आख्यानकार मीनराज बसन्तलाई पचास प्रश्न

मङ्लबार, फाल्गुन २८, २०७५



आफ्नो पहिलाे उपन्यास ‘मुदिर’मार्फत वैदेशिक राेजगारीकाे कथा लेखेर चर्चा बटुलेका आख्यानकार मीनराज बसन्त अढाई वर्ष पश्चात आफ्नो दोस्रो उपन्यास ‘पिपिरी’ लिएर पाठकमाझ आए । मिति २०७५ फागुन १८ गते शनिबारका दिन फिनिक्स बुक्सबाट प्रकाशित बसन्तद्वारा लिखित दोस्रो उपन्यास “पिपिरी”को अमर न्यौपाने, कवि हाङयुग अज्ञात, सगुना शाह र उपन्यासकार बसन्त स्वयंले थापागाउँ स्थित कुञ्ज थियटरमा विमोचन गरे ।

आफ्नो पहिलो आख्यान ‘मुदिर’ मार्फत गणेश हस्तकुमारी पन्त पुरस्कार, निलकन्ठ  नवोद्दित  प्रतिभा पुरस्कार, कविडाँडा  साहित्य सम्मान, अनेसास सर्वोत्कृष्ट डायस्पोरिक वर्ष पुरस्कार जस्ता पुरस्कार र सम्मान ग्रहण गरेका बसन्तसँग  दाेस्राे आख्यानको सकस, कथानक , लेखकीय जिम्मेवारी र लेखनकाे समकालीन प्रवृत्तिका विषयमा  नेपालपाटीका राजु झल्लु प्रसादले पचास प्रश्न गरेका छन्।

आखिर के हो त पिपिरी? 

पिपिरी, गाउँमा बच्चाहरूले पातबाट बजाउने बाजा हो । जो काभ्रो, साल, चिलाउनेको पातबाट राम्रो बज्छ । यस बाजालाई लामो समयसम्म बजाएको खण्डमा  पात च्यातिन सक्छ। फाट्न पनि सक्छ।

 कति समय लगाएर लेख्नुभयो ?

झन्डै डेढ वर्ष लाग्यो । खासमा पिपिरी मैले मुदिर भन्दा पहिले लेखेको थिए ।  त्यतिबेला अस्थिरपन्जर नाम थियो ।  त्यै कथालाई आधार बनाएर अहिले पिपिरी लेखे  ।

अस्थिरपंजर नै पिपिरी हो ?

होइन । लेख्न त मैले शुरुबाट नै लेखेको हो । तर त्यो कथालाई आधार बनाएर लेख्दै गए । परिमार्जन गर्दा पिपिरी भयो । पहिले अस्थिरपंजर थियो, अहिले पिपिरी भयो ।

दिनहु लेख्नुहुन्थ्यो ? कति टाइम लेख्नुहुन्थ्यो ?

म  बिहानमा लेख्थे । बिहान ४ बजेदेखि ५ बजेसम्म । अनौठो कुरा के छ भने  पिपिरी सब्बै मैले मोबाइलमा लेखे । पछि त्यसलाई कन्भर्ट गरेर प्रीतिमा राखेर फाइल बनाएको हो ।

लेख्न शुरु गरेपछि कहिले सकिएला जस्तो भएन ? थकान या डिप्रेसन भयो कि ?

त्यो केहि हदसम्म भयो । कति समय चाहि केहि च्याप्टर लेखीसकेपछी म डिप्रेसनमा नै गए । आफैलाई तनाव भएजस्तो पनि भयो । मैले कति समय लेखिन पनि । ४/५ महिना मैले लेखिन, लेख्न सकिन ।

लेख्न थालेपछी फेरी रोक्नु भयो ?

अँ, फेरी रोके । अनि लेखनकै लागि भनेर गाउँ गए । कहिले म देवघाट गए । कहिले धादिंग गए । कहिले चितवनका अन्य विभिन्न ठाउँहरुमा गएर पनि कथा लेखे । विभिन्न् ठाउँमा गए ।

तपाइले भन्नुभयो कि किबोर्डमा लेखे, युनिकोडमा लेखे लेखक बुद्दी सागर भन्नुहुन्छ, ‘कलमले लेख्दा औंलाहरु एकै ठाउँमा हुन्छन्, भावनाहरु समेटिन्छ किबोर्डमा लेख्दा भावनाहरु छताछुल हुन्छन्, छरिन्छन् तपाईको आफ्नो अनुभवले के भन्छ?

प्रत्येक लेखकको आफ्फ्नै नियमहरु हुन्छन । कोहि बिहान उठेर लेख्छन, कोहि दिउसो लेख्छन् , कोहि राती लेख्छन, कोहि भिडभाडमा लेख्छन । मेरो पनि आफ्नै नियमहरु छन् । मलाई लाग्दैन औंलाले लेख्दा  भावनाहरु छरिने अथवा कलमले लेख्दा चाहि समेटिने हुन्छ । लेखकका आआफ्नै नियमहरु हुन्, त्यो हुनु पनि पर्छ भन्ने लाग्छ ।

कथाको मूल विषयवस्तु ?

कथाको मूल विषयवस्तु बाल्यकाल नै हो । मोटामोटी एउटा गाउँको बालकले भोग्ने बाल्यकाल हो पिपिरी ।

अलि बढी शब्दमा भन्नुपर्दा ?

समाजमा सजातीय वर्ग भित्रै जस्तो ब्राह्मण र दलित बीच भेदभाव त अझै पनि हुन्छ नै । एउटा बाहुन-बाहुन भित्रै पनि एउटा गरिब हुँदा, परिवारको मूल मान्छे नहुँदा, बच्चाहरु सानो हुँदा आइमाइलाई या त्यो परिवारलाई उपल्लो परिवारले कुन दृष्टिकोण बाट हेर्छ ?  र यो कथाको म पात्रले त्यस्तै  सामाजिक परिवेश भोग्छ ।  उसैको कथा हो पिपिरी ।

पिपिरीमा आफू कति हुनुहुन्छ ?

पिपिरिमा धेरै ठाउँमा म छु ।  मेरो  समाज छ । अर्को गाउँको अर्को ठाउँको मान्छे पनि छन् ।

भनेपछि तपाइको आत्मकथा हो पिपिरी ?

कथामा मलाई जहिले पनि प्रथम पुरुष “म पात्र” नै भएर न्यारेट गर्न मन लाग्छ । म बनेरै लेख्छु । कतिपय सन्दर्भमा पाठकरुलाई पढ्दा खेरि लाग्न सक्छ यसको आत्मकथा रहेछ, यसको  आत्मसंस्मरण रहेछ । तर त्यसो होइन ।

प्रथम पुरुष भएर लेखिनुको कारण भएर लेख्दा व्यक्त गर्न सजिलो हुने हो ?

हो । पाठकलाई पनि सजिलो हुन्छ । आफुलाई अभिव्यक्त गर्न सहज लाग्छ मलाई- प्रथम पात्र भएर लेख्दा । जस्तो अगाडी खाडल थियो, खाडलको छेउमा म उभिए भनेर मैले लेखे भने मेरो पाठकले खाडल इमाजिन गरिकन आफूलाई लगेर त्यहाँ उभ्भैरहेको  हुन्छ । उ उभियो भनेर लेखियो भने त्यो पाठकको सरोकार को विषय भएन । मेरो दुवै पुस्तकमा प्रथम न्यारेसन हो ।

तेश्रो पुस्तक पनि प्रथम पुरुषमा नै पढ्न पाउँछौं ?

अब म अर्कै न्यारेट गर्छु  किनकि दुई वटामा प्रथम पुरुष प्रयोग गरिसके । विविधता आवश्यक छ लेखनमा । सधै दाल भात, सधै दाल भात । वाक्क लागिहाल्छ नि ।  पिपीरीमा लेखिएको ‘प्याट्रन’ त बासि भयो नि अब । तेस्रोमा आउदा म अर्कै शैलीमा लेख्न चाहन्छु । यदि तेस्रोमा आउदा पनि  मुदिर कै शैली समाइरहे भने म फेल भए ।

मुदिर परदेशमा बसेका युवाहरुका लागि ति युवाहरुको घरपरिवारको लागि थियो भन्नुभएको पिपिरी चाहि कसका लागि ?

वैदेशिक रोजगारीमा गएकाहरुका लागि मुदिर थियो । वैदेशिक रोजगारीको कथा थियो मुदिर । तर विदेशमा जानेहरुले मात्र मुदिर पढ्नुपर्छ भन्ने होइन । तिनका घरपरिवार र समाजले पनि त पढ्नुपर्यो नि । विदेश प्रति हाम्रो अर्कै धारणा छ, विदेशमा पैसाको बोट हुन्छ भन्ने मानसिकताले आतंकित छौ हामि । तर तिनले यदि मुदिर पढ्ने हो भने आफूलाई गलत पाउछन । वैदेशिक रोजगारमा जानेहरु त सिमित छन्, तर बाल्यकाल भोग्ने को छैन ? एकैचोटी असि वर्षमा को जन्मन्छ र होइन ?

एकपटक आफ्नो बाल्यकालमा फर्कनको लागि, बाल्यकाल सम्झनको लागि  र एउटा पात्रले एउटा अध्यारो ठाउँमा भोगेको दु:ख र उसको समाजको अध्यारो पक्षको बुझ्नको लागि मलाई लाग्छ पिपिरी आम-तमाम सबैले पढ्नुपर्छ ।  पिपिरी सबैको कथा हो ।

पिपिरीको समयकाल कहिलेको हो ?

मैले यसमा कुनै पनि ‘टाइमफ्रेम’ राखेर लेखिन । यो समय त्यो समय भन्दा पनि पिपिरी जुनसुकै समयलाई ‘सुट’ गर्ने किसिमको होस् भनेर नै लेखेको छु । आजको १०० वर्ष पछी पढ्दा पनि बाल्यकालका परिवेशहरु उत्तिकै जीवन्त हुन्छन् भन्ने लाग्दछ ।

अनि परिवेश ?

अब परिवेशको कुरा गर्नुपर्दा पिपिरीमा मैले मेरै ठाउँको परिवेश समेटेको छु । बाग्लुंग बलेवालाई ‘सेट’ गरेको छु । विश्वको कुनैपनि स्थानमा रहेर पिपिरी पढिरहनु भएको छ भने तपाइले बलेवाको बोलि, त्यहाँको आञ्चलिकता  भेट्नुहुन्छ । बलेवाको लवजमा ‘आइच्च गैच्च’ भेटिन्छ । मैले यसमा त्यहि प्रयोग गरेको छु । जुन नेपाली साहित्यमा अहिलेसम्म लेखिएको मैले भेटेको छैन ।

भनेपछि तपाईले आफ्नो कथाको परिवेश चाहि पहाडलाई रोज्नुभयो ?

हजुर हो ।

नेपाली साहित्यमा घनिभूत रुपमा पहाड गुरु प्रसाद मैनालीको लेखनीमा भेटिन्छ उहाँको तपाईको पहाडमा के फरक ? पहाड एकै हो

लेखनको मूल परिवेश पहाड भएता पनि त्यसका विविधताहरु छन् । उहाँले र मैले लेखेको पहाडमा भिन्नता भेट्न सकिन्छ । एउटै पहाडमा पनि त भोगाई र अनुभवहरु फरक हुन् सक्छन् ।

लेखनीको कुरा गरिरहँदा पात्रहरुमाथि लेखक हावी भएको देखिन्छ पिपिरीमा बाल्यकाल लेखेको छु भन्नुहुन्छ, बालक पात्रलाई लेखक पात्रले कत्तीको पिट्यो या गाली गर्यो ?

हाहा, अग्गिलो उपन्यास मुदिर लेख्दाखेरी चाहि लेखक अलि बढी हावी थियो । म मा अलि ज्यादा आक्रोश पनि थियो त्यो ताका । पिपिरी लेख्दा मैले यसमा निकै ध्यान दिएको छु । सकेसम्म बालकको बोलाई, लवाइ, खुवाई, हिडाई नै लेखेको छु  । सकभर लेखक भए भन्दैमा बालक म पात्र ‘देवेन्द्र‘लाई दुर्व्यवहार नै त गरेको छैन ।

देवेन्द्र कस्तो बालक हो ?

हरेक समाजका आआफ्ना विविधताहरु छन् । र मानिसका चरित्रहरु पनि त्यसै अनुरुप विकसित हुँदै जान्छन । यद्दपी समाजले मान्दै आएको आदर्श बाल मनोविज्ञानको परिधीको घेरा भन्दा बाहिरै छ देवेन्द्र । सामान्यतया हामीले अपेक्षा गर्ने बालसुलभ गुणहरु भन्दा अलग गुण उसमा भेट्न सकिन्छ । हामीले अदभुत पुर्ण क्षमता भएका बालबालिकाहरु बारे सुन्दै /देख्दै आएका छौ ।  मैले उपन्यासमा देवेन्द्रको केहि एकदम नितान्त फरक र अपत्यारिला गुण, व्यवहारहरु देखाएको छु ।  त्यसैले पनि अहिलेको समाजको लागि देवेन्द्र एउटा प्रयोगवादी मानसिकता भएको बालक हो ।

भनेपछि तपाई एक कुशल कथा वाचक ?

हो, म सपाट कथा भन्ने मान्छे हो । कथामा मैले कतै पनि ‘ट्वीस्टस्विस्ट’ राखेको छैन । मलाई पात्रलाई गज्यांगगुजुंग बनाएर पाठकलाई भ्रममा पार्न मन लाग्दैन । मलाई यस्तै कथा विकास शैली मनपर्छ ।

भूमिका को द्वारा लेखाउनु भयो ? किन ?

भूमिका छैन ।

कति पृष्ठको हो पिपिरी ?

३५५ पेजको छ   

आवरण चित्र कसले गरेका हुन् ?

सुयोग्य काफ्ले ज्युँ ले गर्नुभयो   

एउटा कथन छ, ‘प्राय: लेखक आफ्नो दोस्रो पुस्तकमा आएर आत्महत्या गर्छन् ।’  यो सत्यता हो कि आरोप ?

उम्, नेपालमा लेखकको दोस्रो कृति जहिले पनि सकसको विषय बनि’राछ । पहिलो राम्रो लेख्ने, दोस्रोमा अलिकति खस्किने । यसो  हुनुमा पहिलो पुस्तक राम्रो भयो भने पाठकको ‘एक्सपेक्टेसन हाइ’ भैदिन्छ। दोस्रोमा त्यो ‘मिट’ गर्न नसक्दा त्यो दुर्घटना हुने हो ।

भनेपछि दोस्रो पुस्तकले तपाईलाई पनि दुर्घटनामा पार्छ ?

कथाकै हिसाबले भन्नु पर्दा मुदिरको भन्दा पिपिरिको कथा मलाई एकदम मनपरेको छ । पिपिरी एउटा बालकको गाउँले जीवनको नोस्टाल्जिया हो । हामि सबै नै बाल्यकाल हुँदै यहाँसम्म आउने हो । पिपिरिले हामी सबैलाई बाल्यकाल तीर फर्काउँछ भन्ने मलाई लाग्छ । कथाको हिसाबले, भाषाको हिसाबले, मेरो शैली दोस्रो पुस्तकमा आइसक्दा धेरै परिवर्तन भैइसकेको छ झैं लाग्छ । यसकारण पनि त्यति धेरै चाहि सकस अथवा दुर्घटित हुन्छु भन्ने  लाग्दैन । मैले कोसिस गरेको छु ।

पिपिरी बगाउनु पर्यो कि बग्यो ?

यो त आफै बग्यो । यसमा मैले बगाउनुपर्ने कुरा केहि पनि भएन । म पनि भएको, मैले पनि देखेको कथा हुनाले मलाई त्यति धेरै अप्ठ्यारो भएन । लेख्दै जाँदा बग्दै गयो ।

, मुदिर ?

होइन । मुदिर पनि बगेको हो । दुवैमा कही न कही म आफू भएका हुनाले मलाई सजिलो भयो । धेरै कथाहरु त आख्यानाकृत नै हुन्छन, गरेको छु । म ३ वर्ष कतार बसेर फर्केको मान्छे हो । त्यहाँको हावापानी, त्यहाँको परिवेश, सांस्कृतिक समाज बुझेकाले लेख्न सजिलो भयो । अब पिपिरिमा पनि बाग्लुंग बलेवा जहाँ म जन्मिए, हुर्किए ।  त्यहाँको परिवेश, त्यहाँको भाषा, आञ्चलिकता  लेख्नको लागि सजिलो भयो ।

तर मुदिर चाहि मेरो बाध्यता हो ।

बेन्यामिनले खबुज लेखिसकेका थिए मुदिर आवश्यक थियो ?

नेपालमा बेन्यामिनको खबुज अनुवाद भएर आउनुभन्दा अगाडी नै खबुजको सयौं  संस्करण आइसकेको थियो । मेरो मुदिर प्राविधिक कारणले ढिलो भएको हो । जबकी मैले उतै कतार बस्दाखेरी नै मुदिर लेखिसकेको थिएँ । यहाँ  आएर पनि २ वर्ष लाग्यो निस्कन ।  मुदिरमा नेपाली पात्र छ त !  बेन्यामिनको खबुज र मेरो मुदिर बिल्कुल फरक छ । उनीहरु फरक तरिकाले, फरक कामका लागि कतार जान्छन्, ‘गल्फ कन्ट्री’ जान्छन्, हामी फरक तरिकाले जान्छौं ।

मुदिर कति प्रति बिक्री भयो ?

४००० प्लस गयो होला । दुई चोटी प्रिन्ट आयो, दोस्रो संस्करण आयो ।

अधिकांश पुस्तकहरु कुनै पनि पुरस्कार या सम्मान पश्चात मात्रै चर्चामा आउँछ पाठकले पढ्छन् एउटा पुस्तक प्रकाशनमा आइसकेपछि पुरस्कारको भूमिका कत्तिको हुन्छ ?

नेपालमा त्यो परिपाटी छ । केहि पुरस्कार पायो भने पढ्ने अथवा आलोचना गर्ने वा समिक्षा गर्ने । मलाइ यो कुरामा विश्वास लाग्दैन । समय पनि आउनुपर्छ झैँ  लाग्छ । जस्तै उलार आजभन्दा २० वर्ष अघि निस्क्कियो । त्यतिखेर खासै पढिएको पुस्तक होइन – उलार  । दुई दशकको समय अन्तरपछी अहिले उलार खोजिखोजी पढिन्छ । जब कि उलाराले कुनै पुरस्कार पाएको छ जस्तो मलाई लाग्दैन ।

पुरस्कारको सन्दर्भमा के हो भने एउटा लेखकलाई लेख्दै जाने क्रममा निस्पक्ष तरिकाले निर्णय गरेर यो पुस्तक यो पुरस्कार पाउन लायक छ भनेर दिइयो भने लेखकलाई एउटा पुरस्कार भनेको लेखन यात्राको उकाली ओराली गर्दैगर्दा बिसाउने ठाउँ, चौतारी हो । त्यसरी आयो भने ठिक छ । म पुरस्कारको लागि लेख्दिन । कहीबाट निस्पक्ष रुपमा यसलाई दिइयो भने त्यो पनि ठिकै छ ।

समकाललाई नियाल्दा उपन्यास मोह पाठकमा ज्यादा देखिन्छ, लेखकमा छँदै पाठक उपन्यासमा बढी रमाईरहेको पाउछौं पाठकको यै मानसिकता बुझेर दोस्रो उपन्यास लेख्नु भएको हो ?

लेखनमा जहिले पनि आ-आफ्नै बिट हुन्छ । लेखन भनेको एउटा मात्रै विधामा हुनुपर्छ जस्तो पनि लाग्दैन । मेरो कुरा गर्दा मैले पहिलो कृति नै मुदिर लेखेको हो । उपन्यास लेखेको हो । म कविता पनि लेख्ने मान्छे हो, गजल पनि लेख्ने मान्छे हो । तर मलाई के लाग्छ भने उपन्यास लेख्दाखेरि मैले न्याय गर्न सक्छु । यसैकारण मैले उपन्यास छानेको हो । अर्को कुरा बजारलाई हेर्दा पनि उपन्यास हो भने प्रकाशक गृहले सजिलै छाप्छ । उपन्यास हो भने बिक्छ पनि ।

‘प्रकाशक गृहले सजिलै छाप्छ उपन्यास हो भने बिक्छ पनि‘, यसैकारण दोस्रो पनि उपन्यास नै लेख्नुभएको ?

होइन । बिक्छ र छाप्छ भन्नको लागि मैले लेखेको होईन । स्कुल पढ्दा ताका नै उपन्यास लेख्ने मोह थियो । त्यतिबेला लेखिएका दुईचार वटा पाण्डुलिपी थिए, छन् अहिले पनि । आफूलाई अभिव्यक्त गर्नको लागि र पहिले देखि नै उपन्यास लेख्ने मोह राखेका हुनाले उपन्यासमा आएको हो ।

संसारमा नेपाली भाषिक कम छन् नेपालमै पनि नेपाली पढ्ने पाठक अझै कम छन् अझ त्यसमा पनि बौद्दिक पाठक झनै  कम छन् बजार अनुसार पढ्छन चलेका नै पढ्छन   मुदिर अनुवाद किन गर्नुभएन ? लायक थिएन ?

अनुवाद हुनुपर्छ भन्ने लाग्छ । हाम्रा लेखकहरु अंग्रेजीमा लेख्न सक्दैनन् । त्यसो हुनाले अरुबाट अनुवाद गराउनुपर्छ । अनुवाद भएर नेपाल बाहिर जानु, नेपालका कथा बाहिर पुग्नु राम्रो हो । पछिल्लो समय केहि त्यस्तो प्रयोग भैरहेको पनि छ । मुदिर अरबी भाषामा र हिन्दी भाषमा अनुवाद गर्ने कुरा भएको थियो । केहि कुराहरुले गर्दा रोकियो । त्यस कुरामा म अझै पनि ‘पोजेटिभ’ नै छु ।

अनि पिपिरी ? पिपिरी गर्ने कि नगर्ने ?

पिपिरीको पनि अनुवाद हुन्छ भन्ने मलाई लाग्छ । हुनु पनि पर्छ किनकि मेरो गाउँको कथा अर्को देशको मान्छेले पढ्दा खेरि मेरो समाज बुझ्न पाउँछ । महसुस गर्न सक्छ । उसले नेपाललाई केहि अर्कै मानिरहेको हुन्छ, तर हाम्रो कथा त्यहाँ पुग्दा उसले हाम्रो वास्तविकतालाई विश्वास नगर्न पनि सक्छ । अनुवाद हुनुपर्छ भन्ने लाग्छ, हेरौ सबै  कुरा मिल्यो भने अनुवाद गर्ने हो ।

पाठकहरु लेखकभन्दा सक्षम छन् पाठकको बौद्दिकतासँग तपाइको गुनासो पिपिरीलाई लिएर ?

मलाइ त एकदम खुसि छ । त्यस्तो गुनासो केहि पनि छैन । किताबका कभर, संगीतहरु बजार यदि त्यसरी आएको छ भने लुक्न सक्दैन । लेखक भन्दा पाठक कयौ गुणा अब्बल छन  । यसमा म खुसि छु ।

डर छैन नि ?

छैन । मलाइ किन पनि डर छैन भने मैले जे लेखेको छु, आफुले भोगेको, आफुले देखेको लेखेको छु । तर कहिलेकाही के हुनसक्छ  भने हो त्यस्तै कथा अरुका पनि हुनसक्छन् । बाल्यकाल लेख्ने सन्दर्भमा बाल्यकालको चंचलता सबैको एकै प्रकारको हुन्छ । त्यै गाउको ‘पेरोफेरी’मा मेरो जस्तो बाल्यकाल अरुको पनि हुन सक्छ । ति फरक कुरा  हुन् । कथामा दुर्घनामा परुला, ‘ प्रिजेन्टेसन’मा चिप्लिन सकूला । तर कथाको हिसाबले म डराउनु पर्ने छैन । एकदम ढुक्क छु यसमा ।

साहित्य प्रति रहर कि मोह ?

विद्यार्थी जीवन देखि नै कविता राम्रो पाठ गर्थे । लयबद्द तरिकाले पढ्थे, वाचन गर्थे । त्यै बेलामा नै ४ लाइने कविता जस्तो लेखेको रहेछु । यो कुरा पिपिरीमा पनि आउँछ, खाजा खान पैसा हुँदैन थियो । विभिन्न साहित्यिक पत्रिकाहरु आउथे । ती पत्रिकाहरुबाट केहि लाइनहरु चोरेर, अझै मिठास थपेर पत्र लेखिदिन्थे ।  ती पत्रहरु साथीहरुलाई बेचेर तरकारी दुनोट पनि खाइयो ।

मलाई लेख्छु, यहाँ सम्मु पुग्छु भन्ने त कहिल्यै पनि लागेको थिएन् । यदि म कतार गएको थिईन भने म लेखक हुदिन थिए । राम्रो स्यालरी, राम्रो कम्पनि, सजिलो काम या त्यहाँ दु:ख नपाएको भए म त्यहिँ भुलिरहन्थे । तर मैले दुःख पाए । त्यसपछि  कतारको बारेमा केही लेख्नुपर्छ भन्ने लागेर मुदिर लेखे । लेखे पनि । लेख्न सक्ने खुबी रहेछ झैँ लाग्छ । यसो भनु पहिले रहर थियो अहिले मोह । तर मुदिर चाहि मेरो बाध्यता हो ।

दोश्रो पुस्तकमा आइपुग्नुभयो कुनै पनि त्यस्तो रमाइलो घटना साट्न चाहनुहुन्छ यहाँसम्मको यात्राको ?

मेरो आमा चाहि हात हेराउन गै’रहनुहुन्थ्यो । पिपिरीमा यो कुरा पनि छ । कोहि ठाउमा चामल हेर्थे, कोहि ठाउँमा हात हेर्थे । हेराउने मान्छे फलानो ठाउँमा छ रे भनेपछि आमा त्यहाँ  पुगिहाल्नु हुन्थ्यो । ‘मेरो भविष्य के छ, छोराको भविष्य कस्तो छ ?’ त्यतिबेला आमालाई  ज्योतिषहरुले के भनिदिन्थे रे भने, ‘तपाइको छोराले लेखेर खान्छ । कलम घुमाएर खान्छ भन्थे अरे ।’ पढाइ पनि म लद्दु नै हो । मध्यम थिए । जागिर खाने लक्षण पनि थिएन । कसरि चाहि लेखेर खान्छु होला भन्ने लागिरहन्थ्यो। यो कुरा मैले आमालाई त भनिन । ज्योतिषले अरु कुरा गलत गरे पनि एउटा कुरा सहि भनेका थिए झैँ लाग्छ । अहिले म लेखेरै खाने प्रयास गरिरहेछु ।

लेखनीको ह्यांगबाट उत्रिन कतिको गाह्रो ? निस्कनु भयो कि  निस्कनु भएको छैन अहिलेसम्म ? पुस्तक प्रकाशित भैसक्यो त्यो बालक नै हुनुहुन्छ अहिले पनि ?

काल्पनिक कथा थियो भने एक दुई दिनमा उत्रीन सक्थे होला । आधा भन्दा बढी कथामा म आफू भएको हुनाले मलाई यो ह्यांगओभरबाट उत्रन समय लाग्छ ।

अब पठन संस्कृतिको कुरा गरु एउटा लेखकलाई पढ्दै आएकाहरु सोहि लेखकमै अड्किन्छन् सोहि लेखेकको  अर्को किताब पर्खेर बसिरहेको थुप्रै पाठकहरु भेट्छौं  एउटा लेखकलाई मात्रै पढीरहनु या सो लेखकको अर्को किताब पर्खेर बस्ने प्रवृतिबारे तपाईलाई केहि  भन्नु छ ?

साँचो बोल्नुपर्दा नेपालमा ‘रिडिंग कल्चर’ छैन । पढ्नको लागि एउटा लेखकलाई त पढें – यो एउटा कुरा भयो । तर त्यहाँबाट बाहिर निस्कन सके भने ती पाठकले फड्को मार्छन । सफलता प्राप्त गरेको मान्न सकिन्छ । तर एउटा ‘जनरा’मा अड्किरहनु असफलता हो पाठकहरुको  । त्यो त एउटा लेखकप्रति पूर्वाग्रही भएर मात्रै पढिएको हो । हामी त्यसबाट बाहिर आउन  जरुरि छ । एउटा लेखकलाई जिन्दगिभर च्यापेर बसिरहनु पाठकको सबैभन्दा ठुलो असफलता हो ।

दोस्रो पुस्तकसम्म आइपुग्दा समग्रमा के सिक्नुभयो ?

लेखक आफ्ना किताब जति निकाल्दै जान्छ । चिप्लीदै जान्छ । यो नहुने पर्ने हो । मुदिरमा मैले जुन भाषा प्रयोग गरेको थिए, यसमा फरक छ । मुदिर पछी मैले धेरै अनुभव बटुले । धेरै लेखकहरुलाई पढे । पिपिरीमा भाषा शैली देखि अनेक पक्षमा एकदम ‘अप’ गरेको छु । आफ्नै भाषा शैली निर्माण गर्ने जमर्को पनि छ यसमा मेरो । एउटा लेखकले कसरि लेख्नु पर्छ भन्ने कुरा पनि थाहा पाए ।

बुक लन्च हुनु अगाडी किताब फरक छ, फरक भनिन्छ मेरो एकजना अंकल हुनुहुन्थ्यो, हुनुहुन्छ ।  उहाँ भन्नुहुन्थ्यो की, तरकारी भनेको ब्यानबेल्कै एउटै खानु हुन्न् बिहान आलुप्याज खाको भने साझ प्याजआलु खानुपर्छ कतै मुदिर आलुप्याज पिपिरी प्याजआलु त होइन नि  ?

यो सन्दर्भमा प्याजआलु र आलुप्याज छैन भन्ने मलाई लाग्छ  । किनकि मेरो नितान्त विषय फरक हो । मुदिरको इसु’ जल्दोबल्दो ‘इसु’ हो । सरकाले उठाउनुपर्ने कोइसन, मैले रेइज गरेको हो । खाडीको अनुभव भएको हुनाले सरकाको काम केहि हद सम्म मैले गरे । यता आउँदा खेरि एउटा बालकको बाल्यकाल छ । आलुप्याज मुदिर हो भने पिपिरी ‘करेला र आलु’ छ ।

इतिहास र विगतलाई नयाँ स्वरूप दिनु प्रगतिशील लेखन हो भन्छन् मुलधारका लेखकहरु तपाई पिपिरी लेखिरहँदा यस बारे कत्तिको सचेत रहनुभयो ?

आजभोली त प्रगतिशील संस्थाहरु नै खुलेका छन् । तर एउटा जिम्मेवार लेखकले कहिल्यैपनि समाज विध्वंस या  हिँसा उन्मुख होस् भन्ने चाहदैन । सामान्यतया लेखनको मामलामा प्रगीतिशीलता  अपनाइन्छ । लेखकहरु समाजको हित नै चाहन्छन्  । समाजलाई प्रगतिउन्मुख बनाउन शुरुमा त समाजको यथास्थिति नै चित्रण गर्न जरुरि छ । जहाँसम्म सचेतताको कुरा छ, मेरो उपन्यास मुदिर प्रगतिशील उपन्यास नै हो ।

भन्न मन लागिरहेको, नभनु जस्तो पनि लाग्ने तर भन्नैपर्ने, त्यस्तो केहि ?

हाउ लाखे ! त्यस्तो त केहि छैन । तर पनि…..किताबकै सन्दर्भमा भन्ने हो भने, देवेन्द्रको एउटा अपत्यारिलो स्वभाव देख्न सकिन्छ । उसमा  त्यति सानै उमेरमा पनि यौन उत्तेजना हुने गर्छ । पाठकले यो कुरालाई अविश्वास पनि गर्न सक्लान । तर नढाटी भन्नुपर्दा त्यो गुण म मा पनि कही न कहि थियो । त्यति कथा चाहि मेरो हो ।

प्रसंग आइहाल्यो, साहित्यमा यौन अपरिहार्य विषय हो र ?

यौनलाई मात्रै ‘फोकस’ भएर लेखिएका कथाहरु हस्तमैथुन गर्नु अगाडिको पिरियड जस्तो लाग्छ । स्खलन भएपछी सकियो त्यो । भोलि इतिहासमा कहा उद्दरण हुन्छन् ती कृति ? इतिहासले समिक्षा गर्दैन ती कृति माथि । इतिहासमा यदि कसैले गएर वैदेशिक रोजग्गार माथि लेखिएको किताब भनेर खोज्यो भने मेरो मुदिर आउन सक्छ । प्रेमको बारे लेखिएको कहाँ छ भनेर त इतिहासले खोज्दैन नि। किनकि हरेक मान्छेसँग प्रेम हुन्छ । हरेक मान्छेले प्रेम गर्छ ।

तपाइँ प्रेम नलेख्ने ?

होइन, म पनि लेख्छु । मीनराज बसन्त भनेको इसु मात्रै उठाएर हिड्ने मान्छे होइन । हुनसक्छ मेरो आगामी कृति चाहि प्रेमको बारे आउन सक्छ । नित्तान्त फरक चाही आउँछ । या सामजिक पनि आउँन सक्ला । अथवा प्रेमिल पनि आउन सक्ला । अलग विषय ल्याउने कोसिस मेरो रहनेछ ।

पाठकलाई केहि भन्नु छ ?

समग्रमा भन्नुपर्दा चाहि पाठकले पढिदिउन, स्वस्थ आलोचना र सन्तुलित प्रशंशा गरिदिउन भन्ने अपेक्षा गर्छु ।

केहि छुट्यो कि ?

समिक्षा होस्, समालोचना होस् । अतिरन्जना नहोस् । यत्त्ति त हो ।

अन्त्यमा, मलाई कुनै प्रश्न ?

हेहे, त्यस्तो केहि छैन । आफुलाई लागे जत्ति कुरा त मैले भनिहाले । किताब पढ्नुहोला नी ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank