एकता ढिलो हुँदैमा बिग्रदैन, परिपक्व हुनुपर्छ

बिहिबार, बैशाख २७, २०७५



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका विषयमा पटकपटक छलफल भइरहेको छ । विशेषगरी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच निरन्तरजसो छलफल भइरहेको छ । तर, एकता कहिले हुन्छ भन्ने विषयमा जवाफ दिने अवस्थामा कोही पनि छैनन् । एकता प्रक्रियाका विषयमामालेका पोलिटब्यूरो सदस्य कर्णबहादुर थापासँग नेपालपाटी डटकमले गरेको कुराकानीः

पार्टी एकता प्रक्रिया कहाँ पुग्यो ?

नेपालमा एउटै कम्युनिष्ट पार्टी स्थापना गर्ने र त्यो कम्युनिष्ट पार्टीले समृद्धिको नेतृत्व गर्ने महान उद्देश्यबाट पार्टी एकता कामको सुरुवात भएको छ । यो नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट बन्ने पार्टीले जटिल कामलाई पनि समाधान गर्ने सामथ्र्य राख्छ । दुई ठूला कम्युनिष्ट पार्टी लामो समयसम्म फरक–फरक अस्तित्वका साथ चले । राष्ट्र निर्माणको महान उद्देश्य पुरा गर्न पार्टी एकता जरुरी परेको हो । आन्तरिक व्यवस्थापनका कामहरू, राजनीतिक सिद्धान्त, विचार, दृष्टिकोण कार्यक्रम, नीतिहरू समेत तर्जुमा गर्नुपर्ने र नेतृत्वको पनि व्यवस्थापन गर्नुपर्ने निकै जटिल काम सम्पन्न भइसकेका छन् । यसका लागि वास्तवमा जति समय लाग्थ्यो, त्यति पनि लागेन । सवै पक्षलाई राजनीतिक, सैद्धान्तिक वैचारिक, सांगठनिक नेतृत्वको व्यवस्थापन जस्ता विषयहरुलाई सुदृढ गर्दै लैजानुपर्ने र समाधान गर्नुपर्ने भएकाले केही समय लिए पनि सकारात्मक दिशामै अगाडि बढिरहेको छ । हामी एकताको अन्तिम चरणमा पुगेका छौँ । उपयुक्त ढंगले नै काम अगाडि बढिरहेको छ ।

निर्वाचन चिह्न के, जनयुद्द शब्द प्रस्तावनामा राख्ने कि नराख्ने, माओवादी केन्द्रलाई कति प्रतिशत केन्द्रीय सदस्य दिने ?

निर्वाचन चिह्नका विषयमा लगभग सहमति भइसकेको छ । निर्वाचन चिह्न भनेको जनताले सहज ढंगबाट चिन्ने, सहज ढंगबाट ग्रहण गर्ने हुनुपर्छ । सूर्य चिह्न जनताको बीचमा लोकप्रिय भएकाले चिह्न यही नै हुन्छ । यसलाई इन्कार गर्न सक्ने अवस्था छैन् । एउटै पार्टी बनाउने भनेपछि हाम्रो चिह्न यस्तो, तिम्रो चिह्न यस्तो भनेर समय खेर पाल्नु उपयुक्त हुँदैन । सूर्य चिह्नमा राजनीतिक सहमति पनि भइसकेको छ । कम्युनिष्ट पार्टीको निर्वाचन चिह्न सूर्य नै हुन्छ ।

जनयुद्धको विषय हिजो माओवादीले त्यसलाई नेपाली समाजका अन्तरविरोधलाई समाधान गर्ने अरु कुनै पनि विकल्प बाँकी छैनन् । जनयुद्ध नै नेपाली समाजको अन्तरविराधको एक मात्रै समाधानको विकल्प हो भनेर सशस्त्र विद्रोह गर्यो । तर, त्यो सही सावित भने हुन सकेन अर्थात गलत सावित भयो । असफल भयो । तर, अहिलेको विषय भनेको नेपाल कम्युनिष्ट पार्टी बन्दैछ, अबको हाम्रो संघर्षको रुप शान्तिपूर्ण हुन्छ । बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ । अवको बाटो जनयुद्धको माध्यमबाट जाने हैन ।

उसोभए जनयुद्ध शव्द नै नराख्ने भन्ने एमालेको धारणा हो ?

हैन, हामीले के सन्दर्भमा राखौँ भनेका छौँ भने हिजो गरिएका कुराहरू बेठिक नै भए पनि त्यो जनयुद्ध भएको थियो भन्ने सन्दर्भमा कतैै न कतै राख्न आपत्ति छैन । तर, स्पस्ट के हुनुपर्छ भने अबको हाम्रो कार्यनीति, हाम्रो कार्यक्रम र कार्यदिशा जनयुद्धको होइन । शान्तिपूर्ण संघर्षको, शान्तिपूर्ण प्रतिस्पर्धाको कार्यदिशा हो । इतिहासमा यस्तो पनि भएको थियो भन्ने सन्दर्भमा जनयुद्द शब्द राख्दा आपत्ति मान्नुपर्दैन ।

केन्द्रीय कमिटीमा संख्याको बिवाद देखिन्छ । विचार, सिद्धान्तको कुरा मिल्ने अनि कताबाट कति नेता केन्द्रीय कमिटीमा रहने भन्ने विषय नमिल्नु अनौठो भएन ?

भिन्न विचार, भिन्न संगठनबाट एकीकृत हुँदा आफु पक्षबाट धेरै आउन भन्ने सोच्नुलाई अन्यथा लिनु हुँदैन । तर, यहि कारणले गर्दा पार्टी एकता प्रक्रियामा दरार आउने या भोली पार्टी एकता भइसकेपछि पनि समस्या खडा गर्ने हुनु हुँदैन । भोलि समस्या नआओस भन्नेमा हामी सचेत भएर अगाडि बढ्नुपर्छ । संख्या यति हुनुपर्छ भनेर माओवादी केन्द्रले भनेको विषयलाई हामीले नकारात्मक रुपमा लिएका छैनौँ । स्वभाविक रुपमा त्यसमाथि छलफल हुन्छ । दुई अध्यक्षले त्यसलाई टुंग्याउनुहुन्छ ।

तपाईलाई पार्टीका कार्यकर्ता, जनताले पाटी एकता कहिले हुन्छ भनेर सोध्दा के जवाफ दिनुहुन्छ ?

तिथि भन्दा पनि पार्टी एकता महत्वपूर्ण विषय हो । ढिलो हुँदैमा बिग्रदैन, परिपक्व हुन राम्रो हो । हतारमा काम गर्ने अनि पछि पछुताउने ढंगले अगाडि बढ्नु हुँदैन । लामो समयदेखि विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने महान काममा छौँ । पार्टी एकता कहिले हुन्छ भन्ने चासो आम जनतामा छ । त्यसकारण हामीमाथि प्रश्न गर्नु स्वभाविक हो । देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै चासोको विषय बनेको छ–पार्टी एकता ।

कतै एकता नहुने पो हो कि भन्ने पनि छन नि ?

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पार्टी एकता गर्ने कुरा थियो । त्यसबेला आवश्यक प्रक्रिया पुरा नभएका कारण एकता घोषणा सभा हुन सकेन । कुनै दरार भएर एकता नभएको होइन । बरु दुवै पार्टीको नेतृत्व र आम कार्यकर्ता एकतालाई अझ दरविलो वनाएर अगाडि लैजाने ढङ्गले अगाडि बढेका छन् ।

चुनावी तालमेल, पार्टी एकताको विषय, सरकार गठन लगायतका विषयमा पोलिटब्यूरो र केन्द्रीय कमिटीलाई अहिलेसम्म थाहै दिइएको छैन् किन् किन होला ?

नेपालको कम्युनिष्ट आन्दोलन लामो समयदेखि टुटफुट र कतिपय सन्दर्भमा छिन्नभिन्न अवस्थामा रह्यो । कम्युनिष्ट पार्टीको स्थापना न्याय, समानता, सवै प्रकारका विभेदको अन्त्य, शोषणको अन्त्य गर्ने, विभेदरहित समाजको निर्माण गर्ने र सवै जनतालाई आफ्नो व्यक्तित्व विकास गर्ने समान अवसर प्रदान गर्नका लागि भएको थियो । तर, विभिन्न कारणले कम्युष्निट पार्टी एक रहन सकेन । तहसनहसको अवस्थामा समेत पुग्यो । पछिल्लो समय खासगरी पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा नेपालका सवै कम्युनिष्ट पार्टीलाई एक बनाउने ढङ्गले कामको सुरुवात गर्नुभयो । इतिहासका हरेक घटना (सकारात्मक या नाकारात्मक) पार्टीमा छलफल हुन्छ । बहस हुन्छ । झट्ट हेर्दा २०७४ असोज १७ गते मात्रै कम्युनिष्ट पार्टी एकताको कुरा आएको देखिएला । तर, विगत लामो समयदेखि एउटै कम्युनिष्ट पार्टी बन्नुपर्छ भनेर छलफल हुँदै आएको थियो । माओवादी केन्द्रले पनि साना साना कम्युनिष्ट पाटी मिलाएर एउटा माओवादीको भगालो बन्यो । नेकपा एमाले पनि टुटफुटमा रहेका धेरै कम्युनिष्ट पार्टी मिलाएर बनेको हो । यी दुई पार्टी मिलेर अव शक्तिशाली एउटै कम्युनिष्ट पार्टी बन्दैछ । स्वभाविक रुपमा पोलिटब्यूरो र केन्द्रीय कमिटीमा यी विषयमा छलफल भएका छैनन् । तर, आम नेता, कार्यकर्ता र जनताले समेत निर्वाचनमार्फत यी विषयलाई अनुमोदन गरिसकेको स्थिति हो ।

एकता विरोधीले ठूलो चलखेल गरेका छन् भनेको पनि सुनिन्छ । को हुन् त्यस्ता विरोधी ?

समाजमा एकता होस र नहोस भन्ने दुवै तप्का छन् । एकता नहोस भन्नेहरू अदृश्य रुपमा लागेका छन् । त्यो तप्का नेपाल भित्र र बाहिर पनि छ । एमाले र माओवादीको नेतृत्व सचेत भएकाले त्यस्ता तप्काका षडयन्त्र भने सफल हुने छैनन् ।

611 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank