प्रमुख तीन दलले एक–एक वटा निर्वाचन गराऔं – एमाले उपमहासचिव भुसाल

आइतवार, मंसिर १२, २०७३



नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल नेपाली राजनीतिमा अध्ययनशील नेतामा गनिन्छन् । दर्शशास्त्र, माक्र्सवाद र नेपाली क्रान्तिका विषयमा गहन अध्ययन गरेका नेता भुसाल स्पष्ट वक्ताका रुपमा समेत परिचित छन् । संविधान जारी गर्दा मिलेका शक्तीहरु अहिले अलग अलग धारमा उभिदा संविधान नै कार्यान्वयन नै अलपत्र परेको धारणा राख्ने उनी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु अलग गर्ने विचार कुत्सित मनसायका साथ आएकोले त्यसको प्रतिवाद गर्नुपर्ने बताउँछन् । प्रस्तुत छ, उनै प्रभावशाली युवा नेता भुसालसँग नेपालपाटीका लागि दीपेन्द्र खड्काले गरेको कुराकानी ।

वर्तमान सत्ता गठबन्धनले एमालेलाई बाहिर राखेर संविधान संशोधनको प्रस्ताव दर्ता गराउन लागेको खबरहरु आईरहेका छन् । यसले मुलुकलाई कुन दिशातर्फ लिन खोज्दैछ ?

यसको तत्कालिन राजनीतिक भन्दा पनि अलि बृहत सन्दर्भ छ । यसका केही सैद्धान्तिक सन्दर्भ छ । मैले संधैभरी भन्ने गरेको छु की, कुनैपनि  क्रन्तिको दिशा कस्तो हुन्छ भन्दा त्यो क्रान्तिका शक्तिहरुको दशा जस्तो हुन्छ, त्यस्तै हुन्छ । क्रान्तिका शक्तीहरु एक ठाउँमा भए भने सहज रुपमा अघि बढ्छ । तर उनिहरु आफै विवादीत भए भने क्रान्ति धेरै अप्ठेरोमा पर्छ ।  कहिले असफल हुन्छ । कहिले संक्रमणकाल  लामो हुँदा त्यो क्रान्ति सफल हो की असफल भन्ने नै थाहा हुदैन ।

उहाँहरुले सभामुख, उपराष्ट्रपति लगायत महत्वपूर्ण भनिएका मन्त्रालयहरु पाउनु भएको थियो । तर काँग्रेसले कुनैपनि बेला कमरेड प्रचण्डका अगाडि ‘श्यामकर्ण’ घोडा ल्याएर अब तिमी यसमा सयर गर भन्छ भन्ने कुरा हामीलाई थाहा थियो ।

समाजमा क्रान्तिले जे प्रभाव दिनुपर्ने हो, त्यो दिन असफल हुन्छ । हाम्रो सन्दर्भमा भन्ने हो भने २०६२/०६३ मा एक ठाउँमा उभिएका शक्तीहरु अहिले विभाजित छन् । शान्ति प्रक्रियाको कुरा गर्ने हो भने सेना समायोजन भयो, केही अन्य कामहरु पनि भए । संविधानसभाको चुनाव भयो । संविधान पनि जारी भयो । तर अहिले दलहरु नमिल्दा मुलुक यो हालतमा छ । मुलतः एमाले र काँग्रेसबीच अहिले जस्तो तित्तता कहिल्यै पनि थिएन ।

काँग्रेस र माओवादी केन्द्रमाथी काँग्रेस सत्ता स्वार्थी र माओवादी जातीवादी तथा अविश्वसनीय शक्ती भएको तपाईहरुको आरोप छ । तर एमाले जस्तो सशक्त जनाधार भएको पार्टीले माओवादीलाई आफ्नो कित्तामा ल्याएर समस्या समाधान गर्ने तर्फ किन नलागेको ?
म त्यसैमा आउदै थिए । तपाईको प्रश्नमा आउँदा केही समय पहिलेको कुरा सम्झना आवश्यक हुन्छ । संविधान जारी गर्दा सत्ता साझेदारी गर्दै जाने एक किसिमको प्रारुप तयार भएको थियो । काँग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री र माओवादीले सभामुख पाउने सम्झौता भएको थियो । यसरी मुख्य दलहरु मिलेर संविधान कार्यान्वयन गर्ने सहमती भएको थियो । तर जब सुशिल कोईरालाले आफै फेरीपनि प्रधानमन्त्री बन्ने गरी संसदमा चुनाव लड्न आउनुभयो, त्यसपछी एमाले र काँग्रेसबीच असाध्यै तिक्ततापुर्ण सम्बन्ध बन्न पुग्यो । यो अनौठो कुरा हो की सुशिल कोईराला जस्तो मानिस, जसलाई सामान्य रुपले अरुको प्रभावमा पर्दैनन् भन्ने बुझिन्थ्यो, उहाँ रातारात चुनाव लड्न आउनुभयो । यसका पछाडी  कसले भूमिका खेलेको थियो ? कसको के स्वार्थ थियो भन्ने लगायतका तमाम कुरा त खोज्नुपर्ने नै छ । जे होसहाम्रा बीचमा सम्बन्ध बिग्रन थालेको त्यहीँबाट हो ।

त्यसपछी हाम्रो नेतृत्वमा सरकार बन्यो । त्यतिबेला कुनै लिखित सहमती नभएपनि संविधान कार्यान्वयन गर्न तीन वटै निर्वाचनसम्म केपी ओलीको नेतृत्वमा अघि बढ्ने कुरा भएको थियो । त्यतिखेरको शक्ती बाँडफाँडको हिसाबले भन्दा एउटा अन्डरस्ट्याण्डीङ भएको हो । उहाँहरुले सभामुख, उपराष्ट्रपति लगायत महत्वपूर्ण भनिएका मन्त्रालयहरु पाउनु भएको थियो । तर काँग्रेसले कुनैपनि बेला कमरेड प्रचण्डका अगाडि ‘श्यामकर्ण’ घोडा ल्याएर अब तिमी यसमा सयर गर भन्छ भन्ने कुरा हामीलाई थाहा थियो । काँग्रेसका कतिपय नेताहरुले हामिसँगको व्यक्तिगत भेटमा महाधिवेशनपछी हामी सरकार परिवर्तन गछौँ भन्ने गरेकै थिए । प्रचण्डजीले काँग्रेसको त्यही कुरालाई सफल बनाई दिनुभयो । त्यतिखेर हाम्रा अगाडि प्रचण्डलाई प्रधानमन्त्री दिएर अगाडी जाने एउटा विकल्प थियो । अप्ठेरो बेलाको त्यस्तो विकल्प खोज्ने अन्तरदृष्टि हामी भित्र भएन । हामीले अलि आकाशतिर मात्र हेर्यौँ ।

तपाईहरुले प्रधानमन्त्री दिन्छु भनिसकेपछी नदिनुको कारण चाँही खुलाउनु पर्दैन ?
त्यसको अरु कुनै कारण छैन । हामीले त्यस्ता मुद्धाहरुलाई देख्न सकेनौँ । तपाईले हामीलाई रतन्धो लाग्यो, सत्ताको मात लाग्यो, वा अरु जेसुकै पनि भन्न सक्नुहोला । मैले मेरो भाषामा भन्दा त्यो देख्न सकिएन, कमजोरी भयो । व्यक्तिगत रुपले भन्दा प्रचण्डजीलाई प्रधानमन्त्री दिन्छौँ भनेपछी हामीले त्यो सहमति लागु गरेको भए हुन्थ्यो । त्यो  हामीले ख्याल गर्न सकेनौँ । त्यहाँबाट हाम्रो विश्वास भत्कियो ।

तपाईलाई लाग्दैन, नेपालको वर्तमान राजनीति मियोबिनाको दाँई जस्तो भयो ?
मियो नभएको होइन, बरु एउटा दाँईमा तीन/चार वटा मियो भएर यस्तो भएको । एउटा दाँईमा तीन/चार वटा मियो भएपछि कस्लाई मियो भन्ने ? प्रश्न त्यहाँनेर छ । जे होस् यस्तै संक्रमणका कालमा क्रान्तिका शक्तीहरु एक ठाउँमा आएर त्यसलाई नै मियो बनाउनुपर्छ । फ्रान्सेली क्रान्ति, रशियन क्रान्ति, सन् एघारको चिनियाँ क्रान्तिको दुर्दशा भयो, क्रान्तिका शक्तिहरु विभाजित भएपछी सत्यानाश भयो ।

के नेपाल पनि त्यही बाटोमा अगाडी बढ्न खोज्दैछ भन्न खोज्नुभएको ?
मैले त पहिलेदेखी नै भनिरहेको छु, नेपाल अप्ठेरो अवस्थाबाट अगाडी बढिरहेको छ । यो मैले अहिले भनेको होईन । जुनसुकै बेला क्रान्तिमाथी ठुल–ठुला जोखिमहरु आउन सक्छन ।

तपाईले देखेको जोखिम चाँही के हो त रु के अब नेपालमा राजतन्त्र फर्कन्छ ?
सामान्यतयाः हाम्रो जस्तो मुलुकमा जनताले लखेटेको राजतन्त्र फर्किएर आउँछ, शासन गर्छ र टिक्छ भन्ने कुरामा मलाई विश्वास छैन । यो मिथ्या कल्पना मात्र हो । हिन्दुत्व र राजालाई जोडेर भोटका लागि प्रचार गर्ने अलग्गै कुरा हो । अहिले यो संक्रमण लम्बिन्छ । अहिले तत्काल अरु केही हुदैन ।

तपाईले परिकल्पना गरे भन्दा फरक मधेशका कतिपय नेताहरुले भनेजस्तै गृहयुद्धतर्फ पो जान्छ की ?
त्यो चाँही उनिहरुले धम्की लगाएका हुन । यो बोल्न लगाइएको हो । जसको आडमा उनिहरु बोलिरहेका छन्, तीनीहरु नै नेपालमा गृहयुद्ध चाँहदैनन् । त्यसैले निकट भविष्यमा यही संक्रमणकाल लम्बिदै जान्छ । त्यो प्रतिक्रान्ति भन्दा कम हुने छैन ।

तपाई जस्तो अध्ययनशिल नेताले स्पष्ट बनाइदिनहोस कि, मुलुक किन यसरी साना तिना कुरामा अल्झिरहेको छ ?
मैले अघि नै भनिसकेँ की क्रान्तिका शक्तिहरु विभाजित भए । कतिपय तत्वहरुले काँग्रेस र एमालेबीच फाटो ल्याए । सुशिल कोईराला झुक्किएर प्रधानमन्त्रीको उम्मेदवार बनेका होइनन् । उनलाई उम्मेदवार बनाउने शक्तीहरुले काँग्रेस र एमालेलाई मिल्न दिदैनन् । यो सजिलो कुरा होईन । काँग्रेसभित्रै वा हामी भित्रै पनि दवाव भयो भने पनि एक ठाउँमा आउन दिदैनन् ।

प्रचण्डजी काँग्रेसको घोडा चढ्नुभयो । उहाँलाई हाम्रै घोडा चढाएर लिएको भए काँग्रेस लामो समय सत्ता बाहिर बस्न सक्दैनथ्यो, सहमतीमा आउँथ्यो । काँग्रेससहित संयुक्त सत्ता साझेदारी गरेर अगाडी जान सकिने अवस्था थियो । सुशिल कोईरालाको नालायकीले टुटेको कडी जोडिने ठाउँ थियो । त्यो हामिले पनि राम्ररी देख्न सकेनौँ । त्यो हिजोको कुरा थियो । आजपनि एमालेका तर्फबाट भन्छु, पहिलो कुरा एक ठाउँमा उभिएर क्रान्तिको रक्षा गरौँ । दोश्रो कुरा, हामीले संविधान बडा ठुलो मुल्यमा बनाएका छौँ । यसको कार्यान्वयन गरौँ । तेस्रो कुरा, संविधान कार्यान्वयनका लागि आवश्यक समझदारी निर्माण गरौँ । चौथो कुरा, त्यो समझदारी कार्यान्वयन गर्दा आवश्यक पर्यो भने संविधान संशोधन गर्दै अघि बढ्औँ । यि आधारमा अघी बढ्न सकिन्छ ।

अर्को कुरा यदी समझदारी हुने नै हो भने प्रमुख तीन दलले एक – एक वटा निर्वाचन गराऔँ ।  काँग्रेस पहिलो पार्टी भएकोले रोजेर एउटा चुनाव गराओस् । हामी दोस्रो पार्टी हौँ । त्यसपछीको रोजाई हाम्रो हुन्छ । तेस्रो पार्टी माओवादीले अर्को चुनाव गराओस । अझ मेरो कुरा के छ भने हामीलाई सरकार पनि चाहिएन । तीन वटा चुनाव मध्ये डेढ– डेढ वटा बाँडेर काँग्रेस र माओवादीले नै बनाउन । कम से कम संविधान कार्यान्वयनको प्रयत्न त होस् ।

जब जारी गर्नेहरुले नै कार्यान्वयन गर्दैनन् भने यसको विरोध गर्ने कथित मधेशवादी दलहरु, भारत वा अरु कसैले कार्यान्वयन गरिदिने कुरा हुदैन । अहिले कुबुद्धीको बाटो काँग्रेस हिडिराछ । अब प्रचण्डजीको त कुरै छोडिदिउँ । यो संविधान संशोधन गर्ने भनेको उहाँको औचित्यको अन्तिम किस्ता सकिने हो । न उहाँले मधेश टेक्नुहुन्छ, न पहाड ।  न विचारधारा  टेक्नुहुन्छ न क्रान्ति । न उहाँले प्रजातन्त्र नै टेक्नुहुन्छ । उहाँको टेक्ने ठाउँ नै समाप्त हुन्छ । मेरा आँखाबाट हेर्दा उहाँले नै विचार  पुर्याए हुन्थ्यो भन्ने लाग्छ ।

प्रधानमन्त्री दाहालले अंगीकृत नागरिकताको सवाल कायम राख्दै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु अलग्याउने गरी संविधान संशोधन गर्छु  भनेका छन् । यसको भित्री रहस्य केही छ ?
आजका कथित मधेशवादी पार्टीहरु जुन ठाउँ माछन्, यिनका जुन विचार, नारा छन्, यो कहिल्यै पुरा गरेरै साध्य हुदैन । त्यो भनेको हामीले दिने तीनले लिने भनेको होईन । तिनीहरुलाई नै संविधान लेख्न दियौं भनेपनि आफै लडेर मर्छन । तीनका माग, जातीय नारा, स्वार्थ हेर्नुहोस, अनि तीनका राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धहरु हेर्नुहोस्, तिनीहरुले सग्लो संविधान लेखेरै ल्याउँदैनन् । यो बेकार कुरा हो । यिनीहरुले तराईमा अर्को प्रगतिशिल शक्ति आउन पनि दिदैनन् । तिनीहरुले बाटो छेकेर राखेका छन् । तीनको मुद्धा नै जातीय र क्षेत्रीय छ । उद्देश्य नै राष्ट्रिय होइन ।  त्यसैले राष्ट्रिय पार्टीहरुले बुद्धि पुर्याए हुने हो नी त । यसमा ध्यान दिन नसक्नु हाम्रो पनि कमजोरी भयो ।

तपाई आफैले प्रतिनिधत्व गर्ने पाँच नम्बर प्रदेशलाई टुक्राउने प्रधानमन्त्रीको प्रस्तावका विषयमा तपाईको धारणा के छ ?
यो चाँही सत्ताको बाँडफाँड जस्तो देखिन्छ । पुर्वमा एमाले अध्यक्ष ओली र काँग्रेस नेता सिटौलाको इन्टे«स्ट जोडिएको छ भने पश्चिममा देउवाको इन्टे«स्ट जोडिएको छ । त्यसैले ती ठाउँहरुमा अहिले चलाउन नसकिने भएकोले यिनीहरुलाई के बुद्धि दिइएको हुन सक्छ भने यहाँ बिचतिर सजिलो छ, यहाँ काट अहिलेलाई । पाँच नम्बर प्रदेश काटेपछी संविधानको मामिला सकियो भनेर मोदीदेखी प्रचण्डसम्म कसैले लेखेर दिन सक्छ ? कथित मधेशवादी दलहरुले भन्छन् ? भन्दैनन् । नागरिकताको कुरा अहिले नबोल्ने हो । अहिले पाँच नम्बर काट्ने कुरा मुख्य हो । यसबाट पहाड र मधेश छुट्याइयो भन्ने नजिर स्थापित गर्ने र भोली मेची र महाकालीमा पनि अलग गर्नुपर्छ भन्ने कुरा ‘लजिकल्ली’ स्थापित हुन्छ ।

यदि यसो भयो भने संविधान बन्नुभन्दा अगाडीका उनीहरुका सबै मुद्धाहरु बैध हुदै जान्छन् । हामीले संविधानवादका हिसाबले नयाँ बैधता सिर्जना गरेका छौँ । यो संविधानलाई खल्बल्याउने हो भने अहिलेको जस्तो राज्यको पुर्नसंरचना, संघीयता आदि कुराले बैधता गुमाउदै जान्छन् । त्यसैले क्रान्ति खतरामा पर्छ । राजतन्त्र फेरी फर्कने र गणतन्त्र खतरामा पर्ने कुरा होइन । राजतन्त्र नहुने कुरा नै गणतन्त्र हुने पनि होइन । राजतन्त्रको अभाव आफैमा गणतन्त्र हुदैन । देश भोली विदेशीले चलाईदिन्छन् ।

यदी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु अलग गरेर देशको समस्या नै समाधान हुन्छ भने के फरक पर्छ त ?
मैले पटक पटक एउटा उदारहण दिने गरेको छु, जाडोमा कठाङग्रीएको भ्यागुतोलाई थोरै मनतातो पानीमा राखिदिनुहोस्, उसलाई आनन्द हुन्छ । अनि बिस्तारै तातो पानी थप्दै जानुहोस्, जतिबेला भ्यागुतालाई असह्य हुन्छ त्यतिबेला त्यो भ्यागुतोले खुट्टा चलाउनै नसक्ने भैसकेको हुन्छ । अहिले मुलुकमाथी यस्तै किसिमको सङकट पनि संग संगै छ ।

हिजो कथित मधेशवादीका माग पुरा गर्ने नाममा हाम्रा नेताहरुलाई झ्यालबाट कतिपय शक्तीहरुले  मधेशवादीका वारेस बनेर वचन दिएका थिए, एकपटक संविधान संशोधन गरेर हामीले मनाइदिन्छौं भनेका थिए । खोई १ आज ती शक्तीहरु ? लेखर राख्नुहोस, यो कुरा फेरी उठ्छ । यो मुद्धामा विषेशगरी पत्रकार, बौद्धिक समाजलाई पनि के भ्रम हुन भएन भने, यो यसरी समाधान हुने मुद्धै होइन । तपाईले अहिले मधेशका जनतासंग होइन, मधेशको फोटो बेचेर खानेहरुसंग कुरा गरिरहनु भएको छ, जो आफ्नो निहित स्वार्थमा लागेका छन् ।

सत्ताधारी दलहरुले अंगीकृत नागरिकलाई चार वटा सर्वोच्च पदहरुमा मात्र जान नपाउने गरी नागरिकता सम्बन्धी प्रस्तावमा सहमती जनाई सकेका छन् । यस्तो अवस्थामा तपाईहरुले मात्र रोकेर रोकिन्छ ?
हाम्रो गाउँघरतीर भने जस्तो यो पनि पिसावको न्यानो मात्र हो । अहिले देउवाजीले सत्ताका लागि काँग्रेसलाई पिसावको न्यानोमा सुताउदै हुनुहुन्छ । यो हुनेवाला छ्रैन । यो नेपालमा जन्मिएको कुनै धर्तीपुत्रको माग होइन । यो आयातित माग हो भनेर उपेन्द्र यादव आफैले भनिरहुनु भएको छ । हाल्दै नहालेको रिटको इजलास बस्ने बुद्धि प्रचण्डजीको छ ।  माग नै नगरेको विषयमा इजलास बसेर समाधान हुदैन । आज राष्ट्र जती संकटमा पर्दै गएको छ, हाम्रा पार्टीहरु पनि त्यति नै संकटमा पर्दै गएका छन् । राजनीति नै संकटमा पर्दै गएको छ । यस विषयमा कुनै पार्टीमा पनि गम्भीर छलफल भएको देखिदैन ।

जनताले साँच्चिकै अनुभुती गर्ने किसिमको निकास चाँही के होला त उसो भए ?
हिजो हामिलाई सरकारबाट जसरी सरकारबाट हटाईयो, हाम्रो चित्त दुख्यो । अब हामी सम्हालिई सकेका छौँ । हामीलाई सरकारको मतलव छैन । सरकारमा तपाईहरु नै बस्नुहोस । तर संविधान कार्यान्वयन गर्नुहोस । यस्ता शक्तीहरुसंग डराएर संविधान कार्यान्वयन नगर्ने हो भने, अरु धेरै यस्ता शक्तीको जन्म हुन्छ ।

अस्ती भारतले नाकाबन्दी लगाइदिएपछी यिनीहरु गएर नाकामा बसे । पछी अन्तराष्ट्रिय कारणले भारतले नाका खोल्यो, त्यसपछी यिनीहरु त्यहाँबाट हटे । भारतले पहिले नाकाबन्दी लगायो । पछी यिनीहरुले नाकाबन्दीको घोषणा गरे । हिजो यिनीहरुले अरु नै कुरामा भ्रम फैलाएर आन्दोलन गराए । यदी संविधानकै विषयमा हुन्थ्यो भने त्यसपछी पनि त आन्दोलन रहिरहन सक्थ्यो । मधेशका जनता सबै संविधानको पक्षमा छन् भन्ने भ्रम मात्र फैलाइएको छ । लेखेर राख्नुहोस्, मधेशका नाममा राजनीति गर्ने केही नेताहरुलाई रिझाउने नाममा संविधान संशोधन गर्दै जाने हो भने यो संविधान थाङ्नो हुँदै जान्छ, कहिल्यै लागु हुदैन ।

अहिले बजारमा एउटा हल्ला चलेको छ कि वावुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको पार्टी एकता हुदैछ । संविधान जारी हुनुभन्दा केही समय अघी भट्टराईले नै नवलपरासीदेखी पश्चिमको खुटिया नदीसम्मको भागलाई एउटा प्रदेश बनाउनुपर्ने प्रस्ताव अघी सारेको थिए । यि दुई प्रसंगहरुमा केही सम्बन्ध देख्नुहुन्छ ?
वावुरामजीले यो त्यसै बोल्नु भएको होईन । उहाँ संविधान बन्नु भन्दा अगाडी सुशील कोइरालालाई हटाएर सरकार परिवर्तन गर्ने पक्षमा हुनुहुन्थ्यो । त्यसमा एक हिसावले कुरा अगाडि पनि बढिसकेको थियो । हाम्रोतीर पनि उहाँले कानमा चिनि हाली सक्नु भएको थियो । केपी जीलाई प्रधानमन्त्री बनाउने योजना बनाउन भएको थियो, एमालेको स्थायी समिति बैठकले पोहोरको असारतीर संविधान नबनीकन सरकार बदल्नु गलत हुनेछ भनेर निर्णय गरिदियो । यद्दपी हामीले त्यसलाई बाहिर ल्याएनौँ ।

त्यसपछी वावुरामजी निराश बन्न थाल्नुभयो । त्यो भन्दा अगाडी उहाँ राजनीतिक प्रक्रियामा उहाँ भयङकर सक्रिय हुनुहुन्थ्यो । जब संविधान बन्ने नै भयो, त्यसपछी उहाँमा थप निराशा सुरु भयो । यो संविधानलाई नखल्बल्याउँदासम्म उहाँलाई निंद लाग्ने छैन । त्यसका लागि राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिती मिलाउने काममा उहाँ लागिरहनु भएको छ । संविधान खल्बल्याएपछि के गर्ने हो, त्यो उहाँलाई नै थाहा छ ।  त्यो अरुलाई पनि थाहा छ । यो सत्यलाई दुनियाँले बुझे हुन्छ । म यो तपाईलाई किन भन्दैछु भने संविधान जारी हुनबाट रोक्न उहाँ जसरी सुशिल कोईरालाको सरकार ढाल्न लाग्नुभयो, त्यसपछी उहाँ जसरी निराश हुनु भयो । यो चानेचुने कुरा छैन ।  भविष्यमा यसका अन्य कुरा पनि खुल्दै जानेछन् ।

त्यतिखेर उहाँ आफै प्रधानमन्त्री बन्न चाहानुहुन्थ्यो वा एमालेको कुनै एक पात्रलाई उभ्याउन खोज्दै हुनुहुन्थ्यो ?
एमालेलाई अघि सारेर कुरा गर्दै हुनुहुन्थ्यो ।

एमालेमा कस्को नाम लिनु भएको थियो ?
त्यतिखेर अरु विकल्पै थिएन, ओलीजीको नाम लिनुभएको थियो ।

त्यसको सिधा अर्थ के हुन्थ्यो ?
काँग्रेसलाई सरकारमा हटाउने कुरा हुन्थ्यो । पहिलो पार्टीलाई सरकार बाहिर राखेर संविधान जारी हुने अवस्था हुदैनथ्यो । वा मिर्गमरिचिका हुन्थ्यो । त्यसपछी नेपालमा संविधान नै आउदैनथ्यो । वावुरामजीको सल्लाहमा लागेको भए आज यो अवस्था नै आउदैनथ्यो । तर हामीले त्यसलाई अस्वीकार गर्यौँ । त्यसपछी हो वावुरामजी निराश हुन थालेको  ।

यसको मतलव अहिले समस्याको समाधान गरेपनि वावुराम भट्टराईले अर्को ढङगले उछाद्यछन् भन्ने हो ?
वावुरामजी एक्लो होईन । वावुरामजी व्यक्ती होईन, प्रवृक्ती हो । व्यक्तीगत रुपमा त्यतातिर नजाऔँ । म यती भन्छु, दुनियाँले बुझ्नुपर्ने कुरा हो की संविधान आएपछी वावुरामका निराशाका दिन सुरु भए ।

तपाईहरुमाथी एउटा आरोप छ, एमाले राष्ट्रवादको घोडा चढिरहेको छ । मुलुकको समस्याप्रती जिम्मेवार छैन । यसमा तपाईको भनाई के छ ?
पहिलो कुरा त यो भन्ने व्यक्तीहरु नै कति राष्ट्रवादी छन् ? यस्तो आरोप लगाउनेहरुलाई सोध्नुहोस् । यो राष्ट्रवादलाई बदनाम गर्ने कुरा हो । तर राष्ट्रवादका नाममा एमालेमाथि जुन तीर चलाईदैछ, यो नैतिक होईन ।

अहिले माधवकुमार नेपाललाई नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्रीमा प्रस्ताव गरेको कुरा बाहिर आएको छ । यदी त्यसो भएमा एमालेले के गर्छ ?
यो विषयमा मलाई थाहा छैन । यदी यसो हो भने काँग्रेसजनहरुलाई मेरो अनुरोध छ, यो नहुने कुरा हो । यसमा नलाग्नुहोस । समय खेर फाल्नै पर्दैन ।

उसो भए अव एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ?
माधवजी जानु हुन्न । अथवा व्यक्तिगत रुपले फलानालाई बनाउने भनेर अर्काले सिङगारेर बनाउने कुरा विभिन्न कारणले संभव छैन ।

अर्को विकल्पको कुरा गरौँ । यदी काँग्रेस वा माओवादीले एमालेको नेतृत्वमा सरकार बनाऔँ र मधेशको समस्या समाधान गरौँ भन्यो भने तपाईहरु लेना–देना गर्न तयार हो ?
पहिलो कुरा माओवादीले त्यो भन्दैन । दोश्रो कुरा एमालेलाई सरकार नै चाहिएन । हामी सरकारमा जान लालायित छैनौँ । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने झण्डा हल्लाईरहेको व्यक्ति मन्त्री बस्ने क्वार्टर छोडेर हिड्दा कसैको मन दुख्यो होला । तीनका नातागोता र आफन्तको मन दुख्यो होला । तर पार्टीका हिसावले सरकार हाम्रो प्राथमिकतामा छैन । संविधान कार्यान्वयन हाम्रो प्राथमिकता हो ।

अन्त्यमा, तपाईहरुमा देखिएको आत्मविश्वासका कारण समयमा निर्वाचन नै हुदैन भनेर भनिदै छ । यसको कारण के देख्नु हुन्छ ?
चुनाव भएर हामीले जित्दा लोकतन्त्रमा के अपराध हुन्छ त ? हाम्रा केही कमिकमजोरीहरु पनि होलान । हामीभित्र सग्लोपना छैन होला । तर अहिलेको समसामयिक राजनीतिमा एमाले जत्तीको अग्रगामी शक्ती अरु छैन । यो कुरा दुनियाँले बुझेको छ । यसमा जनताले साथ दिन्छन् भन्ने हाम्रो विश्वास नै आत्म विश्वास हो ।

5261 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank