पत्रकारलाई पार्टी र गुटका आधारमा संरक्षण गर्दा विकृति देखियो

बिहिबार, बैशाख २०, २०७५



 

किशोर श्रेष्ठ पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको क्रममा कक्षा ९ मा पढ्दा नै जेल परे । सानैदेखि पत्रपत्रिका पढ्न, रेडियो सुन्न रुची राख्ने उनी जेलबाट छुटेपछि पत्रकारितामा लागे । पद्मरत्न तुलाधरको राजमती साप्ताहिकबाट पत्रकारीता सुरु गरेका श्रेष्ठ निरन्तर पत्रकारितामा सक्रिय छन् । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष समेत रहेका श्रेष्ठसँग नेपालपाटी डटकमका लागि एलिना कार्कीले गरेको कुराकानी ।

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ ?
नेपाल प्रेस स्वतन्त्रता बढी भएको देशमा पर्छ । यहाँ प्रेस स्वतन्त्रता चाहिने भन्दा बढी छ । २०६२÷०६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधानले हकअधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयलाई राम्रोसँग सम्बोधन ग¥यो । अहिलेको संविधान पनि प्रेस स्वतन्त्रताको पक्षमा छ ।

नेपालमा पत्रकारितामाथि दल हावी भयो, स्वतन्त्र रुपमा पत्रकारिता गर्नै नसकिने अवस्था छ भन्छन । तपाई के भन्नुहुन्छ ?
हो, विशेषगरी २०६२÷६३ को जनआन्दोलन र नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्याभुत गरेका संवैधानिक अधिकार सँगसँगै पत्रकारहरू देशका भएनन् । गुटका भए, हाम्रा नीति नियमहरू दरिला भएनन, भएका पनि कार्यान्वयनमा आएनन् । यस्तो विकृति रोक्न राजनीतिक व्यवस्थाले जुन किसिमको सहयोग गर्नुपर्ने हो, त्यो भएन । उल्टै पार्टी र गुटका आधारमा संरक्षण गर्न थालियो । फलस्वरुप पत्रकारितामा विकृति भित्रियो ।

नेपालमा श्रमजीवी पत्रकारको अवस्था कस्तो छ ?
नेपालमा श्रमजीवी पत्रकारिताको क्षेत्र विज्ञापनमुखी भएको छ । टीभीमा देखिनकै लागि बिना तलव काम गर्न मान्ने पत्रकारदेखि मन मिल्दा अरु मिडिया (पत्रपत्रिका, रेडियो, अनलाइन) मा पनि बिना तलब काम गरिरहेको तर रिस उठेपछि मात्रै भण्डाफोर गर्ने प्रवृति छ । जस्तो केही दिनअघि नाम चलेकै मिडियामा पाँच महिनादेखि तलव नदिएको कुरा बाहिर आयो । हचुवाको भरमा पनि मिडिया खोल्ने काम भइरहेको छ । श्रमजीवी पत्रकारको लागि बनेका नियमहरू पालना नहुनुमा दुवै पक्षको भूमिका उस्तै देखिन्छ । हामी (प्रेस काउन्सिल) अधिकार हनन हुन नदिन लागिपरेका छौँ ।

प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दै मिडियाहरूले जथाभावी लेख्ने, गालीगलौज सम्ममा उत्रिने गरेको पनि पाइन्छ । यसमा काउन्सिलको धारणा के छ ?
प्रेस काउन्सिल नियन्त्रणकारी निकाय होईन । यो त नियमनकारी निकाय हो । यो खबरदारी गर्ने माध्यम हो । कानुनको भद्र पालना र सजाय पनि भद्र नै हुनुपर्छ भन्ने यसको धारणा हो । र हामी यसलाई शुद्द बनाउन लागिपरिरहेका छौँ । प्रेस स्वतन्त्रताको नाममा नीति नियम उल्लंघन गर्ने थुप्रै मिडियालाई पछिल्लो समय कारवाही पनि गरेका छौँ । तर, पछिल्लो समयमा वृद्धि भएका धेरै अनलाइनले चुनौती थपिदिएका छन् ।

पत्रकारितालाई मर्यादित, व्यावसायिक र विश्वसनीय बनाउन कस्ता–कस्ता विषयमा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिले त नीति नियम प्रभावकारी रुपमा कार्यान्वयन हुनु आवश्यक छ । ऐन नियमहरू पनि समय र मागअनुसार परिमार्जन गरी कार्यान्वनमा ल्याइनुपर्छ । यसैलाई मध्यनजर गर्दै आगामी भदौदेखि फौजदारी संहिता जारी हँुदैछ । यसमा पत्रकारलाई जरिवाना र सजायसहित राखेर कानुन आउँदैछ, एउटा मानिस लामो मिहेनतले सगरमाथा चढ्छ, निश्चित उद्देश्य पुरा गर्छ तर उसको कुरालाई आफनो हो भन्दै अर्कैले दावी गर्दा विश्वसनीयता घट्छ । पत्रकारितामा हुने विभिन्न विकृति जस्तै फोटोहरू, समाचारहरू अरुकोबाट लिएर आफनो हो भन्दै सोर्स नखुलाउनेलाई अब हामी कडा भन्दा कडा कारबाही गर्नेछौँ । कामको उपादेयता दिएर जनताको मन जित्ने हो, अरुको नक्कल गरेर होईन । त्यसैले अरुलाई औँला ठड्याउनुभन्दा पहिले आफु शुद्द हुनुपर्छ भन्ने कुरामा हामी ध्यान दिनेछौँ ।

पत्रकारितालाई आवाज विहीनहरूको आवाज पनि भन्निछ । के यसले व्यवहारमा पनि आवाजविहीनहरूको आवाजलाई प्रतिनिधित्व गरेको छ ?
यसमा सरसर्ती हेर्दा हुँदा खानेभन्दा हुनेखानेको प्रतिनिधित्व बढी देखिन्छ । हुनेखानेहरूकै वर्चस्व छ । पहुँच नहुनेहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तल्लो वर्गका मानिसहरू आफनो दैनिकी धान्नकै लागि बिहानैदेखि काममा व्यस्त हुने हुँदा पत्रपत्रिका पढने, रेडियो सुन्ने र टीभी हेर्ने अवसर पाएका हुँदैनन् । जसले गर्दा पनि हुनेखानेहरूकै वर्चस्व बढी छ ।

मिडियाका लागि भनेर संविधानले प्रत्याभूत गरेका विषय कार्यान्वयनमा आउन किन ढिलाइ भइरहेको छ ?

यो कार्यान्वयनमा आउन जटिल छ । हामीले हतारमा संविधान जारी गर्याै । त्यसको प्रतिफल तराईमा आगो बल्यो । सबैको कुरा सबैले बुझने र मान्ने भन्ने यो संसारमा केही पनि छैन् । हाम्रोमा पनि बिस्तारै लागु हुन्छ र भईरहेको पनि छ ।

प्रेस काउन्सिलको प्रतिनिधित्व गर्दै विभिन्न देशमा जाँदा त्यहाँ र यहाँको प्रेस स्वतन्त्रताको स्थितिमा के फरक पाउनुभयो ?
विदेशमा भन्दा हाम्रो देशमा अत्याधिक प्रेस स्वतन्त्रता छ । नीति नियम उलंघन गर्नेहरू धेरै छन् । बाहिरी देशमा सानो गल्ती हुँदा पनि सात पुस्तालाई पुग्ने गरी दण्डित गरिन्छ । तर यहाँ यस्तो छैन् ।

र, अन्त्यमा ?
अब बढी मर्यादित हुनुपर्छ र हुनुपर्ने बेला आएको छ । टाउको माथिकोे तरबार नजिकै छ । भदौदेखि लागु हुने गरी स्रोत उल्लेख नगर्ने र पत्रकारितामा रहेर गलत काम गर्नेलाई थुनामा राख्ने गरी नियम आउँदैछ । सर्तक भएर काम गर्नुहोस ।

710 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank