पत्रकारिता महिला र पुरुषको हुँदैन

बिहिबार, बैशाख २०, २०७५



विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ । तर, नेपालमा भने यो दिवस सन् १९९६ देखिमात्रै मनाउन सुरु गरिएको हो । दुई दशक पत्रकारिता गरेकी पत्रकार महासंघकी पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनासँग प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपालपाटी डटकमका लागि बविता ढकालले गरेको कुराकानी ।

नेपालमा प्रेस स्वतन्त्राताको अवस्था कस्तो छ ?

२०६२/०६३ को जनआन्दोलनमा प्रेसकोे ठूलो भूमिका महत्वपूर्ण रह्यो । एउटा राजनीतिक दलकै हैसियतमा प्रेसले काम गर्यो । अब प्रेसको भूमिका र दायित्व विकास निर्माणमा, जनताका आवश्यक कुराहरूमा हुनुपर्छ । अहिलेपनि कहिंकतै राजनीतिक रुपमा देशको पत्रकारिता निर्देशित हुने र त्यसप्रति कहिलेकाँही जवाफदेही पनि हुने गरेको छ । त्यो हिसावले आफ्ना एजेण्डा सेटिङको कुरा गरिरहँदा प्रेस कहीँकतै चुकेको छ । प्रेस स्वतन्त्रता संविधानको प्रस्तावनामै लेखिएको छ । लोकतान्त्रिक मुलुकको जवाफदेही शासन प्रणालीमा हामीले यसलाई प्राप्त गरेका छौं । तर त्यो कानुनी रुपमा प्राप्त गरेपनि व्यवहारिक रुपमा पूर्णतः हामी स्वतन्त्र छैनौं । के कारण छैनौं भन्दा एक हाम्रो राजनीतिक माहोल, अर्काे जुनस्तरको परिपक्व प्रेस हुनुपर्नेमा पनि केही खोट देखिएको छ । त्यसकारण व्यावहारिक रुपमा अझै प्राप्त गर्न बाँकी छ ।

स्वतन्त्र रुपमा पत्रकारिता हुन नसक्नुका कारण के हुन् ?

लोकतान्त्रिक विधि र शासन पद्दति भएको देशमा कुनै पनि राजनीतिक दलप्रति आस्था राख्नु र कसैलाई भोट दिनु ठूलो कुरा होइन । तर, पत्रकार भएपछि पत्रकारको भूमिका के भन्ने बिर्सनु हुन्न । यदि कुनै समाचार लेख्दै हुनुहुन्छ भने त्यो बेला कसैबाट पनि प्रभावित हुनुहुँदैन । हामी अहिले पनि कसै न कसैको प्रभावमा परेरै पत्रकारिता गरिरहेका छौं ।

स्वतन्त्रताको नाममा जथाभावी पनि भयो भनिन्छ, खासमा तपाईलाई के लाग्छ ?

मलाई लाग्दैनकी जथाभावी भएको छ । व्यावसायिक हुन भने नसकेको पक्कै हो । त्यसकारण जथाभावी देखिएको छ । यसमा अरु कसैलाई दोष दिने भन्दा पनि राज्यले राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने परिपाटी हुनुपर्छ । यो पत्रकारितामा मात्रै होइन अन्य पेशाहरूमा पनि लागु हुन्छ । यसलाई केहीले स्वतन्त्र भएर जथाभावी भयो भनेका मात्रै हुन् । व्यावसायिक नभएका कारण समस्या देखिएको हो । जनतालाई सुसूचित गराउने काम सानो होइन । बौद्दिक कामलाई चानचुने सोच्नु हुँदैन । देशलाई दिशानिर्देश गर्ने काम प्रेस जगतले गर्न सक्छ । त्यसैले त यो देशको चौंथो अंग हो । यसलाई स्वतन्त्रताका नाममा जथाभावी भयो भन्नु गलत हो ।

संचारकर्मीले सूचनाको हक कसरी प्रयोग गर्ने ?

सूचनाको हक संविधानको धारा २७ मा हरेक नेपाली नागरिकलाई आफ्नो बारेमा र सार्वजनिक सरोकारको बारेमा जान्ने हक छ । त्यसलाई संरक्षण, सम्वद्र्दन र प्रचलन गर्ने एउटा आयोग छ । ती तीनवटा कुराको कार्यान्वय गर्ने निकाय राष्ट्रिय सूचना आयोग हो । सरसर्ती हेर्दा प्रेससंग यसको सम्वन्ध नभएको जस्तो देखिन्छ । तर पत्रकार भनेको सूचनाका सम्वाहक हुन् । उनीहरूले आम जनमानसमा राज्यमा भएका र समाजमा भएका क्रियाकलाप र घटनाहरूलाई पु¥याउने काम गर्छन् । त्यसका लागि उनीहरूले सहि जानकारी लिन आवश्यकपर्छ । खोजपत्रकारितामा सूचनाको हकको ठूलो भूमिका रहन्छ ।

तपाईले दुई दशक पत्रकारिता गर्नुभयो, पत्रकारले गर्नुपर्ने तर नगरेका पक्ष के–के हुन् ?

एउटा संधै मलाई खड्किने कुरा के हो भने हाम्रो पत्रकारितामा कुनै पनि विषयमा समाचार बन्ने तर त्यसको फलोअप नहुने प्रवृत्ति छ । त्यो कहिल्यै सुधार हुन सकेन । विषय बस्तुहरूको उठान हुन्छ । तर, त्यसको अन्त्यसम्म पुग्ने काम हुँदैन । त्यस्तै अर्काे समस्या भनेको नकारात्मक कुरालाई हामी बढी जोड दिन्छौ । सकारात्मक कुरालाई लेखिहालेपनि कुनामा नदेखिने ठाउमा छापिएको हुन्छ । नीति निर्माण तहमा बस्नेहरू सबै खराव त हुदैनन् नी । राम्रा काम भन्दा नराम्रालाई प्राथमिकतामा दिने हाम्रो प्रचलन छ । त्यो गलत हो । यो ठूलो समस्या पनि हो । गलत र नराम्रो भनेर आरोप मात्रै लगाउने होइन समस्याका समाधान पनि दिन जरुरी छ । अर्काे कुरा अब हामी संक्रमणकालबाट बाहिर आएका छौं । सँधै राज्यले तयार गरेको एजेण्डा बोक्ने होइन, हामी आफैँले पनि एजेण्डा बनाएर अगाडि बढ्नुपर्छ । पत्रकारिता क्षेत्रमा विषयविज्ञको कमिका कारण पनि यी समस्या छन् । श्रोत साधन बलियो भएका सञ्चारमाध्यामले विषयविज्ञ राखेर देशमा भएका समस्याका समाधान बारे बोल्नु र लेख्नु जरुरी छ ।

पत्रकार महिलालाई अझ धेरै चुनौती छन् होइन ?

खासमा पत्रकारिता महिला र पुरुषको हुँदैन । चुनौती दुबैमा छ । समाचार हेर्दा, पढ्दा या सुन्दा महिलाले लेखे आधा, पुरुषले लेखेको पुरै पढ्ने, हेर्ने, सुन्ने भन्ने हुँदैन । तर समस्या महिलामा कहाँ छ भन्दा दोहोरो दायित्वका कारण यसलाई अलि बुझ्नुपर्ने हुन्छ । कस्तो भने महिलाका विषेश अवस्था हुन्छन् । महिला महिनावारी हुन्छन्, गर्भवती हुन्छन्, बच्चा जन्माउँछन् ।

महिला भएर जन्मनु र पुरुष भएर जन्मिनु नै यो देशमा फरक कुरा हो । प्रकृतीले नै फरक बनाएको छ । श्रोतसाधनको अवसरमा समान हुनुपर्छ र विषेश अवस्थालाई सम्वोधन गर्नुपर्छ । तर त्यसमा जसरी हुनुपर्ने हो, त्यो अहिलेसम्म भएको छैन । तालिम, शिक्षा, निरन्तर अपडेट हुनमा बराबर अवसर चाहिन्छ र विशेष अवस्थाको सम्बोधन हुनु आवश्यक छ ।

साथै विशेष अवसरहरुमा महिलाको सहभागिता बढाउनु पर्छ । हुनत कतिपय सञ्चारमाध्यामले विदा त दिएकै छ नि भन्छन् तर यहाँ विदाको कुरा भन्दा पनि महिलाको दोहोरो भूमिकाका विषयमा पनि हेर्नुपर्ने हुन्छ । महिला सुरक्षाका कुरा आउँछन् । यहाँ ८ महिनाको बच्चीदेखि ७० वर्षीया आमासम्म सुरक्षित छैनन् त्यस्ता कुराहरुलाई पनि त हेर्नुपर्यो । यी यस्ता कुराहरूलाई ध्यानमा राख्ने हो भने हामीले महिला पुरुष भन्नुपर्दैन, मात्र पत्रकारिता भने पुग्छ ।

भौतिक सुरक्षा र व्यावसायिक हकहितमा राज्यको भूमिका कस्तो हुनुपर्छ ?

पहिलो कुरा त आपराधिक घटना गराउनेहरूलाई जबसम्म दण्डित गरिँदैन तबसम्म प्रेस जगतमात्रै होइन हर कोही सुरक्षित हुन सक्दैनन् । त्यसैले जो कोही आपराधिक क्रियाकलापमा संलग्नलाई दण्डित गर्नुपर्छ । त्यसबाहेक आफ्नो संस्थामा काम गर्ने कर्मचारीको सुरक्षाको जिम्मेवारी उक्त संस्थाले पनि लिनुपर्छ । अनि अर्काे, व्यावसायिक हकहितका कुरामा राज्यको तर्फबाट तालिम दिने राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने गर्नुपर्छ । पत्रकारिता जन्मिदै जानेर आएको हुँदैन । दिनदिनै प्रविधिको विकास भइरहेको छ, त्यसमा राज्यले लगानी गरेरै पोख्त पत्रकार उत्पादन गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

1020 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank