने क्रम चल्दै रह्यो । एक दिन रातभर जीवराजजी र मैले मदनका बालाई सम्झायौँ । उहाँले भन्नुभयो ‘तपाईलाई मेरो छोराले गुरू भन्छ, गुरूले नै यसरी सम्झाएपछि, त खुशीसाथ जा बाबु’ भन्नुभयो । त्यसपछि मदन क्रमशः पार्टीमा सक्रिय हुँदै जानुभयो ।

भारतमा बस्दाको अविस्मरणीय क्षण कुनै भए बताई दिनुहोस्न ?
एकदिन गणेशमान र वीपी पुष्पलालसँग नेपाल फर्कने बारे कुरा गर्न आए । पुष्पलालले निर्णय दिन सक्नुभएन ।

गणेशमानकी श्रीमती मंगलाले पुष्पलाललाई भाइ भन्थिन । उनले भनिन्–‘पुष्पलाल भाइ ! अव यी दुई जनालाई लास सम्झ । यिनीहरूमा साह्रै हीनताबोध भयो, अव राजाको शरणमा जाने भए । अब यिनीहरू राजाले दिएको पिठो खाएर बस्ने हुन् । तिमी मान्छौँभने कांग्रेसको तर्फबाट म बस्छु, कम्युनिष्टको तर्फबाट तिमीहरू बस ।’ यसरी एक घण्टा उनले वीपी र गणेशमानलाई गाली गरिन् ।

कांग्रेस र कम्युनिष्ट मिलेर जानुपर्छ भन्ने मान्यतामा रहेका पुष्पलाल वीपी र गणेशमानले बीचमै नेपाल फर्कने भनेपछि निराश हुनुभयो । अनि पुष्पलालले ‘दुई तीन वर्ष कलकत्ता गएर बस्छु, साथीहरूले के भन्छन्’ भन्न थाल्नुभयो । त्यस कुराकानीका साक्षी मदन, म र जीवराजले पुष्पलाललाई निराश नहुन आग्रह ग¥यौँ । तपाई नडराउनुहोस्, हामी तपाईंलाई सु्रक्षाका साथ राख्न सक्छौँ भन्दाभन्दै पनि पुष्पलालले आँट्नुभएन । ‘त्यसो भए अब हामी तपाईँहरुसँग बिद्रोह गरेर जान्छौँ’ भन्दै अगाडि बढ्यौँ । त्यसपछि पुष्पलाल निराश हुनुभयो । वीपी, गणेशमान राजाको शरणमा गए । ‘अव हामी देशभरका क्रान्तिकारी संस्कृतिककर्मीहरू एकजुट होऔँ । पार्टी एकीकरण गरौँ’ भन्ने आह्वान गर्‍यौँ । भारतबाट फर्केपछि लुम्बिनीमा हामीले ‘मुक्ति मोर्चा’ गठन गर्‍यौँ र चलायौँ । दाङतिरका साथीहरूसँग पनि सम्पर्क गरेर अगाडि बढ्यौँ । सिपी मैनाली नेतृत्वको को–अर्डिनेशन केन्द्र र हाम्रो मुक्ति मोर्चाबीच पार्टी एकीकरण गर्‍यौँ । पार्टी शक्तिशाली बन्दै गयो ।

तपाई जम्माजम्मी कति वर्ष जेल बस्नु भयो ?
बुटवल लुम्बिनी कलेजमा पढाउँदा २०२६ मा एक वर्ष जेल परेँ । त्यसपछि २०२७ मा पुष्पलालले बोलाउनुभयो र पढाउनतिर नलागी बनारस गई सांस्कृतिक मोर्चा गठन गरियो । गोप्य रुपमा नेपाल आउने–जाने चल्दै रह्यो । २०३३ मा वीपी कोइरालाहरु नेपाल फर्केपछि पुष्पलाल निराश हुनुभयो । त्यसपछि भारतमा बसेर मात्र आन्दोलन सम्भव नहुने ठानेर हामी नेपाल फक्र्याै । हामीले जनतालाई चेतनशील बनाउन पत्र–पत्रिका पनि निकाल्ने गरेका थियौँ । पत्रिका भारतमा छाप्नुपथ्र्यो । भारतमा छापेर नेपाल ल्याउन साहैं गाह्रो हुन्थ्योे । त्यसैले नेपालमै प्रेस राख्नुपर्‍यो भनेर रूपन्देहीमा ठूलो ओढार बनायौँ । त्यसपछि बनारस गएर २०३७ सालमा पत्रिका पनि छापेर ल्यायौं र प्रेसका सामग्री पनि ल्यायौँ ।

नौतनवा आउँदा मलाई ज्वरो आएको हुनाले म र विष्णु पौडेल औषधि किन्न गयौँ । फर्केर आउँदा हामीलाई लिन आएका साथीहरू हिंडिसकेछन् । एयरपोर्ट पुग्ने बेलामा उनीहरूलाई प्रहरीले पक्राउ गरेछ । उनीहरूले ‘अरू दुई जना पनि आउँदैछन’ भनिदिएछन् । त्यसपछि विष्णु पौडेल र म आउँदाआउँदै प्रहरीले पक्रियो । सँगै पत्र–पत्रिका पनि लग्यो । मैले लेखेका दुई वटा उपन्यास पनि लग्यो । प्रेसका सामग्री साथीहरूले अर्कै बाटोबाट लगेकाले उनीहरु पक्राउमा परेनन् । पन्चायती प्रशासनले हामीलाई भैरहवा जेलमा राखेर राजकाज मुद्दा लगायो । हामीले जेल ब्रेक गरेर भाग्ने योजना बनायौँ । बत्ती निभेको बेलामा भाग्ने तयारी पनि गर्‍यौँ । त्यसको केही महिनापछि हामीले जेल ब्रेक गर्‍यौँ । जेल ब्रेक गरेर सिधैँ प्रेस राख्ने तयारी गरेको ठाउँतिर पुग्यौँ । हामी मध्ये पक्राउ परेको एक जना साथीले हाम्रो सेल्टर देखाउन प्रहरीलाई त्यहीं लगेछ । म फेरि पक्राउ परेँ । जेलबाट भाग्ने भनेर हामीलाई निकै यातना दियो । नेल हत्कडी लगायो । ड्युटीवाला प्रहरीहरू मध्ये एक–एक जनाले सय–सय पटकसम्म पैतला माथि फर्काएर मलाई सात दिनसम्म निरन्तर पिटे । भैरहवा जेलबाट फेरि भाग्छन् भनेर मलाई काठमाडौँ सेन्ट्रल जेलमा पठायो । काठमाडौँमा आन्दोलनरत विद्यार्थीहरूलाई पनि त्यहिँ ल्याएको थियो । हामीमाथि अमानवीय व्यवहार भएको देखेर जेलभित्रै विद्यार्थीले आन्दोलन थाले । त्यहाँबाट हामीलाई भद्रगोल जेलमा सार्‍यो । त्यहाँ पनि मैले प्रशिक्षण दिन थाले । त्यो चाल पाएर त्यहाँबाट फेरि प्रशासनले नखु जेलमा लग्यो । त्यहाँ ७–८ महिना राख्यो । त्यसपछि भरतपुर जेलमा केही समय राखी वीरगञ्ज जेल लग्यो । त्यहाँबाट फेरि भरतपुर ल्यायो । त्यसपछि रौतहटको गौर जेलमा लग्यो । त्यहाँ अलि बढी समय (चार वर्ष) राख्यो । त्यहाँ थुप्रै बन्दी र केही प्रहरीलाई समेत गोप्य रुपमा प्रशिक्षण दिएँ ।

यसरी पटक–पटक विभिन्न जेलमा गरेर मैले पछिल्लो पटक आठ वर्ष जेलजीवन बिताएँ ।

पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि, तपाई मन्त्री पनि हुनुभयो । मन्त्रीहुँदा कस्तोे अनुभव गर्नु भयो ? मन्त्री भएर के कस्ता काम गर्नुभयो ?
२०४८ सालमा चुनाव लड्न पार्टीले अर्घाखाँची पठायो । त्यो आफ्नो जन्मजिल्ला भएपनि त्यहाँ मैले पार्टी संगठनमा लामो समय काम गरेको थिइनँ । त्यसैले त्यहाँ कांग्रेसका पुराना नेता ढुण्डीराज शास्त्रीसँग मैले पराजय भोगेँ । २०५१ सालमा रूपन्देहीको बुटवल क्षेत्रबाट चुनाव लडेँ । जितेँ र मन्त्री पनि भएँ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालय सम्हालेँ । त्यसबेला मन्त्रालय मातहतका ३४ वटा संस्थाको नेतृत्व गर्नुपथ्र्यो । त्यतिबेला संस्कृति मन्त्रालयलाई निकै हेला गर्ने गरेको पाएँ । त्यसपछि मैले शिक्षा र संस्कृति मन्त्रालय छुट्टै बनाउनुपर्छ भनेर छलफल चलाएँ । समाजकल्याणको क्षेत्र पनि छुट्टै हो भनेर अन्तमा शिक्षा र संस्कृतिलाईसम्म एक ठाउँमा राख्न सकिन्छ भन्ने निष्कर्षमा पुगियो । त्यतिखेर मन्त्रालय कति निरीह रहेछ भने १५ वर्षसम्म एसएलसीको सर्टिफिकेट समेत वितरण गरिएको रहेनछ । बजेटको अभावमा दिन नसकिएको जवाफ पाएपछि मैले तत्काल बजेट निकाशा गराएर नौ वर्ष जतिका सर्टिपिकेट वितरण गराएँ ।

म मन्त्री हुँदा ‘राष्ट्रिय प्रतिभा पुरस्कारको स्थापना गरे’ र एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राविधिक एसएलसी दिने व्यवस्था पनि प्रस्ताव गरेँ । प्रज्ञा प्रतिष्ठान साहित्यकारको मात्रै कब्जामा थियो । कलाकार र संगित क्षेत्रको पनि छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्ने निर्णय पनि गरेँ । त्यतिखेर जम्माजम्मी नौ महिना सरकरमा बसियो । अझै धेरै काम गर्न बाँकी नै थियो । तर पनि पछि शिक्षा मन्त्रालय छरितो भयो । मेरै प्रस्तावमा संस्कृति, पर्यटन, खेलकुद, समाजकल्याण छुट्टाछट्टै मन्त्रालय भए । मैले पाठ्यक्रम सुधारको पनि केही काम गरेँ । पाँच वर्ष मन्त्रालयमा काम गर्न पाएको भए मैले यी क्षेत्रमा निकै राम्रो प्रगति देखाउने थिएँ । तर, त्यसबेलादेखि ‘नौ महिने सरकार’ बन्ने र भत्कने क्रम चल्नाले देश अस्तव्यस्त हुदै गयो ।

तपाईको सक्रिय राजनीतिप्रतिको मोहभंङ्ग हुनुको खास कारण के थियो ?
पार्टी कार्यकर्ताहरूलाई बैचारिक रूपमा दीक्षित पार्ने हो भने हामीले चलाए अनुसार स्कुलिङ प्रणालीबाट जानुपर्दछ भन्ने मेरो आग्रह थियो । उनीहरूलाई व्यवस्थित रूपमा सैद्धान्तिक ज्ञान, अर्थशास्त्रीय ज्ञान, विकास सम्बन्धि ज्ञान, ऐतिहासिक ज्ञान, संगठनात्मक ज्ञान दिनुपर्छ भन्ने मेरो भनाई थियो । साथसाथै भविष्यमा को–को नेता हुने हो र को–को मन्त्री हुने हो त्यसको टुंगो लगाएर सोही अनुसार ज्ञान दिनुपर्छ र देशभरका साधारण मानिसहरूलाई पनि व्यावसायिक ज्ञान सिकाउनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसो गरियो भने पार्टी बलियो हुन्छ । खाली जुलुस मात्रै गर्ने, चुनावमा जाने अनि सरकार बनाउने भन्ने ढंगले मात्रै जानुहुन्न भन्नेमा म दृढ रहेँ । पुरानै ढर्राबाट अगाडि बढ्ने हो भने कांग्रेस र कम्युनिष्टमा के फरक भयो र ? मैले पार्टी नेतृत्वमा यस्ता केही प्रस्ताव राखेको थिएँ । जस्तैः प्राविधिक शिक्षामा जोड दिने देशभर धुँवारहित चुलो बनाउने, तरकारी, फलफूल खेतीलाई प्रोत्साहन गर्ने आदि । तर पार्टीले त्यो त जनताले गर्ने काम हो भनेर वेवास्ता गरियो । ६५ वर्षको भएपछि युवाहरूलाई ठाउँ छोडिदिनुपर्छ भन्ने प्रस्ताव आधिकारीक रूपमा पार्टीमा राखेँ । त्यो प्रस्तावको पनि सुनुवाई भएन । त्यसपछि मैले सैद्धान्तिक रूपमा मात्र पार्टीलाई समर्थन गर्छु भनेर सांगठनिक जिम्मेवारी छोडिदिएँ ।

भूमिगतकालमा पार्टी संगठन कसरी चलाइन्थ्यो ?
पुष्पलाल श्रेष्ठ र तुल्सीलाल श्रेष्ठबीच विवाद भइरहन्थ्यो । पुष्पलाल र हिक्मल सिंह तथा पुष्पलाल र मनमोहन अधिकारी बीच पनि विवाद भयो । पहिलो चरणमा मैले ती कुरा भोगेँ । पुष्पलालसँग बनारसमा बस्दा मैले नै गएर मनमोहनलाई बोलाएर ल्याएँ । तपाईहरू साढुभाई साढुदाई पनि हो, कम्युनिष्ट नेता पनि । तपाईहरूले दुईटा गुट बनाएर विवाद गर्न मिल्दैन । मिल्नुहोस् भनेर आग्रह गरे । पुष्पलालले केही मात्रामा मिल्न चाहे पनि मनमोहनले चाहनुभएन । पार्टी एक हुन सकेन । पछि पार्टी खुल्ला हुँदा सीपी मैनाली प्रमुख हुनुहुन्थ्यो । उहाँ आफुलाई जहिले पनि केन्द्रमा राखेर मात्रै कुरा गर्ने हुँदा कालान्तरमा उहाँ एक्लिनु भयो ।

वामदेव गौतम कम्युनिष्ट बन्ने चाहनाको साथ गोरखपुर जानुभएको रहेछ । पुष्पलाल नभेटिएपछि त्यो घरका मान्छेले भैरहवामा मोदनाथ बस्छन्, त्यहाँ कम्युनिष्ट भेटिन्छन् भनेर पठाएछन् । त्यहाँबाट फर्केपछि मलाई खोज्दै आउनु भयो र केहि समयपछि हामीले पार्टी सदस्यता दिएर संगठनका काममा प्रेरित ग¥यौँ । उहाँले निकै उत्साहका साथ काम गर्दै आउनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा के देख्नुहुन्छ ?
पुष्पलाल, मनमोहन, तुल्सीलाल र मोहनविक्रमले पार्टीलाई एकतावद्ध गरौँ भनी सक्रिय रुपले लाग्न सक्नुभएन । उहाँहरू प्रायः एक्लाएक्लै सीमित संगठन गर्दै हिड्नुभयो । मैले उहाँहरूलाई एक ठाउँमा ल्याउन, आफुले सक्दो प्रयास गरेँ । तर, मलाई कनिष्ठ देखेर होला उहाँहरुले वास्ता गर्नुभएन । उहाँहरूमा व्यक्तिवाद थियो । त्यति बेलाका नेताहरू मध्ये पार्टी काममा निकै खट्न सक्ने नेता भने पुष्पलालनै हो ।

अहिलेको एमालेको राजनीतिलाई कसरी हेर्नुभएको छ ?
हामी खर्चिलो चुनावी अभियानमा जान्नौँ, प्राविधिक र व्यावसायिक शिक्षाको अभियान चलाउदै अगाडि जान्छौ भनेर गाउँ गाउँमा औद्योगिक सीप सिकाएर जान सकेको भए कम्युनिष्ट पार्टी सशक्त हुन्थ्यो । देशका पाइला अगाडि बढ्थ्यो तर अहिले चुनावमा पैसाको बलमा जुन राजनीति भइरहेको छ त्यो कम्युनिष्ट पार्टीका लागि पछि आत्मघाती हुनसक्छ । एमालेका केही नेताले त्यसै गर्नुभयो । अब यसरी नै जानेहो भने सर्वहारा वर्ग कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउन सक्छ । यसबाट इमान्दार र राम्रो क्षमता भएका मान्छे पछाडि पर्ने भए । अहिले पार्टीको सुढृढ निर्माण तिर विशेष ध्यान गएको छैन । बल्खुमा पार्टीको त्यत्रो जग्गा छ, भूकम्पबाट घर भत्कियो । देशभरीका कार्यकर्ताहरूबाट अभियान चलाएर आर्थिक संकलन गरी बलियो भवन बनाउनुको सट्टा हाम्रो पार्टी अर्काको घरमा खुम्चिएको छ । पार्टी स्कूल चलाउने छुट्टै घर हुनु पर्दथ्यो, अहिले सैद्धान्तिक, व्यावहारिक प्रशिक्षण कार्यक्रम प्रायः सेलाउँदै गए । पार्टीको प्रशिक्षण विभाग छुट्टै बनाउनु पर्दथ्यो र सशक्त रुपले देशभरीका कार्यकर्तालाई आबश्यकता अनुसार प्रशिक्षण दिन सकिन्थ्यो । त्यसोे भएमात्रै कम्युनिष्ट पार्टीको अवधारणा अनुसार अगाडि बढ्न सकिन्थ्यो । त्यसो नभए पछि पार्टी मध्यम वर्ग र धनाढ्यको पार्टी हुने भयो । कांग्रेस र कम्युनिष्टका बिचमा हुनुपर्ने विशिष्ट भिन्नता देखिन्न । सर्वहारा वर्ग नेतृत्वमा पुग्ने अवस्था अव देखिदैन । पैसा लगानी गर्न सक्ने र समूह बनाउन सक्ने व्यक्ति मात्र अव नेतृत्वमा पुग्ने अवस्था आयो । अब पार्टी श्रम र सीपमा आधारित नहुने खतरा देखिन थाल्यो ।

तपाई दुःख र खुःशीको क्षण कसरी सम्झनुहुन्छ ?
राजनीतिमा दुःख पाइन्छ भनेर जाने वा नजाने कुरा होइन, विवेकले जाने हो । दुःख त बेसरी गरियो । लामै समय जेल परियो । प्रहरीको कुटाईको सीमा नै भएन । सहनै नसकिने यातना सहियो । परिवार अस्तव्यस्त भयो ।

हामी सम्पूर्ण परिवार नै राजनीतिमा लाग्यौँ । आमाले भूमिगत कार्यकर्ताहरूलाई खाने, लगाउने चाजो पाँजो मिलाउनु हुन्थ्यो । उहाँको अन्त्य हुँदा अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाउनु भएको थियोे । हाम्रो परिवार अनेक दुःखकष्ट, जेलनेल भोगेर पनि पार्टीको संगठन र विकासमा लागिरहेको छ ।

आन्दोलनमा लागेकोमा कहिल्यै पश्चाताप भयो कि भएन ?
पश्चाताप कहिल्यै भएन । बरू देश र पीडित जनताको पक्षमा निरन्तर काममा लागेकोमा जस्तै दुख कष्ट पर्दा पनि सन्तोष लाग्दथ्यो । राम्रो कामको लागि जीवनका उर्जाशील धेरै बर्षहरू खर्चिन पाएकोमा गर्व लाग्थ्यो, मनमा उत्शाह भरिन्थ्यो । हामीले त्यति प्रयत्न नगरेको भए देश आजको स्थितिमा आउने थिएन । यो देखेर हामीलाई सन्तोस र गर्व लाग्दछ ।

तपाईलाई मनपर्ने पुस्तक कुन, कुन हुन ?
विविध पुस्तक पढ्न मनपर्छ । इतिहास, विज्ञान, समाजशास्त्र, संस्कृति, दर्शन मेरो विशेष रुचीका विषय हुन् । हाम्रो घरको पुस्तकालयमा विविध विषयका हजारौँ पुस्तक छन् ।

तपाईको अध्ययनबारे केहि बताइदिनुहोस न ?
अर्घाखाँचीमा हरिहर संस्कृत पाठशाला थियो । मेरा बा’ त्यहीं अध्यापक हुनुहुन्थ्यो । मैले त्यही चन्डी रूद्री, व्याकरण पढेँ । बनारस गएर संस्कृति साहित्य विषयको मध्यमा परीक्षामा ‘सर्वप्रथम’ भएर केन्द्रीय छात्रवृत्ति पाएँ । त्यसपछि मैले भारतमा केन्द्रीय छात्रवृत्ति पनि पाएँ । साहित्यशास्त्री, आयुर्वेदमा आचार्य र नेपाली साहित्यमा एमए गरेँ । आयुर्वेदमा मानार्थ पीएचडी पाएको छु । ‘दुई सय जडिबुटी एक सय रोगको उपचार’, ‘रोग परिचय’ लगायत किताव पनि लेखेको छु ।

तपाईलाई श्रद्धा लाग्ने नेपालका नेताहरू को–को हुन् ?
पुष्पलाल, मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी, नेत्रलाल आदिलाई श्रद्धा गर्छु । कांग्रेसमा विपी कोइराला र गणेशमानको महत्व बुझेको छु । एमालेमा केपी ओली, माधव नेपाल, वामदेव गौतमहरू र युवा पुस्ताका सक्रिय साथीहरुबाट विशेष आशा गरेको छु ।

सहयात्री नेताको मूल्यांकन कसरी गर्नुहुन्छ ?
मदन भण्डारी
तेजिलो दिमाग, राजनीति धार बुझ्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो मदन । सबैलाई मिलाएर लैजान सक्ने क्षमता उहाँमा थियो । मदन भएको भए पार्टीमा सायद गुटगत भावना पनि विकसित हुने थिएन । नयाँ विषय ल्याउन सक्ने र त्यसलाई स्पष्ट रूपमा बुझाउन सक्ने क्षमता मदनमा थियो । भाषणकला उहाँको बेजोड थियो ।

जीवराज आश्रित
जीवराज संगठनमा निकै कुशल हुनुहुन्थ्यो । कार्यकर्ताहरूलाई अनुशासनमा राख्न उहाँ निकै कुशल हुनुहुन्थ्यो । उहाँको उपनाम पनि ‘कुशल’ नै थियो ।

मनमोहन अधिकारी
मनमोहन अधिकारी भद्र नेता हुनुहुन्थ्यो र इमान्दार पनि । संगठनम वौद्धिक क्षेत्रमा केन्द्रित इतिहास र भद्र व्यक्तित्वको प्रभावले प्रधानमन्त्री हुनुभयो । परम्परागत भाषामा भन्दा भाव्यमानी नेता हुनुहुन्थ्यो उहाँ ।

केपी ओली
केपी ओलीमा वौद्धिक तीक्ष्णता छ । उहाँ समयको भने उपेक्षा गर्नुहुन्छ । कार्यक्रममा सधै ढिला पुग्नुहुनछ । जेलमा बस्दाको अध्ययनले उहाँ तिखारिनुभयो । दिमाग तिखो छ, अरूलाई प्रभाव पार्न सक्नुहुन्छ । पछिल्लो चरणमा उहाँको प्रभाव समाजमा बढेको छ । सवै नेतालाई समेटेर अघि बढ्नुभयो भने उहाँ र सिंगो देश अघि बढ्दै जानेछन् ।

झलनाथ खनाल
झलनाथ खनाल सिद्धान्तको ब्याख्या राम्ररी गर्न सक्नुहुन्छ । उहाँ अत्यन्त सरल, भद्र भलादमी तालका हुनुहुन्छ । तर, उहाँ निर्धारित कार्यक्रमहरूमा समयमा पुग्न सक्नुहुन्न । पढ्न, लेख्न रूचाउनुहुन्छ, वौद्धिक व्यक्तित्व छ उहाँमा ।

माधव नेपाल
नियमित खटिरहने नेतामा पर्नुहुन्छ माधव नेपाल । उहाँ कहिल्यै थाक्नु हुन्न । आवेशमा पनि आउनुहुन्न । तर नयाँ सोच भने उहाँले प्रायः ल्याउन सक्नुभएन । संगठन बनाउन बढी रूचाउने स्वभाव उहाँमा छ । उहाँ सदा समान गतिमा क्रियाशिल हुनुहुन्छ ।

वामदेव गौतम
वामदेव गौतम कुशल संगठक हुनुहुन्छ । कुनै काम गौतमलाई दियो भने पूरा गरेरै छाड्नुहुन्छ । पार्टीमा उहाँ आँटिलो नेतामा पर्नुहुन्छ । पहिले संगठनमा र अहिले भावी सोचमा प्रवल देखिनुभएको छ । आँटेको काम गरेरै छाड्ने बानी उहाँमा ।

ईश्वर पोखरेल
निरन्तरता दिन सक्ने नेतामा पर्नुहुन्छ उहाँ । काम नियमित रूपमा गर्न सक्नुहुन्छ । तर अतिरिक्त खास विशेषता बढाउन उहाँले अलि प्रयत्न गर्नुपर्ने देखिन्छ ।

प्रदीप नेपाल
संगठन गर्न सक्ने, राम्रो लेख्न पनि सक्ने नेता हुनुहुन्छ उहाँ । फटाफट काम गर्ने, गाउने, दुःख पनि खप्न सक्ने क्षमता छ उहाँसँग । साहित्यिक क्षेत्रमा निकै जाँगरी कलम छ उहाँको । स्वास्थ्यलाई ध्यान दिन सके उहाँले धेरै काम गर्न सक्नुहुन्छ ।

अमृत बोहरा
अमृत बोहरा पार्टीमा समर्पित नेता हुनुहुन्छ । संगठनमा विशेषता छ ।

विष्णु पौडेल
श्रमिक परिवारबाट आउनुभएको चतुर नेता हो उहाँ । तेज दिमागले होला अर्थशास्त्र नपढी अर्थमन्त्री बन्नुभयो । साहसी हुनुहुन्छ । मेरो र उहाँको प्रयासले भैरहवा जेल तोडेका थियौँ हामीले ।

आयुर्बेद प्रतिको झुकाव कसरी भयो ?
मेरा जेठा बा शालिग्रामले काठमाडौँमा संस्कृति पढेर काशी हिन्दु विश्वविद्यालयबाट आयुर्वेद आचार्य गरी तानसेनमा सुधानिधि औषधालय र निर्माणशाला चलाउनुभएको थियो । मेरो पिता पण्डित घनश्याम पौडेल पनि उहाँसँग आयुर्वेद पढी उपचारमा कुशल हुनुहुन्थ्यो । उहाँहरू दुवैको जीवनको प्रेरणाले आयुर्वेदको आचार्यस्तरसम्म पुगी भारत र नेपालमा रजिस्टर्ड भइ त्यस क्षेत्रमा जतिसक्दो काम गर्दैछु ।

सामाजिक सुधारको आन्दोलनमा गरिएका प्रमुख कार्य र कृतिहरू के–के हुन् ?
नेपाल र भारतको सामाजिक क्षेत्रमा रहेका जातपात र छुवाछूत प्रथा, नारी समुदाय शिक्षामा अघि बढ्न नपाउनाले पुरुष सत्ताबाट दविएको स्थितिको विरुद्ध सक्दो अभियान चलाएको छु । प्राचिन पुरानको व्याख्यामा बढी जोड दिने पण्डितहरूको ख्याती, प्राविधिक क्षेत्रमा विश्वकर्मा, दर्जी, सुनार आदिलाई अछूत स्तरमा राखिएको स्थितिले मन पोलेर दलित मुक्ति आन्दोलनबारे लेखेर, प्रशिक्षण चलाएर सहयोग गर्दै पशुपति मन्दिर लगायत देशका ठूला मन्दिरहरुमा र पानीका कुवाहरूमा प्रवेश गराउने काममा क्रियाशील भई त्यस समुदायको उत्पादन र प्रतिष्ठा बढाउने काममा बोलेर, लेखेर संगठित रुपमा काम गरेको छु ।

साहित्य, संस्कृति र कलाप्रतिको रूचि र कृतिहरू के–के हुन् ?
मावली हजुरबा महापण्डित दधिराम मरासिनीबाट प्राप्त प्रोत्साहन एवं लेखनाथ पौडेलको साहित्यको मिठासको प्रेरणाले नारी र दलितलाई हेप्ने समाजप्रति चित्त नबुझेर लेख्ने–बोल्ने अभियानमा लागेको छु । विद्यार्थी जीवनमा बाबुहरि ज्ञवाली र बनारसका कलाकारहरूबाट जागेको प्रेरणा हो चित्रकारिता ।

अहिले के गर्दै हुनुहुन्छ ? अबका योजना के छन् ?
अहिले नेपालको प्राचिन इतिहासका लुकेका आधार खोज्न र इतिहासको सही खाका कोर्नुपर्ने अनुभुतिले प्रेरित भएको छु ।

656 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank