भक्तपुरमा वाम गठबन्धनको बिजय सुनिश्चित भईसकेको छ

सोमवार, मंसिर १८, २०७४



राजेन्द्रमान श्रेष्ठ  (एमाले उम्मेद्वार २ नं क्षेत्र प्रदेश ख )

१. चुनाव प्रचारको अन्तिम चरणमा हुनुहुन्छ। हालसम्म सम्पन्न प्रचारका कार्यबाट जनताको प्रतिक्रिया कस्तो पाउनु भयो ?

प्रचारको क्रममा हामी जहाँजहाँ गयौं त्यहाँका जनताबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । जनताको राजनितिक चेतनास्तर निकै माथि उठेको अनुभव गरेको छु । देशमा स्थिर सरकार नभएकै कारण देशले प्रगति नगरेको भन्नेमा धेरैले बुझेको पाएँ । बामगठबन्धनप्रति जनताको विश्वास रहेको देखियो । विगतमा नेपाली काँग्रेसलाई मतदान गरेर देशलाई अधोगतितिर लैजान सघाएकोमा पश्चाताप गर्नेहरू पनि निकै देखिए ।

२.तपाईँहरूले उठाउनु भएको प्रतिवद्धताहरूमा जनताको धारणा कस्तो रहेको पाइयो ?

सर्वप्रथमतः हाम्रा प्रतिवद्धताहरू यथार्थमा आधारित, जनताको प्रत्यक्ष सरोकारभित्र रहेको र अत्यावश्यक विषयमाथि केन्द्रीत रहेको धारणा पाइयो । खानेपानी, बाटोघाटो, ढलनिकास जस्ता भौतिक समस्या लगायत संस्कृति संरक्षण र संस्कृतिकर्मीहरूको प्रोत्साहनका कार्यक्रम जस्ता सांस्कृतिक तथा भावनात्मक विषयका प्रतिवद्धतालाई जनताले समर्थन गरेको पाएँ । जनताले ती प्रतिवद्धता पूरा गर्न प्रादेशिक बजेट विनियोजन गराउन आग्रह गरेको पनि सुन्यौं । हामीबाट गरिएका प्रतिवद्धताहरू पूरा गर्न हामी प्रतिवद्ध छौं ।

३.गठबन्धनभित्र पनि एमालेले उम्मेद्वारी पाएको स्थानमा माओवादी केन्द्र र माओबादी केन्द्रले उम्मेद्वारी पाएको ठाउँमा एमाले सक्रिय नभएका गुनासा पनि सुनिएका छन् । मध्यपुर–थिमिको सन्दर्भमा कस्तो पाउनु भयो ?

अन्यत्र केही स्थानमा सुरुका दिनमा यस्तो सुनिए पनि हाल समस्या समाधान भएका छन् । मध्यपुर–थिमिको हकमा सुरुदेखि नै पूरा जोश जाँगर र एकमनाका एकता साथ दुबै पार्टी इमान्दारीपूर्वक संयुक्त रूपमै निर्वाचनको प्रचार प्रसारमा होमिएका छौं । हामी बीच कुनै समस्या छैन । भविष्यमा पार्टी एउटै बन्ने कुराबाट हामी उत्साहित छौं । देशको अग्रगमन र समग्र समृद्धिका लागि हामी पूर्ण आशाबादी छौं । व्यक्ति प्रतिनिधि पात्र मात्र हो समग्रमा जित बाम गठबन्धनकै हो भन्ने कुरामा हामीमाझ कुनै द्विविधा छैन ।

४.अब चुनावी परिणाम कस्तो आउला त ?

नेकपा(एमाले)ले सरकार सञ्चालन गर्दा भएका जेष्ठ नागरिक भत्ता वितरण र सो को पटक पटक बृद्धि गरी जेष्ठ नागरिकहरूलाई दिएको राहत, समावेशी लोकतन्त्र र स्थानिय तहलाई सबलीकरण गर्ने प्रयासलाई नेपालको संविधान २०७२ बाट संबैधानिक रूपमै व्यवस्थित गर्न प्राप्त सफलता, भारतीय अघोषित नाकाबन्दीलाई निस्तेज गर्दै देशको स्वाभिमान जोगाएर गरेको समाधान, बामगठबन्धनले घोषणापत्रमार्फत् सार्वजनिक गरेका नेपालको समृद्धिको योजनाका साथै नेकपा(माओवादी केन्द्र)को नेतृत्वमा रहेको सरकारले लोडसेडिङ हटाउने जस्ता जनहितका कार्य र हामीबाट सार्वजनिक गरिएका स्थानिय विषयमा आधारित प्रतिवद्धता पत्रका आधारमा जनता स्पष्ट रूपमै बामगठबन्धनको पक्षमा छन् ।

हामी जनताकै काखमा रहेर हुर्केका, बढेका र देशको मुक्ति र अग्रगमनका लागि राजनीति गर्दै आएका कारण जनताको विश्वास हामी उपर रहेको छ । चुनाव प्रचारका क्रममा घर, आँगन, चोक, गल्ली, बस्ती बस्तीमा पुग्दा जनताबाट अभिव्यक्त भएका सद्भाव हाम्रो जित सुनिश्चित हुने आधार हुन् साथै हिजो मध्यपुर–थिमिको मत पाएर जितेर गएकाहरूबाट कुनै प्रतिवद्धता पूरा नहुनु र आज उनीहरूप्रति अविश्वास चुलिनु पनि हाम्रो जितका आधारहरू हुन् । यस पटकको चुनावमा जनताको अपार माया पाएर मध्यपुर–थिमि प्रदेश क्षेत्रमा बामगठबन्धनको सानदार जित हुन्छ नै त्यस्तै प्रतिनिधि सभाका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्र र अन्य प्रदेश क्षेत्रहरू लगायत देशमै बाम गठबन्धनको विजय सुनिश्चित रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank